+
+

बेमौसमी वर्षाले प्रदेश २ मा ४८ हजार हेक्टरको धानबालीमा क्षति

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १८:२९

११ कात्तिक, जनकपुरधाम । कात्तिकको शुरुवातमै आएको मुसलधारे बेमौसमी वर्षाका कारण प्रदेश २ मा लगाएको कुल धानखेतीमध्ये ११ प्रतिशतमा क्षति पुगेको छ ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निकालेको प्रारम्भिक तथ्यांक अनुसार कुल धानखेतीमध्ये ११ प्रतिशतमा क्षति पुगेको छ । यस्तै तरकारी, तोरी र केराखेतीमा पनि ठूलो क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

कात्तिक १ र २ गते भएको मुसलधारे वर्षाले खेतमा काटेर राखिएको धान डुबानमा परेको थियो । कतिपय धानलाई वर्षाका कारण आएको बाढीले बगाएको थियो ।

प्रदेश २ का ८ जिल्लामा ४ लाख ३ हजार १ सय ६४ हेक्टर जग्गामा यस वर्ष धानबाली लगाइएको थियो । यसमध्ये ४८ हजार ६ सय ८४ हेक्टर जग्गाको धानबालीमा क्षति पुगेको प्रारम्भिक तथ्यांक मन्त्रालयले निकालेको हो । ‘यो लगाइएको कुल धानबालीको ११ प्रतिशत क्षति हो,’ मन्त्रालयका सूचना अधिकारी मनिषकुमार पालले भने ।

सबैभन्दा बढी धानबालीमा क्षति सप्तरीमा भएको छ । मन्त्रालयका अनुसार सप्तरीमा ६६ हजार १ सय ५० हेक्टर जग्गामा धानबाली लगाइएकोमा १६ हजार ५ सय ३७ हेक्टर जग्गाको धानमा क्षति पुगेको छ ।

यसैगरी सिरहामा ५८ हजार हेक्टरमा धानबाली लगाइएकोमा ८ हजार ७ सय हेक्टर जग्गाको धानबालीमा क्षति पुगेको छ । धनुषामा ५८ हजार सय हेक्टरमा धानखेती गरिएकोमा ४ हजार ६ सय ८० हेक्टरमा, महोत्तरीमा ४५ हजार ५ सय हेक्टरमा खेती गरिएकोमा ३ हजार ७८, सर्लाहीमा ४३ हजार हेक्टरमा खेती गरिएकोमा ७ हजार ४० हेक्टरको धानमा क्षति पुगेको छ ।

यस्तै, रौतहटमा ३८ हजार ७ सय ५० हेक्टर जग्गामा धानबाली गरिएकोमा ३ हजार १ सय ५५ हेक्टर, बारामा ५८ हजार २ सय १४ हेक्टर जग्गामा खेती गरिएकोमा ४ हजार ९ सय ९४ हेक्टर र पर्सामा ३५ हजार ५० हेक्टर खेतमा धानबाली लगाइएकोमा ५ सय हेक्टर जग्गाको धानबालीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिशतको आधारमा हेर्ने हो भने सप्तरीमा २५, सिरहामा १५, धनुषामा ८, महोत्तरीमा ७, सर्लाहीमा १६, रौतहटमा ८, बारामा ९ र पर्सामा २ प्रतिशत धानमा क्षति पुगेको छ ।

सप्तरीका ५० प्रतिशत केरामा क्षति

मन्त्रालयले निकालेको तथ्यांक अनुसार सप्तरीमा गरिएको केराखेतीमध्ये ५० प्रतिशतमा क्षति पुगेको छ । जिल्लाका ८ सय ९० हेक्टर जग्गामा लगाइएको केराबाली नष्ट भएको छ ।

सप्तरीमै १ हजार ५ सय ५७ हेक्टर जग्गामा लगाइएको तरकारी र १ हजार १४ हेक्टर जग्गामा लगाइएको अन्यबाली बर्षाले क्षति गरेको छ ।

सिरहामा २ हजार ३ सय हेक्टर जग्गामा लगाइएको तरकारी, बारामा ३ सय ८९ हेक्टर जग्गामा लगाइएको तरकारी, ३५ हेक्टर जग्गामा लगाइएको तोरी, पर्सामा १० हेक्टर जग्गामा लगाइएको तरकारी, ४ सय हेक्टर जग्गामा लगाइएको तोरी र २ सय हेक्टर जग्गामा लगाइएको मसुरोलाई कात्तिकको शुरुवातमा आएको वर्षाले क्षति पुर्‍याएको देखिएको मन्त्रालयले जनाएको छ ।

यो प्रारम्भिक विवरण कृषि ज्ञान केन्द्रहरुले उपलब्ध गराएको जनाउँदै सूचना अधिकारी पालले स्थानीय तहहरुलाई पनि क्षतिको विवरण उपलब्ध गराउन आग्रह गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?