+
+

सरकारी जागिरले दियो मुसहर युवकलाई सम्मान

सुरेश बिडारी सुरेश बिडारी
२०७८ असोज २६ गते १६:१६

२६ असोज, वीरगञ्ज । राजकुमार सदा सप्तरीको सुरुङगा नगरपालिका–७ का बासिन्दा हुन् । उनी बाराको आदर्श कोतवाल गाउँपालिकाको कम्प्युटर अपरेटर पदमा कार्यरत छन् । उनले यहाँ जागिर गरेको डेढ वर्ष भयो ।

नेपालमै मुसहर जातिबाट सरकारी सेवामा स्थायी कम्प्युटर अपरेटर बनेका राजकुमारबाहेक अर्को व्यक्ति भेटिएको छैन । सरकारी जागिर खाएपछि समुदायमा राजकुमारलाई हेर्ने दृष्टिकोण नै फेरिएको छ । उनको समुदायबाहिर पनि उनलाई इज्जत र सम्मान दिन्छन् ।

कार्यालयमा उनले दलित भनेर हेपिनुपरेको छैन । शिक्षा आर्जन, सरसफाइ र खानपिनमा ध्यान दिँदा समाजमा इज्जत प्रतिष्ठा बढ्दै गएको उनले अनुभूति गरेका छन् ।

राजकुमारको परिवारमा आमा बुबा, श्रीमती, छोराछोरीसहित ८ जनाको परिवार छ । दुई बहिनीको विवाह भइसकेको छ । उनलाई सानैदेखि पढाइमा औधी रुची थियो । दैनिक गुजारा चलाउन ज्यालादारी गर्नुपर्ने, वस्तुभाउ चराउन जानुपर्ने भएपनि उनले पढाइ छोडेनन् ।

गाउँमा ५ कक्षासम्म मात्रै पढाइ हुन्थ्यो । त्यसपछि डेढ घण्टा टाढाको कुशाहास्थित मसीलाल जनता माविमा पढ्नुपर्थ्यो। ०६३ सालमा द्वितीय श्रेणीमा एसएलसी उतीर्ण गरेका उनले जेएस मुरारका क्याम्पसबाट प्लस टु सके। त्यसपछि निजी विद्यालयमा पढाउँदै अंग्रेजीमा स्नातक पास गरे र ६ महिने कम्प्युटर डिप्लोमा कोर्स पूरा गरे ।

‘वोर्डिङ स्कुलमा काम गर्दा समयमा तलब दिँदैनथे । यत्रो पढेर पनि के यस्तो काम गर्छौ भनेर दैनिक ज्यालादारीमा पनि कसैले नबोलाउने’ राजकुमार पुराना दिन सम्झन्छन्। उनले सरकारी जागिर खाने अठोट गरे, तर पटक पटक लोकसेवा आयोगको परीक्षाको फारम भर्न र गुजारा चलाउन उनले ऋण लिनुपर्‍यो ।

कहिले सासुससुरा त कहिले साथीसग पैसा सापट मागेर उनी लोकसेवा आयोगको फारम भरेको र परीक्षा दिन गएको उनी राजकुमार बताउँछन् ।

पाँचौ पटकमा सफलता

राजकुमारले २०७३ सालमा नायब सुब्बासरहको कम्प्युटर अपरेटरका लागि लोक सेवा आयोेग धनकुटा कार्यालयमा पुगेर फारम भरे । लिखित परीक्षा पास गरे पनि अन्तर्वार्तामा असफल भए।

२०७४ सालमा फेरि लोक सेवा आयोगको खोटाङ कार्यालयबाट सहायक कम्प्युटर अपरेटर र कम्प्युटर अपरेटर पदमा परीक्षा दिए । सहायक कम्प्युटर अपरेटरमा नाम निस्कियो, तर वैकल्पिकमा।

दुई दुई पटक असफल भएपछि मुसहरको बच्चाले सरकारी जागिर खान सक्दैन भनेर पनि होच्याए । उनलाई पनि नाम निकाल्न सकिँदैन कि भन्ने डर लाग्यो । तर हिम्मत भने हारेनन् । जहाँ जहाँ कम्प्युटर अपरेटरमा भर्ना खुल्छ उनी आवेदन दिन पुग्थे । २०७५ सालमा लोकसेवा आयोगको बुटवल कार्यालय पुगेर कम्प्युटर अपरेटरको परीक्षा दिए । त्यहाँ पनि लिखित परीक्षा पास गरे, अन्र्तवार्तामा फालिए ।

‘जतापनि तनावै तनाव, मनमा अनेक किसिमको नकारात्मक कुराहरु खेल्ने, के गरुँ कसो गरुँ जस्तो हुन्थ्यो ।’ उनी त्यतिबेलाको समय सम्झिन्छन्, ‘तथापि धैर्य र साहस जुटाएँ । अनि स्थानीय तहमा कम्प्युटर अपरेटरको तयारी थालें ।’

२०७६ लोकसेवा आयोगको जलेश्वर कार्यालयले मागेको सहायक पाँचौं तहको कम्प्युटर अपरेटर पदमा भने उनले नाम निकाले ।

पढाइ नै ठूलो कुरा

मुसहर समुदायमा अहिले देखिएको सबैभन्दा ठूलो समस्या विद्यालय छाड्नुरहेको राजकुमार बताउँछन् । उनीसँगै विद्यालय जाने १० जनामध्ये उनी मात्रै अघि बढे । अरुले बीचमै पढाइ छाडे । हिजोआज उनी जागिरबाट बचेको समय आफ्नै समुदायको हितमा लगाउँदैछन् ।

‘मुसहर मात्रै होइन, दलितको छोराछोरीले पनि राम्रो गर्न सक्छ भनेर देखाउनुछ । राज्यमा पहुँच स्थापित गर्नुछ । त्यसका लागि हार मानेर बीचमै मैदान छोड्ने हैन, सफल नहुँदासम्म निरन्तर प्रयास गर्नुपर्छ’ उनी भन्छन् ।

दलित, विपन्न र गरिबले जीवनमा परिवर्तन ल्याउन शिक्षालाई नै औजार बनाउनुपर्ने भोरका अध्यक्ष पचुलाल माझी मुसहर बताउँछन् । ‘पढाइसँगै निरन्तर मेहनत गरी अगाडि बढ्दै गयो भने अवश्य नै लक्ष्यमा पुग्न सकिन्छ’ उनी भन्छन् ।

मुसहर, दलितभित्र पनि अति पिछडिएको जातिमा पर्छ । जग्गा, अवास, घरबार, नागरिकताविहीन रहँदै आएका छन् । रोग, भोग, शोक, बधुवा मजदुर उनीहरुको जीवनको पर्याय हुन्छ ।

ज्याला मजदुरीबाटै दैनिक गुजारा गर्छन् । मुसहर जातिको साक्षरता दर सात प्रतिशत मात्र छ । हालसम्म ९ सय ३१ जनाले मात्रै एसईई उतीर्ण गरेको मुसहर समुदायमा काम गर्दै आएको संस्था भोरको तथ्याङ्कमा उल्लेख छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?