३१ असोज, काठमाडौं । कुटुङसाङबाट साढे तीनघण्टा ठाडो उकालो चढेपछि समुद्री सतहबाट ३२८५ मिटरमाथि रहेको ग्रिन भ्यु रेस्टुरेन्ट पुगिन्छ । प्रभाती किरणले पातका शित सोस्नुभन्दा पहिले यो ठाउँबाट हेलम्बुको विहंगम दृश्य देखिन्छ ।
त्यही हेलम्बुको हालचाल बताइरहेका कालु शेर्पा (कालु दाइ)सँग हाम्रो चिनापर्ची भयो । उनको खास घर नुवाकोट रहेछ । बाबुआमाको माइलो छोरा, सानैदेखि लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा होटल व्यवसायमा लागेका उनी २०३५ सालमा आमासँग मिलेर ठाडेपाटीमा व्यवसाय चलाउँथे ।
१० वर्षजति आमासँग मिलेर होटल चलाएपछि आफैँले कस्तुरी डाँडामा अर्को होटल चलाउन थाले । उनी सम्झन्छन् ‘सुरुमा सानो डाइनिङ र चार वटा कोठाबाट व्यवसाय सुरु गरेका उनले आमाले दिएको एक लाख रुपैयाँबाट उनी व्यवसायमा लागेका थिए । त्यहाँ केही समय काम गरेपछि उनी फेरि ठाडेपाटीमा झरेर होटल चलाउन थाले । त्यहाँ पनि धेरै चित्तबुझ्दो व्यापार नभएपछि उनले पछिल्लो २२ वर्षजति भयो मागिनगोठमा होटल सुरु गरेको ।
कालुदाइको सुरुवाती जीवन त्यही सुखद् हुन सकेन । गरिब परिवारमा जन्मिएका उनले गुजारा चलाउनकै लागि बाबुआमाले गर्नुपरेको संघर्ष र अरुको हेपाइले उनलाई सानैदेखि विक्षिप्त बनाइरहेको थियो । तर उनको बालापनमा सम्पत्तिको घमण्ड गर्नेहरुको अधोगति देखेर सम्पत्ति क्षणिक रहेछ भन्ने ज्ञान भएको शेर्पा सुनाउँछन् ।
उनी भन्छन् ‘सम्पत्तिको घमण्ड गर्नेहरुलाई समेत भूकम्पले तन्नम बनाइदियो’, शेर्पा भन्छन् ‘त्यही घटनाले मलाई सम्पत्ति क्षणिक हो भन्ने पाठ सिकाएर समाज सेवातिर आकर्षित गरायो ।’ उनी सम्पत्ति हुनेसँग पर्याप्त शुल्क लिने र नहुनेलाई निःशुल्क सेवा पनि गर्ने आफ्नो बानी रहेको बताउँछन् ।
उनी हरेक दुःखी गरिबहरुमा आफ्नो विगत देख्ने बताउँछन् । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र करिब ४ दशकसम्म व्यवसाय गर्दा उनले धेरै अनुभव बटुले । माओवादी र सेना दुवैको चित्त बुझाएर व्यवसाय गर्नु सानो जोखिम थिएन । तर स्पष्ट विचारका उनी दुवैका प्रिय थिए ।
माओवादी शान्तिप्रक्रियामा आएपछि केही समय राजनीति पनि गरे । यदि राजनीतिमा नै सक्रिय भइरहेको भए सायदै उनी ठूलै ओहोदामा पुग्थे होला । तर पछिल्लो एक दशकमा भने उनी राजनीतिबाट बिरक्तिएर स्वतन्त्र बन्न प्रयासमा लागेको बताउँछन् ।
‘मलाई सिधै माओवादीले नुवाकोटको डीसीएम बनाएको थियो । तर जतिबेला मैले राजनीतिमा लोकहितभन्दा व्यक्तिगत स्वार्थको खेल हुन्छ भन्ने थाहा पाएँ । त्यसपछि राजनीति सबैभन्दा घृणित खेल लाग्न थाल्यो ।’ उनी राजनीतिप्रतिको तीतो पोख्दै भन्छन् । ‘अहिले पनि निकुञ्जभित्र व्यवसाय गर्न सबैलाई रिझाउन त पर्दाे नै रहेछ । तर म कुनै पार्टीमा सक्रिय छैन ।’
व्यवसायसँगै उद्धारको काम
