+
+

जरायो मार्नेलाई ५०० मात्रै जरिमाना !

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते १०:३४

१७ कात्तिक, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा ट्रकको ठक्करबाट जरायोको मृत्यु भएको घटनामा ट्रकका चालक र सहचालकलाई जनही पाँच सय रुपैयाँ जरिमाना तिराएर छाडिएको छ ।

यसअघि बोलेरो गाडीको ठक्करबाट चित्तलको मृत्यु हुँदा डिभिजन वन कार्यालयले चालकलाई १३ हजार रुपैयाँ धरौटीमा रिहा गरेको र गाडी नियन्त्रणमा लिएको तर उस्तै प्रकृतिको घटनामा निकुञ्जले पाँच सय रुपैयाँ मात्रै जरिमाना तिराएर छाडेको हो ।

यही कात्तिक ५ गते निकुञ्जको मध्यवर्ती क्षेत्र सुनाचुरीको जंगलमा ना ५ ख २६६४ नम्वरको ट्रकले ठक्कर दिँदा वयस्क जरायो मरेको थियो । ठक्कर दिने ट्रक, त्यसका चालक बारा गढिमाई नगरपालिका-५ फत्तेपुरका ४८ वर्षीय तेजनारायण राम र सहचालक धादिङ रोराङ गाउँपालिका-७ का २८ वर्षीय दिलबहादुर सेढाईलाई नियन्त्रणमा लिई जनही ५०० रुपैयाँ जरिमाना लिएर छाडिएको निकुञ्जका सूचनाअधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को ३ मा वन्यजन्तु मारेमा २० देखि ५० हजार रुपैयाँसम्म वा ६ महीनादेखि १ वर्षसम्म कैद वा दुबै हुने व्यवस्था छ । यसअघि पनि निकुञ्जले सोहीअनुसारको जरिमाना गराउने र मुद्दा चलाउने गर्दै आएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले आकस्मिक दुर्घटना मात्रै भएकाले कम जरिमाना लिइएको दावी गरेका छन् । तर निकुञ्जका अधिकारी राजनीतिक दबाव र प्रभावमा पर्दा कम जरिमाना तिराएर छाड्ने गरिएको निकुञ्जका एक पूर्वकर्मचारीले बताए ।

चितल मार्नेसँग १३ हजार धरौटी, बोलेरो गाडी नियन्त्रणमा

यही कात्तिक २ गते पूर्व-पश्चिम राजमार्गअन्तर्गत भरतपुरको टिकौली जंगलमा बा १० च २७९४ नम्बरको बोलेरो गाडीको ठक्करबाट एउटा चित्तलको मृत्यु हुँदा डिभिजन वन कार्यालय भरतपुरले १३ हजार रुपैयाँ धरौटी राखेर चालकलाई छाडेको थियो । गाडी अझै वन कार्यालयकै नियन्त्रणमा छ ।

दूध बोकेर टाँडीतर्फ जाँदै गरेको भिजन सप्लायर्सको नाममा रहेको बोलेरो गाडीले ठक्कर दिंदा करिब डेढ वर्षको भाले चित्तल मरेको थियो ।

चित्तल मरेपछि गाडी र चालकलाई सोही दिन नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय भरतपुरको मुद्दा शाखाका नासु यज्ञकुमार सापकोटाले जानकारी दिए । गाडी चालक भरतपुर महानगरपालिका-२ बस्ने मेघबहादुर तामाङ सोही दिन १३ हजार रूपैयाँ धरौटी तिरेर छुटेको उनले बताए ।

गाडी अझै पनि वनको नियन्त्रणमा छ । गाडी र गाडी चालकविरूद्ध कात्तिक ७ गते मुद्दा दर्ता गरिएको सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?