१९ असोज, जनकपुरधाम। प्रदेश-२ का सभामुख सरोज कुमार यादवले प्रदेश सभाबाट पारित भएका कुनै पनि विधेयकमा मानव अधिकारको कुण्ठित नगरिएको बताएका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगले मंगलबार जनकपुरधाममा आयोजना गरेको विश्वव्यापी आवद्यिक समीक्षा सम्बन्धी कार्यशालाको उद्घाटन गर्दै सभामुख यादवले भविष्यमा पनि निर्माण हुने विधेयकमा मानवअधिकारलाई कुण्ठित नगरिने बताए।
मानवअधिकारको सबैले सम्मान गर्नुपर्नेमा जोड् दिदैं उनले यसको संरक्षणका लागि तीनै तहको सरकारले ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा प्रदेश सांसद शारदा थापाले मानवअधिकारको संरक्षण गर्ने सरकारलाई नै अहिले संरक्षणको आवश्यक्ता परेको बताइन्। उनले सरकारमा भएकाहरु सत्ता जोगाउन मात्रै लागिपरेको बताउँदै नागरिकतर्फ बिल्कुलै ध्यान नदिएको बताइन् ।
प्रदेश सभामा कुल १०४ जना सांसदमध्ये ३५ जना महिला सांसद भएपनि जिम्मेबार निकायमा एक जना महिला पनि नभएको बताइन् । ‘दलको नेता, प्रमुख सचेतक र मन्त्री पनि कुनै महिलालाई बनाइएको छैन्’ उनले भनिन्, ‘प्रदेश सभामै महिला सांसदको मानवअधिकार हनन गरिएको छ ।’
अर्का प्रदेश सांसद रामाशिष यादवले जातीय विभेद, महिला हिंसा व्याप्क रुपमा बढेको बताए ।
अहिले प्रत्येक नेतृत्वमा रावण र कंशको अंश देखिएको भन्दै उनले यस्तो अवस्था रहेसम्म मानवअधिकारको संरक्षण हुन नसक्ने बताए ।
प्रदेश सांसद शोभा लामाले प्रदेशमा बनेका ऐनहरुको पनि कार्यान्वयन नहुँदा समस्या भइरहेको बताइन् ।
कार्यक्रममा आयोगका कायममुकायम सचिव मुरारी प्रसाद खरेलले विश्वव्यापी आवद्यिक योजनाको बारेमा प्रस्तुतिकरण गरेका थिए ।
प्रतिक्रिया 4