+
+

आयल निगमलाई १५ दिनमै २ अर्ब २२ करोड घाटा

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३१ गते १८:५९

३१ असोज, काठमाडौं । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम कच्चा पदार्थको मूल्य बढ्दा नेपाल आयल निगमको घाटा आकासिएको छ । पछिल्लो १५ दिनमा मात्र २ अर्ब २२ करोडभन्दा बढी नोक्सासी प्रक्षेपण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

कच्चा तेलको बढ्दो मूल्यकै कारण ६ वर्षपछि निगम पहिलो पटक गतवर्ष ४ अर्ब घाटामा गएको थियो । भारतीय आयल कर्पोेरेसन (आईओसी) ले १६ अक्टोबरमा पठाएको नयाँ मूल्यअनुसार १५ दिनको घाटा २ अर्ब २२ करोड ६ लाख प्रक्षेपण गरिएको प्रवक्ता उपाध्यायले बताए ।

यसअघि ३१ सेप्टेम्बरको मूल्यअनुसार निगमले सवा दुई अर्ब हाराहारी नोक्सानी ब्यहोरेको थियो । अन्तराष्ट्रिय बजारअनुसार मूल्य समायोजन नहुँदा एक महिनाको नोक्सानी मात्रै ४ अर्ब ४४ करोड हाराहारी पुग्ने देखिएको निगमका प्रवक्ता उपाध्यायले बताए ।

‘इतिहासमै पहिलो पटक हामी उच्च पाक्षिक घाटाको अवस्थामा छौं । आगामी १५ दिनमा हाम्रो घाटा प्रक्षेपण २ अर्ब २२ करोड ६ लाख रुपैयाँ भन्दामाथि छ,’ प्रवक्ता उपाध्यायले भने, ‘अक्टोबर महिनाको मासिक नोक्सानी मात्रै ४ अर्ब ४४ लाख पुग्ने अनुमान गरिएको छ ।’

कुन वस्तुका कति घाटा ?

आईओसीले १६ अक्टोबरमा पठाएको नयाँ मूल्य सूचीअनुसार डिजेल, पेट्रोल, आन्तरिक तर्फको हवाई इन्धन र खाना पकाउने ग्यासमा घाटा हुने आयल निगमले जनाएको छ ।

प्रवक्ता उपाध्यायकाअनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ एक पैसा, डिजेलमा १४ रुपैयाँ १६ पैसा, आन्तरिक तर्फको हवाई इन्धनमा ४ रुपैयाँ ५६ पैसा र खाना पकाउने ग्यासमा ५११ रुपैयाँ ८८ पैसा प्रतिसिलिण्डर घाटामा छ । मटितेल र अन्तराष्ट्रिय हवाई इन्धनमा भने नाफा छ । तर यसले अरुको घाटा पूर्ति नगर्ने निगमले बताएको छ ।

कच्चा तेलको मूल्य दोब्बर बृद्धि

एक वर्षको अवधिमा अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दोब्बर बृद्धि भएको छ । गत वर्ष ३ नोभेम्बरमा प्रतिब्यारेल अमेरिकी डलर ३८.१७ रहेको तेलको मूल्य १६ अक्टोरको मध्य रातसम्म डलर ८४.८६ सेन्ट पुगेको छ ।

कच्चा तेलको मूल्य मापन गर्ने सूचकहरुलाई आधार बनाएर बुल्मबर्गले उल्लेख गरे अनुसार कच्चा तेलको मूल्य तीन वर्ष अघिको हालसम्मकै उच्च रेकर्ड नजिक पुगेको छ । सन् २०१८ को अक्टोबर ३ मा कच्चा तेलको प्रतिब्यारल अन्तराष्ट्रिय मूल्य ८५ डलर ४५ सेन्ट पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?