+
+

मुसहर समुदायका ९३१ जना एसईई उतीर्ण

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १३:२३

२५ असोज, वीरगञ्ज । पछिल्लो १० वर्षमा मुसहर समुदायका ९३१ जनाले एसईई पास गरेका छन् ।

मुसहर समुदायमा काम गर्दै आएको सामाजिक संस्था भोरको तथ्याङ्क अनुसार हालसम्म मुसहर समुदायका ९३१ जनाले एसईई उतीर्ण गरेका हुन् ।

मुसहर, डोम लगायत तराई मधेसका दलित समुदाय चरम गरिबी, बञ्चितीकरण, अभाव र अशिक्षाको अध्याँरोमा बस्न बाध्य छन् ।

मुसहर, डोम लगायत मधेसी दलित समुदायका अति विपन्‍न र शिक्षाबाट वञ्चित बालबालिकालाई शिक्षाको मुलधारमा ल्याउन भोरले सन् २०११ देखि काम गर्दै आएको छ । संस्थाले देशरभरका एसईई उतीर्ण मुसहर विद्यार्थीलाई प्रत्येक वर्ष सम्मान गर्ने गर्दछ ।

‘दिनाभद्रि छात्रवृति कोष’ मार्फ उनीहरुलाई उच्च शिक्षा अध्ययन गर्न छात्रवृति तथा प्राविधिक सहयोग गर्दै आएको छ । भोरका अध्यक्ष पचुलाल माझी मुसहरका अनुसार सन् २०११ मा अभियान शुरु गर्दा जम्मा दुई जना मुसहर विद्यार्थीले एसएलसी उतीर्ण गरेका थिए । त्यसवर्ष उनीहरुलाई सम्मान गर्नुको साथै उच्च शिक्षा अध्ययनका लागि छात्रवृति तथा प्राविधिक सहयोग गरिएको थियो ।

त्यसपछि यो अभियान निरन्तर चलिरहेको छ। क्रमशः सन् २०१२ मा ५ जना, २०१३ मा ७ जना, २०१४ मा ९ जना, २०१५ मा ६१ जना, २०१६ मा ९२ जना, २०१७ मा १४८ जना, २०१८ मा १६६ जना, २०१९ मा १७२ जना र २०२० मा ५४ जना मुसहर विद्यार्थी एसइई उतीर्ण भएका छन् ।

कोभिड १९ महामारीले गर्दा सन् २०२० मा सम्मान समारोह तथा छात्रवृति सहयोगको गति कम भयो । त्यसले गर्दा विद्यार्थी संख्या घटेको हुन सक्ने भोरको विश्लेषण छ ।

नेपाल तथा बाहिरका मनकारी व्यक्ति तथा संघ संस्थाले दिनाभद्री छात्रवृति कोषमा स्वेच्छाले आर्थिक सहयोग गर्ने गरेको भोरका कोषाध्यक्ष उमेश कुमार साह बताउँछन् ।

छात्रवृत्ति मार्फत उच्च शिक्षा हाँसिल गरेका मध्ये ४ जना प्रहरीमा, ४९ जना गैरसरकारी संस्था, कतिपय निजी विद्यालय, उद्योग कलकारखाना र वित्तिय संस्थामा रोजगारीमा रहेको भारेले जनाएको छ ।

२ सय १५ मुसहर र ४ जना डोम विद्यार्थी सम्मानित

सन् २०२१ मा भोरले २१५ जना मुसहर र ४ जना डोम समुदायका विद्यार्थीलाई सम्मान गरेको छ । २०७७ सालको एसईई परीक्षा उतीर्ण भएका उनीहरुलाई शनिबार जनकपुरमा अभिनेता नाजिर हुसैनको हातबाट सम्मान गरिएको हो ।

अब उनीहरुले कक्षा ११ मा अध्ययन गर्न आफूलाई पायक पर्ने स्थानको कलेज र विषय रोज्नेछन् । त्यसपछि उक्त कलेजमा कक्षा ११ र १२ अध्ययन गर्न कति फि कलेजलाई तिर्नु पर्ने हुन्छ, कलेजले कति छुट गरि दिन्छ । कलेजका कर्मचारी वा प्रमुख सित छलफल गरी निश्चित गर्नेछ ।

विद्यार्थीले तिर्न नसक्ने न्यूनतम रकमको व्यवस्था भोरले दिनाभद्री छात्रवृति कोषबाट गर्ने गरेको भोरका संस्थापक राजकुमार महतोले जानकारी दिए । ‘२०७७ सालमा एसईई उतीर्ण २ सय १९ विद्यार्थीलाई आवश्यक आर्थिक स्रोत जुटाउन ‘दिनाभद्री छात्रवृति कोष’मा सहयोग गर्न आव्हान गरिसकेका छौं ।’ उनले भने ।

सम्मान कार्यक्रममा देशरभरका ३ सय भन्दा बढी मुसहर एवं डोम समुदायका एसइई उतीर्ण विद्यार्थी, प्लस टु, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी लगायत सहभागी थिए ।

(मुसहर समुदायका ९३१ जनाले एसईई उत्तीर्ण गरेको हुनुपर्नेमा संख्या फरक परेकाले सच्याइएको छ । सं.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?