यात्राको क्रममा भोगेका कैयन् उतारचढावका साक्षी कालु शेर्पा अर्थात् कालु दाइ सन् १९९२ सालमा सोही क्षेत्रमा भएको थाइ एयरलाइन्सको विमान दुर्घटनाको भयावह दृश्यलाई सम्झिने कोसिस गर्छन् । जुन उनको दुई दशक पुरानो उद्धार कार्यको पहिलो खुड्किलो थियो ।
थाईल्याण्डको बैङ्ककबाट काठमाडौँ आउँदै गरेको थाई एयरलाइन्स सन् १९९२ जुलाई ३१ मा लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको फेदी भन्ने ठाउँमा दुर्घटना भयो । जसमा विमानमा सवार ९९ यात्री र चालक दलका १४ सदस्यसहित ११३ यात्रीको ज्यान गएको थियो ।
यो दुर्घटना केवल त्यो भेग वा नेपालको मात्रै चासोको विषय थिएन । विश्वभर चासो रहेको यही हवाई दुर्घटनासँगै सुरु भएको थियो कालु दाइको उद्धार यात्रा । त्यो उद्धारको समयलाई स्मरण गर्दै कालु दाइ सुनाउँछन् :
जुलाई ३१ तारिकको राति ११ बजे । म ठाडेपाटीमा होटल व्यवसाय गर्थेँ । मेरो व्यक्तिगत होटल कस्तुरी डाँडामा भए पनि त्यतिबेला म आमाकै होटलमा थिएँ । मेरो बुबा पनि त्यहीँ हुनुहुन्थ्यो । होटलमा त्यसदिन गोसाइँकुण्ड यात्रामा जाने केही यात्रुहरु हुनुहुन्थ्यो । एक्कासी विमान दुर्घटनाको खबर आयो । त्यतिबेला फोनको चलन थिएन, टेलिफोन गर्न कि त घ्याङफेदी पुग्नुपथ्र्या कि त कुटुङसाङ । बीचका मान्छेलाई त्यही ठाउँबाट खबर पुर्याउने हो ।
राति पौने १० बजेतिर दुर्घटनाको आशंका रहेको भन्दै खबर आयो । नजिकै रहेका दि फेसम महेन्द्र दल गणका २ जनासहित पदयात्राका लागि आएका ७ जना यात्रु लिएर मसहितको टोली सम्भावित जहाज दुर्घटना भएको ठाउँ फेदीतिर लाग्यौं । मैले त अँध्यारोमा भन्दा भोलि बिहान जाऔं भनेको थिएँ । तर नेपाली सेनाका जवान र बुबाले मान्नु भएन । हामी त्यहीदिन घटनास्थल पुग्यौं ।
रातिको समय, हातमा सबैसँग बत्ती थिएन । जब हामी ३ घण्टाको पैदलयात्रापछि घटनास्थल पुग्यौं हामीलाई यकिन भयो कि त्यहाँ कोही पनि यात्रु जीवित छैन । बर्खाको समय, मौसमले पनि साथ दिएको थिएन । हामी त्यहीँ नजिक रहेको बन्द होटल फोरेर सुत्यौं । भोलिपल्टदेखि मात्रै घटनास्थलको रिपोर्टिङ र प्राप्त प्रमाणहरु संकलन गरेर काठमाडौं पठाउने कामको सुरुवात गरियो ।
यो भयावहपूर्ण दुर्घटनाको साक्षी बनेका कालुदाइको १८ वर्षसम्म झण्डै ४ दर्जनबढी दर्शनार्थीको उद्धार गरेको अनुभव छ । जसमध्ये आधा दर्जनजतिलाई जीवितै फर्काउन नसकेकोमा दुःख मान्छन्, उनी । जतिलाई जीवितै उद्धार गर्न सके ती सबैलाई परिवारको जिम्मा लगाएर फर्किने गरेको उनी बताउँछन् ।
जीवनको पाँच दशकको कालखण्डमा कालुदाइले धेरै ठूलो उतारचढाव भोगे । धेरै झिसमिसे बिहानी घटनास्थलमै बिताए । धेरैलाई पुनर्जन्म दिए, कतिपयलाई कोसिस गर्दागर्दै पनि बचाउन सकेनन् ।
अस्ट्रेलियन नागरिक जेनेस्कोटको उद्धार
