+
+

सुदूरपश्चिममा पहिरोले बिगारेका सडक अझै खुलेनन्

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १३:२०

८ कात्तिक, धनगढी । केही दिनअघि भएको बेमौसमी वर्षाका कारण आएको पहिरोले अवरुद्ध बनेका सुदूरपश्चिमका चार जिल्लाका सडक अझै खुल्न सकेका छैनन् ।

डोटी, डडेल्धुरा, दार्चुला र बझाङका विभिन्न स्थानमा आएको पहिरोका कारण अवरुद्ध बनेको मुख्य राजमार्ग सञ्चालन हुन नसक्दा सर्वसाधारणले सास्ती खप्नुपरेको छ भने बाजुरामा चार महिनाअघि गएको पहिरोले सडक अवरुद्ध छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले डोटी र बझाङमा पहिरोका कारण सडक पूर्ण रुपमा ठप्प रहेको जानकारी दिए । उनकाअनुसार केआईसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ को रडुवाखोला र गजरौलाको बीच भागमा करिब एक सय मिटर सडक पहिरोले भाँसिएकाले यातायात सेवा पूर्ण रुपमा बन्द रहेको छ । सडक अवरुद्ध हुँदा डडेल्धुरासँगै तराईका कैलाली, कञ्चनपुरसहित अन्य पहाडी जिल्लासँग डोटीको यातायात सम्पर्क टुटेको छ । अहिले सडक खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

बाढी र पहिरोले बढी प्रभावित बझाङमा पनि पाँच ठाउँमा जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा सञ्चालन हुन सकेको छैन । जिल्लाको बित्थडचिर गाउँपालिका–२ को पैरा, केदारस्यु गाउँपालिका–१ को देउरा, नारिगौडा, छविसपाथिभरा गाउँपालिका–१ को जालीबगर, मौरीबगर र जयपृथ्वी नगरपालिका–७ को कचाली खोलामा सडक अवरुद्ध बनेको प्रहरी उपरीक्षक गौतमले बताए । उनकाअनुसार दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडीमा पनि करिब १२ मिटर सडक भासिएको छ भने अहिले खुलाउने कार्य जारी छ ।

बाजुरामा चार महिनादेखि सडक ठप्प

गत असारमा परेको अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध साँफे–मार्तडी सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । पहिरोले अवरुद्ध भएको साँफे–मार्तडी सडकखण्ड अन्तर्गतको अम्कोट क्षेत्रमा पुनः पहिरो जाँदा सडक खुल्न समय लाग्ने देखिएको छ । सोही सडकखण्डको बाजुगाड र बूढीगंगा नगरपालिका–३ को ताप्रिसेरामा समेत पहिरो गएपछि सडक अवरुद्ध हुँदा यातायता सेवा पूर्ण रुपमा बन्द भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार सडक खुलाउन पहिरो पन्छ्याउने काम भइरहेको छ तर यातायात सेवा सञ्चालनमा आउन अझै केही समय लाग्न सक्छ ।

लगातारको वर्षापछि सडक सञ्जाल अवरुद्ध हुँदा पहाडी जिल्लामा सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ भने जटिल प्रकृतिका बिरामीलाई अस्पतालसम्म पु¥याउन नसक्दा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ ।

डोटी र बझाङमा नेपाल एयरलाइन्सले उडान भर्दै

वर्षापछिको पहिरोले सडक अवरुद्ध भएपछि डोटी र बझाङमा नेपाल एयरलाइन्सले पनि हवाई सेवा सञ्चालनमा ल्याएको छ । धनगढीदेखि समिट एयरले यी दुईसहित सुदूरपश्चिमका पाँच पहाडी जिल्लामा हवाई सेवा दिँदै आएकोमा आइतबारदेखि नेपाल एयरलाइन्सले पनि सेवा सञ्चालनमा ल्याएको हो ।

पहाडी जिल्लामा पहिरोका कारण यातायात सेवा बन्द रहेकाले नेपाल एयरलाइन्सले सानो खालको विमानमार्फत सेवा सञ्चालन गरेको धनगढी विमानस्थल कार्यालयले जनाएको छ । धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले एउटा विमानमार्फत नेपाल एयरलाइन्सले दुवै जिल्लामा उडान भरिरहेको जानकारी दिए ।

‘आइतबारदेखि नेपाल एयरलाइन्सले हवाई सेवा सञ्चालनमा ल्याएको छ,’ भट्टले भने, ‘आइतबार दुवै जिल्लामा एउटा÷एउटा र सोमबार दुई/दुई उडान भरेको छ । अब दीर्घकालीन रुपमा सेवा सञ्चालन गर्ने योजना छ ।’

समिट एयरले पनि धनगढीबाट बैतडी, बझाङ, डोटी, बाजुरा र अछाममा धनगढीबाट उडान भर्दै आएको छ । नेपाल एयरलाइन्सले यात्रुको चापअनुसार अन्य जिल्लामा पनि सेवा सञ्चालन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?