२२ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमतिलाई निर्जीव ढंगले नबुझ्न आग्रह गरेका छन् । १० बुँदे सहमतिलाई जीवन्त बनाउने र पार्टी विभाजनको विपक्षमा दृढतापूर्वक उभिने नेता–कार्यकर्ताहरुलाई समेटेर पार्टीलाई अघि बढाउनुपर्ने उनको भनाइ छ ।
पार्टी निकट नेपाल बुद्धिजीवी परिषदले शुक्रबार ललितपुरको च्यासलस्थित तुललीलाल स्मृति प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले १० बुँदे सहमतिको जीवन्त कार्यन्वयन हुने दाबी गरे ।
‘१० बुँदे ठीक छ । त्यो सुझाव हो । त्यो सुझावलाई सृजनात्मक ढंगले लागू गर्ने । रचनात्मक ढंगले बुझ्ने । जहाँ जस्तो अवस्था छ, त्यो अनुसार लागू गर्ने । अब के गर्ने हो भने हिजो जो–जो साथीहरुले के गर्नु भो भन्नेबारे समीक्षा गरौंला,’ उनले भने, ‘तर अहिले गर्ने एउटै कुरा हो, पार्टीको पक्षमा दृढतापूर्वक उभिएका, विभाजनको विपक्षमा उभिएका, क्रियाशील हुने सबै साथीहरुलाई पार्टीमा समेट्दै लैजाने हो ।’
पोखरेलले आर्थिक समृद्धि र विकासमा सघाउ पुर्याउने गरी थिंक टयांकको भूमिका निर्वाह गर्न पनि पार्टी निकट बुद्धिजीवीहरुलाई आग्रह गरे ।
प्रतिक्रिया 4