७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तथ्यका आधारमा आलोचना गर्न सुझाव दिएका छन् ।
शनिबार वडा अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्नेक्रममा एमाले अध्यक्ष ओलीले पटक-पटक मिति थप गर्दा पनि कांग्रेसले महाधिवेशन गर्न नसकेको भन्दै आलोचना गरेका थिए ।
ओलीको आलोचनाको जवाफमा आइतबार कांग्रेस प्रवक्ता शर्माले भने, ‘कांग्रेसले ५ बर्षभित्र महाधिवेशन गर्न सकेन भन्ने कमरेड केपी शर्मा ओलीको आलोचना स्वीकार्य छ, तर आलोचना गर्दा तथ्यको हेक्का नराख्नु भने लज्जास्पद !’
कांग्रेसले ५ बर्षभित्र महाधिवेशन गर्न सकेन भन्ने,
कमरेड @kpsharmaoli को आलोचना स्वीकार्य !आलोचना गर्दा तथ्यको हेक्का नराख्नु भने लज्जास्पद l कांग्रेसको ०७२ फागुनमा महाधिवेशन हुनु भन्दा २० महिना अघि एमालेको ०७१ असारमा भएको थियो महाधिवेशन l
कमरेड ! एक औंला यता बाँकी औँला त्यतै !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) October 24, 2021
उनले कांग्रेसको महधिवेशन हुनुभन्दा २० महिनाअघि एमाले महाधिवेशन भएको तथ्य नबिर्सन ओलीलाई आग्रह गरे । कांग्रेसको १३औं महाधिवेशन २०७२ फागुनमा सम्पन्न भएको थियो भने एमालेको ९औं महाधिवेशन ०७१ असारमा भएको थियो ।
सात वर्षपछि बल्ल एमालेले अधिवेशन गरिरहेका बेला कांग्रेसको आलोचना गर्नु शोभनीय नभएको शर्माको टिप्पणी छ । दल र राजनीतिमा परिवर्तनको खाँचो औंल्याउँदै उनले भने, ‘अधिवेशन आन्तरिक जीवनको विशेष अध्याय अनि दलहरूको रुपान्तरण आजको समयको एक महत्वपूर्ण कार्यभार हो । परिवर्तन दल र राजनीति समग्रतामा जरुरी छ । दल व्यवस्थापनको नवीन सुत्र र शैली आलोचनाले होइन आत्मालोचनाले खोजौं । खराबीमा होइन रुपान्तरणमा प्रतिस्पर्धा गरौं ।’
विधानको व्यवस्था अनुसार महाधिवेशन २०७६ फागुनमा हुनुपर्नेमा संविधानले दिएको पाँच वर्ष ६ महिनाको समय कटाउँदा पनि कांग्रेसले पार्टीको महाधिवेशन गर्न सकेको छैन । पार्टी वैधानिकता जोगाउन संवैधानिक समयसीमाभित्र वडा अधिवेशन शुरु गरेको कांग्रेसको महाधिवेशन भने अन्यौलमा छ ।
प्रतिक्रिया 4