+

चितवन टाइगर्स : सकरात्मक सोच र अनुशासनले बनेको च्याम्पियन

२०७८ असोज  २४ गते १९:३५ २०७८ असोज २४ गते १९:३५
चितवन टाइगर्स : सकरात्मक सोच र अनुशासनले बनेको च्याम्पियन

२४ असोज काठमाडौं । यस वर्ष सञ्चालित एभरेस्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करणको उपाधि जितेको चितवन टाइगर्सले दोस्रो दोस्रो संस्करणमा जम्मा एक खेल जितेर ६ टोलीमध्ये अन्तिम भएको थियो । तेस्रो संस्करणमा केही सुधारिएको प्रदर्शन गर्दै दुई खेल जितेर प्लेअफसम्म स्थान बनायो ।

२३ असोज, शनिबार कीर्तिपुरमा भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै सोमपाल कामीको कप्तानीमा रहेको चितवन पहिलो पटक ईपीएलको उपाधि जित्न सफल भयो । चितवनले ट्रफीसहित नगद ५० लाख रुपैयाँ पायो ।

मिहिनेतले बनेको च्याम्पियन

कप्तान सोमपाल कामीले पोजेटिभ र डिसिप्लिन (सकारात्मक सोच र अनुशासन) ले गर्दा नै आफ्नो टोलीले उपाधि जित्न सफल भएको बताए ।

१६ दिन चलेको प्रतियोगितामा कूल १९ खेलपछि च्याम्पियन बनेको चितवन साँच्चिकै त्यसको हकदार थियो । चितवनले सबै खेलमा एकरुपकै प्रदर्शन गर्‍यो । विदेशी र नेपाली दुबैथरि खेलाडीले उत्कृष्ट खेले ।

‘हार्ड वर्क (कडा मिहिनेत) र प्लान (योजना) अनुसार नै खेल्यौं । हरेक खेलमा एउटा विनिङ मोमेन्ट आइराथ्यो,’ फाइनलमा चौका प्रहार गरेर उपाधि जितेपछि कप्तान सोमपालले भने, ‘फाइनलमा दिलिपको क्याच, अघिल्लो खेलमा जोन्टीको रनआउट, कमलको ब्याटिङ, मेरो एउटा स्पेल हरेक खेलमा मोमेन्ट थियो ।’

फाइनलमा टस जित्दै पोखरालाई ब्याटिङमा निम्तो दिएको चितवनले कमल सिंह ऐरीले ४ विकेट लिएपछि पोखरालाई ११२ रनमै अलआउट गरेको थियो । भिम शार्कीले ६३ रनको अर्धशतकिय इनिङ्स खेलेपछि चितवनले २५ बल अगावै ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

प्रतियोगितामा चितवनले पोखराविरुद्ध ३ खेल खेल्दा तीनवटै खेल जित्यो । लिग चरण र पहिलो क्वालिफायरमा चितवनले पोखरालाई सजिलै ९ विकेटले पराजित गरेको थियो । फाइनलमा पनि चितवनले सोही लय कायम राख्दै ४ विकेटले खेल जित्यो ।

घरेलु खेलाडीको उत्कृष्ट प्रदर्शन

प्राय नेपालमा फ्रेन्चाइज लिग हुँदा विदेशी खेलाडी हावी हुन्छन् । अझ यस पटक टेष्ट खेलेका खेलाडी देखि टी२० विश्वकप जितेका शाहीद अफ्रिदी जस्ता खेलाडीले ईपीएल खेले ।

तर चितवन विदेशी खेलाडीमा मात्र भर परेन । चितवनलाई च्याम्पियन बनाउन घरेलु खेलाडीको प्रदर्शन नै निर्णायक बन्यो । बलिङ, ब्याटिङ र फिल्डिङ सबैमा नेपाली खेलाडीले राम्रो गरे ।

फाइनलपछि व्यक्तिगत विधा वितरण गरिएको तीनवटै अवार्ड पनि चितवनकै खेलाडीले पाए । त्यो पनि सबै घरेलु खेलाडीले ।

