२० असोज, काठमाडौं । नेपाली कांग्रेसको जिल्ला कार्यसमितिका पदाधिकारी चयनका लागि भएको मतदानको नतिजा बुधबार साँझ सार्वजनिक भएको छ । मत परिणामअनुसार उपसभापतिमा धिरन थापा र इमानसिंह बस्नेत विजयी भएका छन् ।
कुल खसेको १५१९ मतमध्ये थापाले १०३६ र बस्नेतले ५६३ मत ल्याएको निर्वाचन समितिले जनाएको छ । उपसभापतिका अन्य उमेदवार सीपी पोखरेलले ५३६, रविकला खनालले ४८७ र हरि गान्धारीले ४६ मत ल्याएका छन् ।
त्यस्तै सचिवमा कृष्णबहादुर आले र किशोरजंग थापा निर्वाचित भएका छन् । आलेले ६९९ र थापाले ६७३ मत पाएको सहायक निर्वाचन अधिकृत शिवबहादुर थापाले बताए ।
सचिव निर्वाचित थापा पत्रकार हुन् । रेडियो गोरखाको स्टेशन म्यानेजर र दरौंदी दैनिकका अध्यक्ष रहेका उनी सामुदायिक रेडियो प्रशारक संघका महासचिव हुन् ।
सचिव पदका अन्य प्रत्यासी ओमबहादुर गुरुङले ४७१, तारानाथ पुडासैनी ३९२ र रामप्रसाद भण्डारीले ३१९ मत प्राप्त गरेका छन् ।
त्यस्तै सहसचिवमा लुमनाथ लामिछाने र गगन अधिकारी निर्वाचित भएका छन् । लामिछानेले ६९७ र अधिकारीले ३९३ मत पाए ।
सहसचिव पदका अरु उम्मेदवार विश्व भट्टले ३०२, कमलप्रसाद अम्गाईंले ३०१, मानप्रसाद धितालले २८२, दीपक हमालले २३२, भेजराज पाण्डेले २२४ र रामशरण आचार्यले १४४ मत पाए ।
जिल्ला कार्यसमितिको सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत चयन भइरहेका छन् । जिल्ला सदस्यहरुमा गोरखा नगरपालिकाबाट विजय भट्ट र खडानन्द अर्याल विजयी भएका छन् । उनीहरुले क्रमश ७४९ र ६९३ मत ल्याएका छन् । दुई सदस्यका लागि तीन जनाको उम्मेदवारी परेको थियो ।
आरुघाट गाउँपालिकाबाट ज्ञानप्रसाद श्रेष्ठ, गण्डकी गाउँपालिकाबाट दिनेश पन्त, बारपाक सुलीकोट गाउँपालिकाबाट सुरज गुरुङ, भीमसेन थापा गाउँपालिकाबाट केशर गुरुङ निर्वाचित भएका छन् । अन्य पालिकाका सदस्य भने सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।
खस आर्य महिलातर्फ जानुका सापकोटा र सिर्जना कोइराला र दलित खुल्ला तर्फ इतराज सुनार र लालबहादुर बिक विजयी भएका छन् । अन्य पद भने सर्वसम्मत चयन भएको बताइएको छ । मंगलबार मतदान भएपनि बुधवार साँझ मतगणना सकिएको हो ।
प्रतिक्रिया 4