२० असोज, रौतहट । कोरोना संक्रमण रोकथामका लागि डेढ वर्षदेखि बन्द गरिएको रौतहटको नेपाल भारत सीमा नाका बुधबारदेखि खुलेको छ ।
रौतहटको गौर र भारतीय बजार बैरगनिया नाकामा बुधबारदेखि निजी सवारी साधन सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
नेपाली पक्षले एक साता अघिनै खुला गरे पनि भारतीय पक्षले सवारी आगमनमा रोक लगाएको थियो । ‘हामीले केही दिन अघिदेखि नै नाका खोलेका थियौ, भारतीय पक्षले भने आजबाट नाका खोलेपछि दुवै देशका नागरिकहरु कोभिड सुरक्षा सतर्कताको पालना गर्दै आवतजावत गर्न सक्छन्’ प्रमुख जिल्ला अधिकारी यादवले भने ।
सवारी साधनको आवतजावत खुला भएपछि सीमा क्षेत्रमा बसोबास गर्ने नेपाल र भारत दुबै देशका नागरिकलाई सहज भएको छ ।
कोरोना संक्रमण रोकथामका लागि २०७६ चैत ११ देखि सीमा नाका बन्द गरिएको थियो । पछि नाकाबाट पैदलयात्रा खुला गरे पनि यातायात सञ्चालनमा भने प्रतिबन्ध लगाइएको थियो ।
नाका सञ्चालन भएपछि भारतीय सवारी साधनहरु नियमानुसारको भन्सार राजश्व तिरेर नेपाल प्रवेश गर्न पाउने भएका छन् । भारतीय सवारी साधनको प्रवेश शुरु भएसँगै होटेल तथा पर्यटन व्यवसायी पनि खुशी भएको उद्योग वाणिज्य संघ रौतहटका अध्यक्ष पण्डितप्रसाद जयसवालले बताए ।
चाडबाडका बेला सीमामा आवतजावत सहज भएपछि किनमेलका लागि दुवै देशको सीमावर्ती बजारमा भिड बढ्ने अध्यक्ष जयसवालले बताए ।
प्रतिक्रिया 4