+
+

एकीकृत कृषि फार्ममा रमाउँदै पौरखी युवा

विकास मरहट्टा विकास मरहट्टा
२०७८ असोज २१ गते १४:३०

२१ असोज, गोरखा । दश वटा पोखरीमा ग्रासकार्प, रहु, नैनी र माउर जातका माछा पालिएको छ । पोखरीको डिलमा केरा खेती । तीनवटा खोरमा ब्रोइलर कुखुरा । नजिकै बंगुर र सुँगुर पालन। जिल्लाको शहीद लखन गाउँपालिका–३ कल्लेरीफाँटमा यसरी एकै ठाउँमा धेरै कृषि व्यवसाय सञ्चालन गरिएको छ ।

केही वर्ष अघिसम्म बाँझै रहेको यो फाँट वनमासा घारीले ढाकिएको थिये । अधियाँ गरेर खाउ भन्दा पनि कोही मान्दैनथे । त्यही फाँट अहिले बाह्रै महिना हरियो भएको छ ।

वैदेशिक रोजगारीबाट फर्केका मनकामनाका दश युवाले २०७२ सालदेखि भने यहाँ एकीकृत कृषि फार्म सञ्चालन गरे । यो लाफा नमुना एकीकृत कृषि फार्म र ४० लाख रुपैयाँबाट शुरु गरेको सञ्चालक एवं व्यवस्थापक कविर थापा बताउँछन् ।

‘साना कृषि सहकारीबाट २० लाख ऋण निकाल्यौं, बाँकी हामीहरुले थपथाप गर्‍यौं,’ उनले भने । दश वर्षलाई भाडामा लिइएको २५ रोपनी जग्गामा तरकारी, माछा र कुखुरा पालन गरिएको छ । ‘सुरुमा दश रोपनी जग्गामा तरकारी खेती गर्‍यौं,’ उनले भने, ‘पाँच रोपनीमा तीनवटा माछा पोखरी र बाँकीमा ब्रोइलर कुखुरा हाल्यौं ।’ प्लाष्टिक टनेल बनाएर काँक्रो, घिरौला, गोलभेडा, भन्टा, आलु, काउलीजस्ता तरकारी खेती गरेको उनी बताउँछन् ।

अहिले फार्म विस्तार गरेर ४५ रोपनीमा फैलिइसक्यो । ‘सुरुवातको लगानी ४० लाख थियो, अहिले डेढ करोड पुगिसक्यो,’ उनले भने ।

फार्म सञ्चालकले माछाको भुरा उत्पादन र बिक्रीमा जोड दिएका छन् । माछा पोखरीका डिलहरुमा केरा खेती छन् । करिब ८ रोपनी जग्गा केरा खेतीले ओगटेको छ । तीनवटा खोरमा ब्रोइलर कुखुरा छन् । यी खोरमा करिब ६ हजार कुखुरा अटाउँछ । कडकनाथ, घाँटी खुइले, स्याकिनो जातका कुखुरासँगै हाँस, टर्की, बट्टाइ पनि पालिएको थापाले बताए ।

तरकारीभन्दा पशुपंक्षी पालनमा लगानी डुब्ने सम्भावना कम हुने सञ्चालकहरु बताउँछन् । ‘तरकारी लगायो, असिना पानी र हावाहुरीले पनि क्षति पुग्ने तर, पशुपंक्षीमा त्यस्तै समस्या हुन्न, बिमा पनि हुन्छ, लगानी सुरक्षित भयो फेरि उत्पादन पनि चाँडै हुने,’ व्यवस्थापक थापाले भने ।

यहाँ लोकल र अमेरिकी जातको ल्याण्डरेज बंगुर पालिएको छ । हाल ३० वटा बंगुर रहेका छन् र संख्या बढाउँदै लैजाने योजना उनी सुनाउँछन् । ‘६० वटा अट्ने खोर बनाउँदैछौं, त्यो तयार भएपछि बंगुर संख्या थप हुन्छ,’ उनले भने ।

सञ्चालक नै कामदार

एकीकृत फार्ममा सञ्चालकहरु आफैं कामदारको रुपमा खटिएका छन् । दशजनाले कामको जिम्मेवारी बाँडफाँड गरेका छन् । ‘महिनाको २० दिन हाजिर हुनैपर्छ, फार्ममा बस्ने पनि पालो हुन्छ, बसेको छुट्टै भत्ता आउँछ,’ थापाले भने । केही कामदार थप गर्ने उनीहरुको तयारी छ । फार्मबाट बार्षिक ४० लाख रुपैयाँभन्दा बढी आम्दानी हुन थालेको छ ।

छैन बजार समस्या

फार्मका उत्पादन बिक्री गर्न उनीहरुलाई समस्या छैन । अर्का सञ्चालक झक्कलबहादुर थापाका अनुसार ब्रोइलर कुखुरा काठमाडौं, पोखरा लगायतका ठाउँसम्म पुग्छ । माछा गोरखा, लमजुङ, तनहुँ, धादिङलगायत जिल्लामा ।

बंगुर र सुंगुर स्थानीय बजारमै बिक्री हुने उनी बताउँछन् । ‘अहिले यहीँ नजिकै नयाँ पुलमा हाटबजार पनि सञ्चालन भएको छ, उत्पादन गरेको कृषि उपज त्यहीँ लगेर बेच्न पाइन्छ,’ उनले भने ।

