+
+

प्रदेश १ मा सभामुख सत्तापक्षको सारथी बनेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते १५:५०

२४ असोज, विराटनगर । प्रदेश १ का विपक्षी दलका नेताहरुले सभामुख प्रदीपकुमार भण्डारी सत्तारुढ दल नेकपा एमाले र मुख्यमन्त्री भीम आचार्यको सारथी बनेको आरोप लगाएका छन् ।

आइतबार प्रदेशसभा बैठकमा समय लिएर बोल्दै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले सभामुख सत्तापक्षको पक्षपोषणमा लागेको भन्दै आलोचना गरेका हुन् ।

मुख्यमन्त्री आचार्यले दशैंअघि विश्वासको मतका लागि प्रस्ताव दर्ता गर्ने र दशैंपछि मात्र त्यसलाई छलफलमा लैजाने तयारीमा छन् । मुख्यमन्त्रीको  इच्छामा सभामुख भण्डारीले साथ दिएको भन्दै विपक्षी दलका नेताहरुले सभामुखले संविधान र कानुन भन्दा बाहिर गएर काम गर्न नहुने बताएका छन् ।

‘सभामुखज्यू तपाईं हामी सबैको नेता हुनुहुन्छ, यदि सरकार संविधान र कानुन भन्दा बाहिर गयो भने रुलिङ गर्ने अधिकार सभामुखलाई छ, तर किन गर्नुभएन ?’ माओवादी केन्द्र संसदीय दलका नेता आङ्बोले भने ।

उनले अघि भने, ‘सरकारले संविधान भन्दा बाहिर जान पाउदैन, संविधान भन्दा बाहिर जान सभामुखले पनि हुँदैन, यस्ता कुरामा सरकारको सारथी सभामुख बन्न हुदैन ।’

एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता राजेन्द्र राईले सरकारले संविधान मिच्दा पनि सभामुख चुप लागेको बताए । ‘अझै पनि बेला छ,’ उनले भने ,‘संविधानलाई सही ढंगबाट कार्यान्वयन गर्ने सन्दर्भमा सभामुखबाट सही ढंगबाट नेतृत्व होस् ।’

नेता राईले भीम आचार्य मुख्यमन्त्री रहेकोमा गुनासो नभइ संविधानको ठीक ढंगले कार्यान्वयन हुनुपर्ने बताए ।

‘माननीय भीम आचार्यज्यूलाई मुख्यमन्त्री बनाउनका लागि दुई पटक काँधमा बोकेर हिँडेको मान्छे हो म,’ उनले भने, ‘तेस्रो पटक पनि बनाउनका लागि काँधमा बोक्न म तयार थिएँ । तर उहाँ अर्कै काँधमा चढ्नुभयो ।’

संविधानको धारा १८८ को उपधारा २ मा मुख्यमन्त्रीको दल विभाजित भएमा ३० दिनभित्र विश्वासको मत लिनका लागि प्रदेशसभामा प्रस्ताव पेश गर्ने व्यवस्था छ ।

आइतबार नेताहरुले धारणा राखेपछिे प्रदेशसभा बैठक पनि सकिएको छ । अब अर्को बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?