+
+

४ सय विदेशी विद्यार्थी चिकित्सा शिक्षा अध्ययन गर्न नेपालमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २७ गते १४:४२

२७ असोज, काठमाडौं । विदेशबाट चिकित्सा शिक्षा अध्ययन गर्न चार सय विद्यार्थी नेपाल आएका छन् । चिकित्सा शिक्षा आयोगका अनुसार यो शैक्षिक सत्रमा मात्रै चार सय विद्यार्थी नेपाल आएका हुन् ।

उनीहरु चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययन गर्न नेपाल आएको आयोगका उप सचिव सेमन्तराज शर्माले बताए । शर्माका अनुसार यो वर्ष भारतबाट मात्रै चिकित्सा शिक्षा अध्ययन गर्न आएका छन् । कोभिडका कारण यस वर्ष अन्य देशका विद्यार्थी चिकित्सा शिक्षा अध्ययन गर्न नआएको उनको भनाइ छ ।

उनीहरुले आयोगले लिएको एकीकृत प्रवेश परीक्षा र सम्बन्धित देशको परीक्षा पास भएका विद्यार्थी सिधै भर्ना हुन पाउने सुविधा आयोगले दिएको छ । उप-सचिव सेमन्तराज शर्मा भन्छन् ‘आयोगले लिएको एकिकृत परीक्षा पास गर्नेलाई पहिलो प्राथमिकता दिइन्छ । त्यसपछि मात्रै सम्बन्धित देशको परीक्षा पास गरेर आएकोले पढ्न पाउँछन् ।’ चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि तोकेको कोटामा १० प्रतिशत विदेशी विद्यार्थीको लागि छुट्याएको छ ।

त्रिवि सम्बद्ध प्रतिष्ठान तथा कलेज, काठमाडौं विश्वविद्यालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीपी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका शिक्षण संस्थामा एमबीबीएस भर्नाका लागि भर्ना हुन इच्छुक रहेको शर्माले बताए ।

चिकित्सा शिक्षाको स्नातक तह पढ्नको लागि इच्छुक बिदेशी विद्यार्थीलाई कार्तिक सात गतेभित्र सम्बन्धित शिक्षण सस्थामा भर्ना भईसक्न आयोगले सुचित गरेको छ ।

पाँच वर्षमा ७ हजार ५ सय विदेशी विद्यार्थी भित्रिए

अध्यागमन विभागको तथ्यांक अनुसार नेपालमा विगत पाँच वर्षयता विदेशका ७ हजार ५१६ विद्यार्थी अध्ययनरत छन् ।

विभागको रिपोर्ट अनुसार सन् २०१७ देखि हालसम्म २०१७ मा १ हजार ७८२, २०१८ मा २ हजार १७६, २०१९ मा १ हजार ९२७, २०२० मा ९८३, २०२१ मा ६४८ विद्यार्थी अध्ययनका लागि नेपाल आएका हुन् ।

ती विद्यार्थीहरु विश्वभाषा क्याम्पसमा विभिन्न भाषा अध्ययन गरिरहेका छन् । चिकित्सा शिक्षा बाहेक अन्य विषय पढ्न भने जापानबाट धेरै विद्यार्थी भित्रिएको अध्यागमन विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

१ हजार ८७, अमेरिकाका ९ सय ६८, दक्षिण कोरियाका ९०४, बेलायती ८३५, चिनियाँ ७३३, श्रीलंकन ४८३ छन् । त्यसैगरी, माल्दिभ्सका ४७१, अस्ट्रेलियाका १६५, क्यानडाका ११५ दुई सयभन्दा धेरै मुलुकका नागरिकले विद्यार्थी भिसा लिएर नेपाल बस्दै आएका छन्।

राष्ट्र बैङ्कको बार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७७/७८ मा विदेशी विद्यार्थीबाट एक अर्ब चार करोड ५९ लाख, आर्थिक वर्ष ०७६/७७ मा दुई अर्ब २३ करोड चार लाख, र ०७५/७६ मा दुई अर्ब २५ करोड १६ लाख रेमिट्यान्स नेपालमा भित्रिएको छ ।

नेपाली विद्यार्थी भने विदेशको विश्वविद्यालयप्रति आकर्षित

नेपाली विद्यार्थी भने विदेशका विश्वविद्यालयप्रति आकर्षित हुने गरेका छन् । हरेक वर्ष विदेशका विश्वविद्यालयमा पढ्न जाने विद्यार्थीको संख्या बढ्दो छ । कोभिड १९ महामारीबीच पनि पछिल्लो आर्थिक वर्ष २०७७/०७८ मा २७ हजार ९७८ जनाले नो अब्जेक्सन लेटर लिएका थिए । जसबाट २४ अर्ब ९५ करोड ९४ लाख रुपैयाँ बिदेसिएको छ।

बैदेशिक अध्ययन अनुमति शाखा केशरमहलको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/०७३ देखि आर्थिक वर्ष २०७७/०७८ सम्म दुई लाख ६७ हजार २३७ जनाले अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) लिएका छन् ।

शाखाको तथ्यांक अनुसार अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायत देशका विश्वविद्यालयहरु विद्यार्थीको मुख्य रोजाईमा परेको देखिन्छ ।

चिकित्सा शिक्षा स्नातक अध्ययनका लागि आयोगले तोकेको शुल्क

आयोगले गत वैशाख २९ गते एक सूचना जारी गरी शैक्षिक सत्र २०७७/७८मा उपत्यका भित्र एमबीबीएस अध्ययनका लागि ४० लाख २३ हजार २५० र उपत्यका बाहिर एमबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार २५ रुपियाँ शुल्क निर्धारण गरेको थियो ।

बीडीएस अध्ययनका लागि २० लाख १९ हजार ५८० निर्धारण गरेको थियो । सोही शुल्कमा १.६ प्रतिशत वृद्धि गरेर विदेशी विद्यार्थीलाई पढाउन सार्वजनिक सूचना गरिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?