+
+

वीरगञ्ज-पथलैया ६ लेन सडकमा ढिलासुुस्ती र लापरबाही

सुरेश बिडारी सुरेश बिडारी
२०७८ कात्तिक १९ गते १४:३९

२० कात्तिक, वीरगञ्ज । निर्माणाधीन सडकबाट उडेको धुलो नियन्त्रण नगरेको भन्दै असोज २४ गते बाराको परवानीपुरका बासिन्दाले आधा घण्टा सडक अवरुद्ध पारे । निर्माणाधीन सडकको धुलो नियन्त्रण नगर्दा बजार क्षेत्रका पसल, घरहरु धुलाम्य छन् ।

बाराको पथलैयादेखि वीरगञ्जको एकीकृत भन्सार जाँच चौकी (आईपीसी) सम्मको ३१ दशमलव २८ किलोमिटर सडक ८ वटा प्याकेजमा ठेक्का लगाएर कालोपत्रे गर्ने काम भइरहेको छ । तर समयमा निर्माण नसकिँदा मालबाहक ट्रक, बस धेरै चल्ने यो सडकको परवानीपुर बजार क्षेत्रमा घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्या छ ।

परवानीपुर–३ लिपनीका चन्देश्वर यादव भन्छन्, ‘एक दिन पानी हाल्यो भने पाँच दिन हाल्दैन, न सडक नै समयमा बनाउँछ, पानी हालेर काम गर्नु, खाल्डा खुल्डी पुर्नु भन्दा ठेकेदारले वास्तै गर्दैनन्, अरु सरोकारवाला निकाय पनि कानमा तेल हालेर बसे जस्तो लाग्छ ।’

वीरगञ्ज महानगरपालिका–२१ का अध्यक्ष हबिब मियाँ सडक नबन्दा दिन दिनै जनताको गाली सुन्नुपरेको बताउँछन् । ‘सडक आयोजना कार्यालय र ठेकदारको लापरबाहीले नबन्ने, जनताको गाली हामीले सुन्नुपर्ने स्थिति छ,’ उनले भने, ‘पटक पटक काम गरिदिनुस् भनेर अनुरोध गर्दा पनि सुनुवाइ हुँदैन ।’

सडकको दुरावस्थाका कारण बाराको जीतपुरका बासिन्दा पनि आजित छन् । स्थानीय युवक राजुराज गिरी छिटो सडक बनाउन आग्रह गरेपनि सरोकारवाला कानमा तेल हालेर बसेको बताउँछन् । ‘ठेकदार काममा ढिलासुस्ती र लापरबाही गर्छ । सर्वसाधारणले धुलो खानुपर्छ’ उनले भने ।

दशैं अगाडि नै निर्माण कम्पनीले तीन महिनाभित्र सक्ने प्रतिवद्धता जनाए पनि कामले गति लिन नसकेको उनको भनाइ छ ।

व्यापारिक मार्ग विस्तार योजना (वीरगञ्ज–पथलैया सडक) पथलैयाले भने धेरैजसो प्याकेजको काम अन्तिम चरणमा पुगेको दावी गरेको छ । कालोपत्रे गर्दा सडक सुख्खा हुनुपर्ने भएकोले बेमौसमी वर्षाले समस्या पारेको आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सम्पत लाल दासले बताए । छठपछि कामले गति लिने र चैत मसान्तअघि सडक बनिसक्ने दावी इन्जिनियर दासको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवालले निर्माण कम्पनीका प्रतिनिधि र योजना कार्यालयलाई बोलाएर छिटो काम गर्न निर्देशन दिइसकेका छन् । ‘कहाँनेर समस्या छ सुरक्षा दिएर हुन्छ कि कसरी हुन्छ ? समाधान गर्न तयार छु,’ उनले भने, ‘तर कामले गति लिनुपर्छ, नागरिकले धेरै दिन सास्ती पाउनुहुन्न ।’

म्याद सकियो, काम सकिएन

यो सडक खण्डको ८ प्याकेजमध्ये पहिलो प्याकेज वीरगञ्ज परवानीपुरदेखि गण्डक नहरसम्मको हो । ३.९२ किलोमिटर लामो सडक बनाउने जिम्मा एएमआर/पप्पु/कनटेक जेभीले लिएको छ । वि स.२०७३ असार २९ गते ठेक्का सम्झौता भएको यो खण्ड ०७७ असोज २२ गतेसम्म काम सक्नुपर्नेमा हालसम्म ६० प्रतिशत मात्रै काम सकिएको छ ।