थाई एयरलाइन्स दुर्घटनाको केही वर्षपछि उनकै नेतृत्वको टोलीले एक अस्ट्रेलियन नागरिक जेनेस्कोटको उद्धार गर्यो । उमेरले २१-२२ वर्षका उनी यही पदमार्गबाट गोसाइँकुण्डको यात्रामा आएका थिए । उनी एक्लै थिए ।
साँझ ठाडेपाटीबाट खाना खाएर निस्किएका उनको बारेमा केही दिनसम्म त कुनै जानकारी भएन । करिब डेढ महिनापछि एकदिन फेदी र ठाडेपाटीका होटल व्यवसायीबीच कुरा हुँदा ती व्यक्ति फेदी नकटेको कुरा चल्यो । उनलाई खोज्न जाने कुरा भयो । त्यसको नेतृत्व कालुदाइले नै गरेका थिए ।
उनी फेदी र ठाडेपाटीको बीचमा पर्ने कस्तुरी डाँडाको ओढारमा थला परेको अवस्थामा भेटे । उनी ४५ दिनसम्म दुईवटा स्नेकर्स चकलेट र हिउँ खाएको सुनाउँथे । हिँड्न नसक्ने अवस्थामा पुगेका उनलाई हेलिकोप्टरबाट उद्धार गरियो । आफूले पुनर्जीवन पाएको भन्दै एक वर्षपछि आफूलाई खोज्दै सपरिवार फेरि पनि हेलम्बु आएको शेर्पा बताउँछन् ।
कालु दाइको उद्धारको शृंखला खोज्दै जाँदा यस्ता अनगिन्ती पीडाहरुको पहाड भेटिन्छ । उमेरले ५२ वर्ष पुगेका कालु शेर्पा यही सहयोगी स्वभावका कारण ‘कालु दाइ’को नामबाट अहिले पनि रसुवा, नुवाकोट र सिन्धुपाल्चोकको सीमा क्षेत्रमा चिरपरिचित छन् ।
मृत शरीर परिवारलाई बुझाउँदाको पीडा
जेनेस्कोटको उद्धारलगत्तै काठमाडौंबाट आएका ३ जना चिकित्सकहरुको टोलीलाई फेदीको खोलाले बगायो । जसमा २ जनालाई जीवितै र एकजनाको शव खोजेर काठमाडौं पठाइएको कालु दाइ सम्झन्छन् ।
‘सोलुको गुरुङ, भक्तपुरका क्षेत्री र जनकपुरका यादव भाइ मिलेर पदयात्राका लागि आएका रहेछन् । साउनको महिना थियो । उनीहरु ठाडेपाटीबाट गोसाइँकुण्डको लागि निस्किए । सूर्यकुण्ड पथ अन्तर्गत् फेदी भन्ने ठाउँमा एउटा खोला छ । जुन बर्खायाममा सहजै तर्न जोकोहीलाई गाह्रै पर्छ ।
गुगल म्यापमा हेर्दा खोला तरेर पारि पुगेपछि होटलहरु छ भनेर देखाइन्छ । त्यो गलत हो । जनकपुरका यादव भाइ यही भ्रमको शिकार भए ।’ शेर्पा भन्छन् ‘हामीले अँध्यारो भयो भने घोप्टेभन्दा उता नजानु भनेका थियौं । उहाँहरुले मान्नुभएन छ । उनीहरु जाने बेलामा जसोतसो खोला तरेर गएछन् । उता होटल नभेटेपछि फेरि वारि फर्किन खोज्दा सोलुका गुरुङ त तरे तर बाँकी २ जना तर्न सकेनन् । दुवैजनालाई खोलाले बगायो । भक्तपुरका क्षेत्री भाइलाई खोलाले किनारामा हान्यो, तल पुगेर उनी सकुशल माथि आए । तर यादव भाइलाई बचाउन सकिएन । पछि उनको शव खोजेर काठमाडौं पठाइयो । यो पनि निकै दुखद् उद्धारको एउटा उदाहरण हो ।’
काठमाडौंको शिक्षण अस्पतालमा यादव भाइको मृत शरीरलाई उनको बाबुको हातमा बुझाउँदा मैले अहिलेसम्मकै सबैभन्दा पीडादायी क्षणको महसुस गरेँ’ उनी सुनाउँछन् ।
होटल व्यवसायीको सहयोग नहुँदा मृत्यु
स्थानीयका अनुसार गोसाइँकुण्ड पदमार्गको कुटुङसाङभन्दा माथि पुगेपछि जोकोहीलाई स्वास्थ्य समस्या भयो भने ‘कालु दाइको होटलसम्म जानू’ भन्ने चलन छ । लेक लागेर थलिएकाहरुको उद्धार आफैँमा झण्झटिलो काम हो । त्यसैले जोकोही यो झण्झट उठाउन चाहँदैनन् । यही पन्छिने प्रवृत्तिको शिकार भएका थिए दोलखा र भारतबाट आएका दुई यात्रीहरु ।
