१२ कात्तिक, जनकपुरधाम । महोत्तरीमा बोक्सोको आरोपमा एक पुरुषमाथि कुटपिट गर्दै मलमूत्र खुवाएको घटना बाहिर आएको छ ।
जिल्लाको औरही नगरपालिकाका-९ निवासी ५५ वर्षीय रुपसी ठाकुर लोहारलाई स्थानीय व्यक्तिहरुले बोक्साको आरोप लगाएर कुटपिट गर्दै मलमूत्र खुवाएको घटना बाहिर आएको हो ।
ठाकुरको घरमै पुगेर स्थानीय रामशिला देवी मण्डल, उनका छोरा रामकृष्ण मण्डल, सोही ठाउँकी सुखियादेवी र उनका छोरा कृष्ण मण्डलसहितकाले कुटपिट गरेको महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश बिष्टले बताए ।
‘कुटपिट गर्दै ठाकुरलाई मलमूत्र पनि खुवाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ बिष्टले भने, ‘कुटपिटमा संलग्न एक जनालाई नियन्त्रणमा लिएर थप अनुसनधान गरिरहेका छौं ।’
प्रहरीका अनुसार कुटपिटमा संलग्न रामशिलादेवीलाई नियन्त्रणमा लिइएको छ । अन्यको पनि खोजी भइरहेको उनले बताए ।
के थियो कारण ?
कुटपिटको शिकार भएका ठाकुर र रामशिलाका पति पहिला सँगसँगै काम गर्थे । उनीहरु दुवै जना सँगै बसेर रक्सी पनि पिउने गर्थे । दशैंको केही दिन अगाडि दुवै जनाले रातिको समयमा रक्सी पिएका थिए । त्यसको भोलिपल्ट रामशिलाका पतिको मृत्यु भयो ।
पतिको मृत्युपछि गत कात्तिक १० गते उनका छोरा मोटरसाइकल दुर्घटनामा परेका थिए । यो दुई घट्ना ठाकुरले नै टुनामुना लगाएर गराएको भन्दै रामशिलाले घरमै गएर ठाकुरमाथि कुटपिट गरेको देखिएको प्रहरीले जनाएको छ ।
‘पतिको मृत्यु र छोराको दुर्घटनापछि रामशिलादेवी अन्धविश्वासमा परी टुनामुना गरेको भन्दै उनको घरमै पुगेर कुटपिट गरेको देखिएको छ,’ उनले भने, ‘घट्नाबारेमा थप अनुसन्धान भइरहेको छ ।’
प्रतिक्रिया 4