+
+

मोतीपुरमा सुकुम्बासी मारिएको घटनामा एमालेले माग्यो सरकारको जवाफ

एमाले सांसदले भने : कुन नैतिकताले कुर्सीमा बसिरहनुभएको छ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १३:२४

२५ असोज, काठमाडौं । नेकपा एमालेले रुपन्देहीको मोतीपुरमा सुकुम्बासी मारिएको घटनाको विषयमा सरकारको जवाफ मागेको छ ।

राष्ट्रियसभा बैठकको शुरुमै बोल्दै नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले आफ्नै जिल्लामा सुकुम्बासी मारिँदा गृहमन्त्री बालकृष्ण खाँण मुकदर्शक बनेको आरोप लगाए ।

‘आज अरुका लागि दशैं आएको छ, सुकुम्बासीका लागि दशा आयो । त्यही जिल्लाका गृहमन्त्री हुनुहुन्छ, उहाँले के सोचिरहनुभएको छ ?’ उनले प्रश्न गरे, ‘कुन नैतिकताका आधारमा उहाँ कुर्सीमा बसिरहनुभएको छ ? मलाई उदेक लाग्छ ।’

आइतबार बुटवल उपमहानगरपालिकाको मोतीपुर क्षेत्रमा सुकुम्बासीमाथि प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो । सांसद भट्टराईले यो घटननाले गृहमन्त्रीको नैतिकतामाथि प्रश्न उठेको बताए ।

उनले मोतीपुर घटनाको निष्पक्ष छानबिन गर्न, घाइतेको उपचारका प्रबन्ध गर्न, मृतकको क्षतिपूर्तिको प्रबन्ध गर्न पनि माग गरे ।

सुकुम्बासी मारिँदा पनि सरकारले केही प्रतिक्रिया नदिएको भन्दै सांसद भट्टराईले सरकार आँखा, कान र मुख नभएको जस्तो देखिएको बताए ।

अहिलेको सरकारका कारण लोकतन्त्र र गणतन्त्र कमजोर भएको पनि उनले बताए । ‘लोकतन्त्र र गणतन्त्र कमजोर बनाइँदैछ, हाम्रो उपलब्धिमाथि प्रश्न उठाइँदैछ’ भट्टराईले भने, ‘यसले व्यवस्थालाई कमजोर बनाउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?