५७ करोड ५६ लाख ६१ हजार १ सय ८ रुपैयाँमा ठेक्का लिएको कम्पनीले ३० करोड ५५ लाख ७८ हजार ३ सय ८८ रुपैयाँ ९१ पैसा लिइसकेको छ । निर्माण कम्पनीबीचको आपसी विवाद देखिँदा म्याद थपका लागि आवश्यक कागजात दिन नसकेको व्यापारिक मार्ग विस्तार योजना कार्यालयले जनाएको छ । काम नगरेकोले बैंक ग्यारेन्टी जफत गर्न खोज्दा अदालतले जफत नगर्न अन्तरिम आदेश दिएको छ ।

दोस्रो प्याकेज, गण्डक नहरदेखि हरपतगञ्जसम्म ३.५ किलोमिटरको छ । श्रेष्ठ/विरुवा/एपेक्स जेभीले .२०७३ असार २९ गते ठेक्का लिएको यो खण्ड ०७७ असार ३१ सम्म सम्पन्न हुनुपर्ने हो । तर काम नसकिएपछि ०७७ पुस २६ सम्म म्याद थप गरिएको छ ।

५३ करोड ७५ लाख ५ हजार ७ सय रुपैयाँ १८ पैसा लागत रहेकामा ठेकेदारले ४६ करोड ६० लाख ८७ हजार ६ सय १६ रुपैयाँ ०५ पैसा बुझिसकेको छ । चैत मसान्तभित्र काम सक्ने प्रतिवद्धता जनाएपछि कारबाही प्रक्रिया अघि नबढाइएको सूचना अधिकारी इन्जिनियर सम्पत्र दास बताउँछन् ।

तेस्रो प्याकेज, हरपतगञ्ज चोकदेखि ड्राइपोर्टसम्मको ३.५ किलोमिटर खण्ड हो । एकै समयमा ठेक्का लागेको यो खण्ड बनाउने जिम्मा पप्पु÷लुम्बिनी जेभीले लिएको छ । ५४ करोड ७० लाख ६४ हजार ८३ रुपैयाँ ३० पैसामा ठेक्का लागेको योजनाको ६६ प्रतिशत काम भएको छ ।

ठेकेदार कम्पनीले ३५ करोड ४० लाख ८३ हजार ५ सय ३६ रुपैयाँ ६२ पैसा भुक्तानी लिइसकेको छ । यो खण्ड निर्माण अवधि म्याद थप गरेर ०७८ साउन १९ गतेसम्म पुर्‍याइएको छ ।

चौथो र छैठौं प्याकेज एमआर/कनटेट जेभीले ठेक्का लिएको छ । चौथो प्याकेज पथलैया चोकदेखि सूर्यटोबाको कम्पनीसम्म ४.५६ किलोमिटरको करिब ९४ प्रतिशत काम सकिएको छ । ६९ करोड ४४ लाख ५७ हजार २ सय ८९ रुपैयाँ ७३ पैसामा ठेक्का लागेकामा ठेकेदार कम्पनीले ६९ करोड ५१ लाख ६४ हजार ५ सय २ रुपैयाँ ९० पैसा बुझिसकेको छ ।

छैठौं प्याकेज जीतपुर आर्मी क्याम्पदेखि परवानीपुरसम्म ५.१६ किलोमिटरमा ८० प्रतिशत काम सकिएको छ । ७६ करोड ३७ लाख ५ हजार ८ सय ३० रुपैयाँ ४१ पैसामा ठेक्का लागेकामा ठेकेदार कम्पनीले ६४ करोड ६८ लाख ४ हजार ८ सय ७२ रुपैयाँ २६ पैसा बुझिसकेको छ । ०७७ मंसिर २७ गतेसम्म काम सम्पन्न गरिसक्नुपर्ने एक वर्ष नघिसक्दा पनि काम सकिएको छैन ।

दुवै ठेक्कामा स्ट्रिट लाइटमा लाइन सप्लाइको काम काम बाँकी रहेको सूचना अधिकारी इन्जिनियर दास बताउँछन् । ‘पथलैया, सिमरा, टेलिकम कार्यालय अगाडि डिजिटल ट्राफिक सिस्टम जडान गरिसकेको छ,’ उनले भने, ‘विद्युत महसुल सडक कार्यालयले तिर्ने कि स्थानीय सरकारले भन्ने टुंगो लाग्न सकेको छैन ।’

