+

राष्ट्रिय फुटसल लिग सेमीफाइनल समीकरण पूरा

२०७८ असोज  १९ गते २०:२४ २०७८ असोज १९ गते २०:२४
राष्ट्रिय फुटसल लिग सेमीफाइनल समीकरण पूरा

१९ असोज, पोखरा । पोखरामा जारी राष्ट्रिय फुटसल प्रतियोगिताको अन्तिम ४ समीकरण पूरा भएको छ । मंगलबार राउन्ड रोबिन लिगको अन्तिम खेल भएसँगै २ घरेलु टिमसहित धरानको द राइजिङ क्लब र काठमाडौंको शंखमुल फुटलस ‘प्लेअफ’मा पुगेका हुन् ।

मंगलबार भएको लिग चरणको अन्तिम खेलमा शंखमुललाई घरेलु टिम सविन मेमोरियलले ३–१ गोल अन्तरले हराउँदै अन्तिम ४ मा पुगेको हो । सविनसँग हार व्यहोरेको शंखमुल यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको थियो ।

अन्तिम ४ मा पुग्नका लागि सविनलाई मंगलबारको खेल जित्नै पर्ने दबाब थियो । घरेलु मैदानमा समर्थकको उच्च साथ पाएको सविनका तर्फबाट समीर प्रधानले २० औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

२४ औं मिनेटमा सविनकै मनिष क्षेत्रीले गोल गर्दै अग्रता दोब्बर पारे । तर, लगत्तै २५ औं मिनेटमा शंखमुलका सुशान श्रेष्ठले गोल गरेपछि सविन दबाबमा परेको थियो ।

३४ औं मिनेटमा सुनिल विकको उत्कृष्ट गोलसँगै सविनको प्लेअफ पुग्ने सपना निश्चित भएको थियो । लिगमा सविन कुल १६ अंकसहित चौथो स्थानमा छ । जारी प्रतियोगितामा सविनले ५ खेलमा जित, ३ मा हार र एक खेल बराबरी खेलेको छ ।

लिग तालिकामा पोखराकै स्पोर्टस् क्यासल कुल २२ अंकसहित शीर्षस्थानमा छ । स्पोर्टस् उच्च अंकसहित जारी लिगमा सबैभन्दा पहिले अन्तिम ४ मा स्थान पक्का गरेको थियो । क्यासलले ७ खेलमा जित, एक खेल बराबरी र एक खेलमा हार व्यहारेको छ ।

त्यस्तै, लिगको दोस्रो स्थानमा धरानको द राइजिङ क्लब छ । सुरुआती चरणमा उत्कृष्ट प्रदर्शनीसँगै लिगको शीर्षस्थानमा रहेको राइजिङको खेल पछि खस्किएको थियो । जारी लिगमा द राइजिङको १९ अंकसहित दोस्रो स्थानमा छ । राइजिङले ६ खेल, २ खेल बराबरी र एकमा हार व्यहोरेको छ ।

कुल १० टिम सहभागी रहेको राष्ट्रिय ए डिभिजन फुटसलको सेमिफाइनलका खेल बुधबारदेखि हुनेछ । सेमिफाइनलको पहिलो खेल बुधबार स्पोर्टस् क्यासल र द राइजिङबीच हुनेछ ।

दोस्रो खेलमा मंगलबारकै प्रतिद्वन्द्वी सविन मेमोरियल र शंखमुल पुनः भिड्नेछन् । असोज २ गतेदेखि जारी प्रतियोगिताको फाइनल असोज २२ गते हुनेछ ।

राष्ट्रिय फुटसल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय