
११ कात्तिक, काठमाडौं । नयाँ बानेश्वर चोकमा आकाशेपुल निर्माण भएर सञ्चालन भएको तीन हप्ता बितेको छैन । तर, आकाशेपुलको सुरक्षाको सन्दर्भमा प्रश्न उब्जिएको छ ।
काठमाडौंमा सबैभन्दा धेरै पैदलयात्रुको चाप हुने स्थानमा बनेको स्टिल स्ट्रक्चरको आकाशेपुलका कतिपय भागका ‘प्लेट’मा नटबोल्ट कसिएको छैन । कतिपय प्लेटका ‘प्वाल (होल)हरु त्यसै खाली छाडिएका छन् ।
स्ट्रक्चरल इन्जिनियर डा. राज सुवाल समान्यतयाः यस्तो स्ट्रक्चरको सबै ‘होल’हरुमा नटबोल्ट कसिनुपर्ने बताउँछन् । कतिपय अतिरिक्त होलहरु बनाइएको हुनसक्ने भएपनि होलहरु खुला छोड्न नहुने उनको तर्क छ ।
‘प्वाल खुला छाड्दा सुरक्षामाथि प्रश्न जन्मिन्छ,’ उनले भने,‘प्वाल खुला छोड्न नहुने मात्रै हैन, त्यसमा नट बोल्ट कतिसम्म कस्ने भन्नेसम्मको मापदण्ड हुन्छ ।त्यसअनुसार काम भएको हुनुपर्छ ।’
नयाँ बानेश्वर चोकदेखि पश्चिमतर्फ करिब ५० मिटर टाढा बनाइएको यो आकाशे पुल निर्धारित समयभन्दा करिब एक वर्ष ढिला गरेर तयार भएको थियो ।
सडक विभाग अन्तर्गतको काठमाडौं सडक डिभिजन कार्यालयले करिब ३ करोड रुपैयाँको लागतमा यो पुल निर्माण गरेको हो । यो आकाशेपुल ‘मुभेबल’ अर्थात् भविष्यमा खोलेर अर्को स्थानमा लैजान सकिने खालको छ ।
प्रतिक्रिया 4