+
+

आन्दोलनमा घुसपैठ गर्न कालो कोट बाँडियो : बार अध्यक्ष श्रेष्ठ

‘बाहिरका केही मान्छेहरुलाई कालो कोट भिराएर आन्दोलनमा पठाउने र घुसपैठ गरेर प्रधानन्यायाधीशको समर्थनमा भिडन्तको अवस्था सिर्जना गर्न खोजिएको सूचना आएको छ’ बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने ।

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १३ गते २०:०९

१३ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबारदेखि शुरु हुने कानून व्यवसायीहरुको आन्दोलनमा घुसपैठ गर्ने प्रयास भएको आरोप लगाएका छन् ।

शनिबार पत्रकारसँग कुरा गर्दै उनले आन्दोलनमा घुसपैठ गर्न कानून व्यवसायमा नरहेका व्यक्तिलाई कालो कोट बाँडेको आफूहरुलाई जानकारी आएको बताए ।

‘बानेश्वरको एक ठाउँमा कोट बाँडिएको भन्ने हामीले सूचना पाएका छौं । बाहिरका केही मान्छेहरुलाई कालो कोट भिराएर आन्दोलनमा पठाउने र घुसपैठ गरेर प्रधानन्यायाधीशको समर्थनमा भिडन्तको अवस्था सिर्जना गर्न खोजिएको सूचना आएको छ’ बार अध्यक्ष श्रेष्ठले भने, ‘हाम्रो आन्दोलनलाई शान्तिपूर्ण रुपमा अघि बढाउन र घुसपैठको प्रयास नगर्न म सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछु ।’

उनले आइतबारको कार्यक्रममा सहभागी हुने कानून व्यवसायीलाई कालो कोट, लोगो र परिचयपत्रसहित उपस्थित हुन आग्रह गरिएको पनि बताए । बारका अर्का एक पदाधिकारीका अनुसार, शुक्रबार नै प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा आफ्नो कार्यकक्षमा नै केही कानून व्यवसायीहरुलाई भेटेका थिए । तीमध्ये केही यसअघि चार पूर्वप्रधानन्यायाधीश विरुद्ध मुद्दा दर्ता गर्ने र बहस गर्नेहरु थिए ।

बार अध्यक्ष श्रेष्ठले कालो कोटको आवरणमा बाहिरिया व्यक्तिहरु घुसपैठ गरेर आन्दोलनमा मुठभेडको स्थिति निम्त्याएमा न्यायालयको अहिलेको नेतृत्वका लागि प्रत्युत्पादक हुने चेतावनी पनि दिए । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग राखेर आइतबारदेखि विरोधका कार्यक्रम शुरु गर्दैछ । आइतबार सर्वोच्च अदालत परिसरमा कालो पट्टी बाँधेर प्रदर्शन गर्ने बार एशोसिएसनको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?