चितवनका सागर ढका म्यान अफ दि सिरिज बने । उनले ७ खेलमा कूल १४ विकेट लिए । जुन ईपीएलको एकै प्रतियोगिता सर्वाधिक विकेट समेत थियो । सागरले पल्सर एनएस मोटरसाइकल पुरस्कार पाए ।

यस्तै दोस्रो र तेस्रो धेरै विकेट लिनेमा पनि चितवनकै खेलाडी रहे । चितवनका कमल सिंह ऐरीले १२ र करिम जन्नतले ११ विकेट लिए । ६ खेलमा ८ विकेट लिएका चितवनकै शाहब आलम छैटौं स्थानमा रहे ।

फाइनल खेलमा ४ विकेट लादै म्यान अफ दि म्याच बनेका कमलले डेयर टु ड्रिम अवार्ड जित्दै नगद ५१ हजार रुपैयाँ पाए ।

यस्तै ब्याटिङतर्फ चितवनकै मोहम्मद शाहाजादले सर्वाधिक २०७ रन बनाए । जसमा एक अर्धशतक थियो । त्यसपछि धेरै रन बनाउनेमा चितवनकै भीम सार्की रहे । ७ खेलमा ६ इनिङ्स ब्याटिङ गर्दै दुई अर्धशतकसहित कूल १९६ रन बनाएका भिम नेपाली खेलाडीमा सर्वाधिक रन बनाउने खेलाडी रहे । उनले दुवै अर्धशतक पोखरा विरुद्ध नै बनाएका थिए ।

कप्तान बन्न गाह्रो !

सोमपालले यसअघिका दुई सिजन काठमाडौं किंग्स ११ बाट ईपीएल खेलेका थिए । चौथो संस्करणअघि भने उनी ट्रेडमार्फत चितवन पुगे । चितवनका दीपेन्द्र सिंह ऐरी काठमाडौंमा पुगे । तर ओमान टुरमा घाइते बनेका दीपेन्द्रले यस पटक ईपीएल गुमाए । सोमपालले भने आफ्नै कप्तानीमा चितवनलाई उपाधि जिताए ।

टिममा सबैलाई मिलाउन गाह्रै हुने सोमपालले बताए । ‘कप्तानी गर्नु गाह्रो नै छ । १५ जनाको माइन्डसेट फरक हुन्छ । कसैलको नेगेटिभ हुन्छ कसैको पोजेटिभ हुन्छ । सबैलाई एकै ठाउँमा राख्न गाह्रो हुन्थ्यो’ सोमपालले भने, ‘तर हाम्रो टिममा सबै योङ थिए । मैले भनेको पनि मान्थे । प्रदर्शन गर्ने हंगर (भोक) थियो ।’

सोमपालले यसअघि आफ्नै कप्तानीमा टिम चौराह धनगढीलाई धनगढी प्रिमियर लिग (डीपीएल) को उपाधि जिताएका थिए ।

पछिल्लो पटक तेस्रो सिजनमा खेलेका आधा खेलाडी मात्र यस पटक चितवनको टिममा थिए । सोमपाल आफैं नयाँ थिए भने चार जना विदेशी खेलाडी पनि नयाँ थिए । अर्थात प्लेइङ सेटमा अनिवार्य खेलाउनु पर्ने ३ विदेशी र सोमपाल नयाँ थिए । बाँकी ७ जनामा ५ जना दिलिप नाथ, सागर ढकाल, शाहब आलम, कमल सिंह ऐरी र भिम शार्की पछिल्लो सिजनकै खेलाडी प्लेइङ सेटमा थिए ।

ललित भण्डारी र आदिल खान चोटका कारण यस सिजन खेल्न पाएनन् । त्यसमा चितवनले यस सिजन राजेश पुलामीलाई अनुबन्ध गरेको थियो । उनले चितवनको विश्वासलाई प्रमाणित गरिदिए । चितवनले ओपनिङमा भने शाहाजदको जोडीमा तीन खेलाडीलाई प्रयोग गरेपनि यसमा भने सफल हुन सकेन । इशान पाण्डे, खड्ग बोहरा र हासिम अन्सारीले ओपनिङमा राम्रो गर्न सकेनन् ।

चितवन टाइगर्स
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय