२२ असोज, काठमाडौं । काठमाडौं-रक्सौल रेलमार्गको ‘फाइनल लोकेसन सर्भे’का लागिनेपाल र भारतबीच द्विपक्षीय समझदारी (एमओयू) भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागका अधिकारीहरु भारतको नयाँदिल्ली पुगेर एमओयूमा हस्ताक्षर गरेका हुन् ।
एमओयूअनुसार रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन भारतले आफ्नै खर्चमा भारतीय सरकारी कम्पनीमार्फत तयार गर्नेछ र, ब्रोडगेज प्रविधिमै यो रेलमार्ग बनाइनेछ ।
सरकारले देशभर बन्ने रेल्वे लाइन स्टान्डर्ड गेजमा बनाउने नीति लिएको छ । काठमाडौं-रक्सौल रेलमार्ग पनि स्टान्डर्ड गेजमै बनाउन उपयुक्त हुने विज्ञहरुको सुझाव छ ।
तर, भारतले स्टान्डर्ड गेज प्रविधि र प्राविधिक विज्ञता आफूसँग नभएको भन्दै रक्सोल-काठमाडौं रेलमार्ग ब्रोडगेज प्रविधिमा बनाउनुपर्ने अडान लिएको थियो । नेपालले स्टान्डर्ड गेजमा आधारित भएर डीपीआर गर्न अनुरोध गरेपनि भारत तयार भएको थिएन ।
In further boost to cross-border connectivity, a bilateral G-to-G MoU for “Final Location Survey” of the proposed broad gauge railway line between Raxaul and Kathmandu was signed in New Delhi today. #IndiaNepalFriendship@MEAIndia @PMOIndia pic.twitter.com/VbaFhPb9o4
— IndiaInNepal (@IndiaInNepal) October 7, 2021
आफूसँग हुँदै नभएको प्रविधिमा डीपीआर गर्न नसकिने भनेपछि ब्रोडगेजमै एमओयू गरिएको हो ।
अब भारतीय पक्ष अध्ययनका लागि फिल्डमा आउने रेल विभाग स्रोतले जानकारी दिएको छ । भारतीय कम्पनी कोंकण रेल-वे कर्पोरेसन लिमिटेड (केआरसीएल)ले आफैंले गरेको प्रारम्भिक अध्ययनका आधारमा डीपीआर तयार गर्ने छ ।
उत्तरतर्फको छिमेकी चीनसँग केरुङ-काठमाडौं रेलमार्गको डीपीआर स्टान्डर्ड गेजमा आधारित भएर बनाउने समझदारी भएको छ । नेपालले आन्तरिक रुपमा बनाउने पूर्वपश्चिम रेलमार्ग पनि स्टान्डर्ड गेजमै बनाउने सरकारी योजना छ ।
तर, रक्सौल काठमाडौं रेलमार्ग बनाउने गरी डीपीआर हुने भएपछि रेल विभागका अधिकारीहरु अन्योलमा छन् । विज्ञहरुले त देशभित्रका अन्य रेलमार्ग स्डान्डर्ड गेजको हुने र भारतीय सीमा तर्फको रेलमार्ग ब्रोडगेजमा हुने भएमा ‘ब्रेक अफ गेज’ को समस्या निम्तिनसक्ने भन्दै सचेत गराएका छन् ।
ब्रोडगेज भारतमा रहेको परम्परागत रेल्वे प्रविधि हो । अहिले विश्वभर नै स्टान्डर्ड गेज प्रविधि प्रचलनमा आइसकेको छ । भारतले पनि विदेशीको सहयोग लिएर कतिपय रेलमार्गलाई स्टान्डर्ड गेजमा रुपान्तरण गर्न सुरु गरिसकेको छ ।
यो रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्ट भारतले नेपाललाई दिइसकेको छ । केआरसीएलले तयार पारेको प्रारम्भिक रिपोर्टअनुसार प्रस्तावित रक्सौल-काठमाडौं रेलमार्गको लम्बाइ १३६ किलोमिटर हुनेछ ।
यो रेलमार्ग निजगढ हुँदै खोकनासम्म बनाउन प्रस्ताव गरिएको छ । प्रस्तावित रेलमार्गको करिब ४० किलोमिटर खण्डमा सुरुङ रहनेछ भने साना-ठूला गरी करिब ३५ वटा पुल पनि बनाउनुपर्ने देखिएको छ ।
प्रतिक्रिया 4