उत्कृष्ट फार्म घोषित

आर्थिक बर्ष २०७३/७४ मा यस फार्मलाई गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले उत्कृष्ट एकीकृत फार्म घोषित गर्दै पुरस्कार दिएको थियो । त्यस्तै माछापालनतर्फ पनि प्रदेशकै उत्कृष्ट फार्म बनेको थियो । उक्त फार्मले गाउँपालिका, कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगायत निकायबाट अनुदान सहयोग पनि पाएको छ ।

हेर्न आउनेहरु बढे

हिजोआज जिल्लाभित्र र बाहिरबाट यो फार्म अवलोकन आउनेको संख्या बढेको छ । सरकारी टोली र शैक्षिक भ्रमणमा आउनेहरु पनि बढेका सञ्चालकहरु बताउँछन् । व्यवस्थापक कवीर थापा भन्छन्, ‘वरपरका बासिन्दा यहाँ आएर खेती गर्ने सीप सिक्ने पनि गर्छन् ।’

शहीद लखन गाउँपालिका–२ रैगरवेशीमा पनि एकीकृत कृषि फर्म सञ्चालन गरिएको छ । ६ दाजुभाइ मिलेर २०७५ सालदेखि नवयुग खिलेमिसन याँदी ६ भाइ भिजन कृषि तथा पशुपंक्षी फार्म सञ्चालन गरेका छन् । ६० लाख लगानी गरेर १७ रोपनी जग्गामा फार्म सञ्चालन भएको छ । ‘१४ रोपनी आफ्नै जग्गा हो, ३ रोपनी जति पाँच बर्षलाई भाडामा लिएका छौं,’ सञ्चालक मध्येका पुष्प थापाले भने ।

दुई वटा खोर निर्माण गरेर करिव ६ हजार ब्रोइलर कुखुरा पालिएको छ । डिउरो जातको बंगुर र चारवटा पोखरीमा माछा पालन गरिएको छ । दुई वटा टनेलमा तरकारी खेती छ । बट्टाई, कालिज पनि छन् । विशेष गरी बंगुर र सुंगुरको बच्चा उत्पादन र बिक्रीलाई जोड दिइएको थापा बताउँछन् ।

उत्पादित कृषि उपज गाउँमै र नजिकको बजारमा बिक्री गर्छन् । ‘अहिलेसम्मलाई बजारको केही समस्या छैन, यही गाउँमै हारालुछ हुन्छ,’ उनले भने । अहिले उनीहरुले लगानी पनि बढाएका छन् । एक करोडको हाराहारीमा लगानी भइसकेको थापा बताउँछन् । वार्षिक आम्दानी २५ लाख रुपैयाँ रहेको उनको भनाइ छ । फार्मलाई थप विस्तार गर्दै लैजाने उनीहरुको योजना छ ।

पछिल्लो समय शहीद लखन गाउँपालिकामा एकीकृत कृषि व्यवसाय गर्नेहरु बढेका छन् । गाउँपालिकाको तथ्याङ्क अनुसार हालसम्म ३१५ वटा एकीकृत कृषि फार्म दर्ता भएका छन् । करिव १५ सय रोपनी क्षेत्रफलमा खेती फैलिएको छ । एकीकृत फार्म सञ्चालन गर्नेहरु बढेसँगै जमिन बाँझो राख्ने क्रम घटेको गाउँपालिका कृषि शाखा प्रमुख ऋषि रोका बताउछन् । ‘एकीकृत खेती गर्नेहरु बढेपछि गत बर्ष १७० रोपनी बाँझो जग्गामा खेती भयो, यो बर्ष पनि बढ्छ,’ उनले भने ।

एकीकृत कृषि फर्म सञ्चालन गर्नेलाइई गाउँपालिकाले पनि सहयोग गर्दै आएको छ । पाँच रोपनी भन्दा बढी जग्गा भाडामा लिएर खेती गर्नेलाई भाडामा २५ प्रतिशत अनुदान उपलब्ध गराएको गाउँपालिका अध्यक्ष रमेश थापा बताउँछन् ।

‘किसानलाई सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउन प्राइम बैकसँग सम्झौता गरेका छौं,’ उनले भने, ‘कम्तीमा पाँच लाखदेखि माथि ऋण उपलब्ध हुन्छ ।’ ५ देखि बढीमा ७ प्रतिशत व्याजदरमा ऋण उपब्लध हुने र गाउँपालिकाले समन्वयकारी भूमिका निर्वाह गर्ने उनले जानकारी दिए ।

गत बर्ष कृषि र पशु क्षेत्रमा ७०/७० लाख रकम विनियोजन गरेको गाउँपालिकाले यस बर्ष पनि त्यही हाराहारीमा बजेट विनियोजन गरेको छ । त्यस्तै पालिकाले थोपा सिँचाइ, प्लाष्टिक पोखरी लगायतका कार्यक्रममा अनुदान पनि वितरण गर्दै आएको छ । कृषकहरुलाई ह्याचरी मेसिन, घाँस काट्ने मेसिन लगायतका उपकरण पनि वितरण गरेको छ ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?