उनीहरु एकै समयमा छुट्टाछुट्टै पदयात्राका लागि आएका थिए । ठाडेपाटीमै लेक लागेकी भारतीय महिला यात्रीलाई स्थानीयले त्यसभन्दा अघि नबढ्न आग्रह गरेका थिए तर उनले टेरिनछिन् । केहीमाथि पुगेपछि उनको मृत्यु भयो । पछि उनको शवलाई पनि कालु दाइकै सक्रियतामा उद्धार गरिएको थियो ।
तर दोलखाबाट आएका एक पदयात्रीको मृत्युमा भने स्थानीयको पनि कमजोरी रहेको कालुदाइ सुनाउँछन् । उनी दोलखा स्थायी घर भएका रिटायर्ड आर्मी अफिसरका छोरा थिए । त्यतिबेला कालु शेर्पा ठाडेपाटीमा गोसाइँकुण्ड होटल चलाउँथे । उनीहरुको टोलीमा ५ जना आएका थिए । ती साथी बिरामी भएपछि २ जना साथी बिरामी कुरेर बाँकी २ जना कालु शेर्पालाई बोलाउन कुदे । पछि कालुले होटलमा काम गर्ने कामदारलाई बोकेर ल्याउन भनी पठाए । तर होटलमा ल्याउने बेलासम्म नाजुक स्थितिमा रहेका उनको राति १२ बजेतिर निधन भयो ।
धेरै गल्ती पैदल यात्रुकै
अहिलेसम्म करिब ५ जना पैदलयात्रुलाई मृत अवस्थामा र साढे ३ दर्जन जतिलाई सकुशल उद्धार गरिएको बताउँछन् कालु शेर्पा । त्यसमध्ये पनि आधा दर्जनजतिलाई त जटिल अवस्थामा रहेका कारण हेलिकप्टर बोलाएर समेत उद्धार गरेका छन् ।
पछिल्लो पटक जनैपूर्णिमाको ४ दिनअघि एकादशीको दिन सिन्धुलीबाट आएकी एक बृद्धालाई सकुशल उद्धार गरिएको उनी सुनाउँछन् । साथीहरुसँग आएकी ती बृद्धालाई साथीहरुले मागिनगोठमा रहेको शेर्पाको होटलमा छाडेर गोसाइँकुण्डतिर लागेका थिए । पछि उनलाई सकुशल काठमाडौं फर्काइएको शेर्पाले सुनाए ।
धेरैजसो पदयात्राको क्रममा आफ्नै गल्तीले बिरामी हुन्छन् ।
अहिलेसम्म कालु शेर्पाले जतिपनि उद्धार गरे त्यसमध्ये अधिकांशमा हाई अल्टिच्युडको समस्या देखिएको छ । शेर्पा भन्छन्, ‘धेरै जना आफ्नै गल्तीका कारण यसको शिकार बन्छन् । यो रोग होइन । ठिक्क अवस्थामा सुस्तरी हिँड्दा लेक लाग्दैन । थकित मुद्रामा हुँदा बढी लेक लाग्ने जोखिम हुन्छ । थकिन हुने, कान नसुन्ने, खाना खानै मन नलाग्ने, बोल्नै मन नलाग्ने, वान्ता हुन खोज्ने जस्ता समस्या भयो भने जहाँ छ त्यहीँ वा सकेसम्म २०० देखि ३०० मिटरसम्म तल झरेर बस्नुपर्छ । तर धेरै पदयात्रीहरु छिट्टै गन्तव्यमा पुग्ने भन्दै अटेरी गरेर अघि बढ्दा यसको शिकार बन्छन् । धेरैले जाँड रक्सी र धुम्रपान पनि गर्ने गर्छन् । यस्तो यात्रामा यी सबै अति जोखिमयुक्त खानाहरु हुन् । यसलाई त्याग्नै पर्छ ।’
लेक लागेको अवस्थामा खाने स्थानीय खानाहरु पनि हुन्छन् । जस्तो अदुवाको सुप यसको लागि सबैभन्दा प्रभावकारी खाना हो । डाइमोक्स खुवाएरमाथि लैजानेभन्दा पनि उनीहरुलाई आवश्यक प्राथमिक उपचार गरेर फिर्ता गर्नेतिर ध्यान दिनुपर्छ ।
प्रतिक्रिया 4