२३ असोज, सप्तरी । सप्तरीमा भएको छुट्टाछुट्टै दुर्घटनामा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका–६ ईन्द्रचौतारी चोकमा बसले दिएको ठक्करबाट मोटरसाइकलमा सबार एक जना महिलाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र २–०१–००१ प ०३३४ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको बा ३ ख ९६९० नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार खडक नगरपालिका–९ सरपाका ३० बर्षीया गुल्लु खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा मृतकका पति मोटरसाइकल चालक ३२ बर्षीय कुदरस र ५ बर्षीय छोरा समद घाइते भएका छन् । घाइतेको स्थानीयस्तरमा उपचार भइरहेको तथा ठक्कर दिने बस तथा बसका चालक दोलखाको कालिन्चोक गाउँपालिका ४ बन्चरे बस्ने ३३ बर्षीय नेत्रबहादुर थामीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस्तै, रुपनी गाउँपालिका- ६ स्थित पूर्व पश्चिम राजमार्गमा गाडीले ठक्करले एक जना बालकको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २ च ३७५४ नम्बरको गाडीको ठक्करले स्थानीय तुलसी चौधरीको १० बर्षीय छोरा सुशील चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत असोज १८ गते घाइते भएका उनको उपचार भइरहेको अवस्थामा चिकित्सकले निको हुँदैन भनी डिस्चार्ज गरी पठाएपछि घर ल्याउने क्रममा शुक्रबार राति बाटोमै मृत्यु भएको डीएसपी काफ्लेले बताए ।
ठक्कर दिने गाडीलाई नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4