+
+

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते ८:५५

१ कात्तिक, धनगढी । कैलालीको भासु भीरमा पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । आइतबार साँझदेखि परेको वर्षाका कारण पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले जानकारी दिए ।

सोमबार राति करिब दुई बजेको समयमा गएको पहिरोले राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमका ७ पहाडी जिल्लाको यातायात सेवा ठप्प भएको उनले बताए । पहाडी जिल्लाबाट कैलाली र कञ्चनपुरसहित विभिन्न जिल्लाका लागि छुटेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने तराईबाट पहाड जाने सवारीसाधन पनि अलपत्र परेका छन् ।

अहिले गोदावरी नगरपालिकाको डोजरको सहायताले पहिरो पन्छ्याउने काम भइरहेकाले अझै राजमार्ग खुल्न कम्तीमा पनि डेढ घण्टा लाग्ने प्रहरी उपरीक्षक गौतमले बताए ।

उता अछामको चौरपाटी गाउँपालिकामा पनि पहिरोका कारण मुख्य राजमार्ग अवरुद्ध भएको छ । चौरपाटी गाउँपालिकाको दुनीमा अविरल वर्षापछि आएको पहिरोले राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ । अहिले त्यहाँ पनि डोजरको प्रयोग गरेर सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?