१७ कात्तिक, काठमाडौं । अधिवक्ता टीकाराम भट्टराईले आन्दोलनको आधिबेहरीले हटाउनुभन्दा अघि नै राजीनामा दिएर सहज बहिर्गमनको बाटो रोज्न प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई सुझाव दिएका छन् ।
प्रधानन्यायाधीश जबराले राजनीतिक दलको नेताले बोलेजसरी सडकले माग्दैमा राजीनामा दिँदैन भनेको भन्दै भट्टराईले नैतिक र जनआस्थामा टिकेको पदमा आसिन व्यक्तिले त्यसो भन्न नमिल्ने बताए ।
नेपाल बार एशोसिएसनले बुधबार सर्वोच्च अदालत परिसरमा आयोजना गरेको विरोध कार्यक्रममा अधिवक्ता भट्टराईले भने, ‘देशभरका अदालतमा बाक्सा राखौं । १९ जना न्यायाधीशका बिचमा बाक्सा राखौं । उहाँको चुनाव क्षेत्र कानुन व्यवसायी र १९ जना न्यायाधीश हो । यो जनमत चोलेन्द्रको पक्षमा आउँछ कि विपक्षमा ? हामी तयार छौं ।’
नैतिक र भौतिक रूपले चुनाव हारिसकेकाले जबराले पदबाट राजीनामा दिनुपर्ने उनले बताए ।
अधिवक्ता भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमसेरले पदबाट राजीनामा दिनुपर्नाका १२ कारण पनि प्रस्तुत गरेका छन् । ती कारणहरु यस्ता छन् –
१. न्यायमा अवरोध सिर्जना गरेको
२. पारदर्शी रुपमा पेशी नतोकेर स्वेच्छिक पेशी तोकेको
३. न्यायिक विचलनलाई प्रोत्साहन गरेको
४. सहकर्मीको सम्पूर्ण विश्वास गुमाएको
५. न्याय प्रशासन र न्याय सम्पादन स्वच्छ ढंगले चलाउन नसकेको
६. विचौलियाको दबाब र प्रभाव हटाउन नसकेको
७. राजनीतिज्ञले जस्तो शक्तिको राजनीति गरेको
८. नियुक्ति र सरूवा विनाआधार मनलाग्दी ढंगले गरेको
९. भ्रष्टाचार र बेथिति मौलाएको
१०. विचाराधीन मुद्दामा अन्तर्वार्ता मार्फत् बचाउ गरेको
११. स्वार्थ बाझिएका मुद्दा आफैं हेरेको
१२. आफन्त र नातागोता र निकटलाई चलखेल गर्दा निरूत्साहित गर्नुसट्टा प्रोत्साहित गरेको ।
प्रतिक्रिया 4