
१२ कार्तिक, बुटवल। मानव अधिकार तथा शान्ति समाजले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेको छ ।
समाजका केन्द्रीय सभापति गोविन्द खनालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश राणाको न्यायिक आचरणमाथि प्रश्न उठेको र पछिल्लो चरणमा नैतिक रुपमा झनै च्युत भएकाले शीघ्र राजीनामा दिन माग गरेका हुन् ।
प्रधानन्यायाधीश जबराको राजीनामा नदिने अडानका कारण न्यायिक क्षेत्रमा असामान्य परिस्थिति सिर्जना भएको र यस्तो अवस्था उत्पन्न हुनु दुर्भाग्यपूर्ण भएको भन्दै समाजले शीघ्र राजीनामा नदिए लोकतान्त्रिक पद्धति र न्यायिक प्रणालीका लागि घातक हुने औंल्याएको छ ।
‘यो असामान्य अवस्थालाई सामान्यिकरण गर्ने प्रमुख दायित्व प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराको भएको हुँदा प्रधानन्यायाधीशले शिघ्र राजिनामा दिई निकास दिन मानव अधिकार तथा शान्ति समाज आग्रह गर्दछ’–विज्ञप्तिमा भनिएको छ-‘प्रधानन्यायाधीशले राजिनामा नदिएको खण्डमा महाअभियोगको प्रक्रिया अघि बढाई बर्हिगमन सुनिश्चित गर्न संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतक दलहरुलाई शान्ति समाज आग्रह गर्दछ।’
यसैगरी न्यायिक क्षेत्रमा विद्यमान विकृतिहरु अन्त्य गर्न शुद्धिकरणका लागि सबै क्षेत्रबाट व्यापक पहल हुनुपर्ने समाजको धारणा छ । न्यायिक क्षेत्रमा विद्यमान विकृतिहरु उत्पन हुनुका पछाडि लामो समयदेखि हुँदै आएको अस्वस्थ अभ्यास, तिव्र राजनीतिकरण, विचौलियाको विगविगिदेखि अनेकौ कारणहरु रहेका र यसमा प्रमुख राजनीतिक दलहरु पनि जिम्मेवार रहेका समाजले औंल्याएको छ ।
‘प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजिनामा-बर्हिगमन न्यायिक क्षेत्रमा शुद्धिकरणको पहिलो पाइला हुन सक्छ । त्यसपछि राजनीतिक पहुँचको आधारमा नियुक्त भएका अन्य न्यायाधीशहरुको बर्हिगमन पनि त्यत्तिकै आवश्यक छ ।
यसैगरी न्यायालयमा राजनीतिक स्वार्थप्रेरित नियुक्ति लगायत राजनीतिक दलहरुले गरेको गम्भीर त्रुटिका बारेमा पनि सार्वजनिक बहस प्रारम्भ गरि भविष्यमा त्यस्तो गम्भीर त्रुटि नदोहोरिने प्रक्रिया सुनिश्चित गर्नुपर्छ’-विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया 4