ठूलो प्याकेजमै ढिलासुस्ती

पाँचौं प्याकेज, सिमरास्थित सूर्य टोबाको कम्पनीदेखि जीतपुरस्थित आर्मी क्याम्पसम्म ५.८० किलोमिटरको हो । शर्मा÷युनाइटेड विल्डर्स÷दिवा निर्माण सेवा जेभीले ठेक्का लिएको यस खण्डको ५५ प्रतिशत काम मात्र सकिएको छ ।

८२ करोड ४५ लाख ६९ हजार १ सय १ रुपैयाँ २९ पैसामा निर्माण सम्झौता गरेको कम्पनीले ५ करोड ७५ लाख ७९ हजार ७ सय ९८ रुपैयाँ ६१ पैसा लिइसकेको छ ।

पहिलो ८ महिनामा २५ प्रतिशत, दोस्रो ८ महिनामा ५० प्रतिशत र बाँकी काम अर्को ८ महिनामा सकाउनुपर्ने गरी ठेक्का लगाइएको थियो । सम्झौता अनुसार काम नगरेपछि आयोजना कार्यालयले ७ करोड २० लाख मोबिलाइजेसन वापतको रकम समेत जफत गरेको छ ।

०७७ माघ ११ गते किन काम नगरेको भनेर सूचना नै निकालेर ठेकेदार कम्पनीसँग स्पष्टीकरण सोधेको छ । ०७८ वैशाखको पहिलो हप्तासम्ममा कालोपत्रे गर्छु भनेर प्रतिवद्धता गरे पनि कम्पनीले काम नगरेको आयोजना कार्यालयको भनाइ छ । ०७७ माघ २८ मा नै म्याद सकिएको यो सडक खण्डमा निर्माण कम्पनीले तिनुपर्ने जरिवाना १ करोड ६० लाख पुगिसकेको छ ।

‘जेभी भएपनि युनाइटेडले कामको जिम्मा लिएको थियो । उसले आर्थिक समस्या देखाएर काम गरेन, शर्माले टेकओभर गरेर काम शुरु गरेको छ,’ इन्जिनियर दासले भने, ‘जीतपुरस्थित आर्मी ब्यारेक तिर बेसको काम गरेको छ । जनशक्ति पनि खटाएको छ । प्रगति राम्रै देखिएको छ ।’

छठपछि काममा थप गति दिने र चैतभित्रै सकाउने वाचा निर्माण कम्पनीले गरेको इन्जिनियर दासले सुनाए ।

७ औं र अन्तिम प्याकेज अन्तिम चरणमा

परवानीपुरदेखि गण्डक चोकसम्मको सातौं प्याकेज ४.२४ किलोमिटर लामो छ । दिवा सपना जेभीले ०७४ मंसिर ६ गते ४५ करोड ९१ लाख ३३ हजार ६ सय ७ रुपैयाँ ६१ पैसामा ठेक्का हात पारेको थियो । कम्पनीले ४५ करोड १२ लाख २३ हजार ८ सय ५७ रुपैयाँ २८ पैसा बुझिसकेको छ ।

०७८ साउन २ सम्म म्याद थप गरिएकामा काम सकिएको छैन । परवानीपुरचोकदेखि ४ सय मिटरमा जग्गा विवाद छ । ५ वटा विद्युतको पोल सार्न सकिएको छैन । मेन लेन, सर्भिस लेनको काम बाँकी छ । सिर्सिया नदीदेखि ४ सय मिटर दक्षिणसम्म सिक्स लेन र त्यसपछि गण्डकसम्म फोर लेन सडक बनाउने जिम्मा निर्माण कम्पनीको छ । परवानीपुर बजार यही सडक खण्डमा पर्छ ।

अन्तिम प्याकेज ड्राइपोर्टदेखि आईसीपीसम्मको ६ सय मिटर खण्ड हो । शुरुमा पप्पु कन्स्ट्रक्सनलाई जिम्मा दिँदा कामले खासै गति लिन सकेन । २०७६ वैशाख २५ गते रमन महावीर जेभीले ठेक्का लियो । तर उसले पनि काम सम्पन्न गर्नुपर्ने म्याद गुज्रिसकेको छ ।

०७७ असार ३१ गते काम सम्पन्न गर्नुपर्नेमा हालसम्म ६१ प्रतिशत मात्रै काम भएको छ । ११ करोड ६२ लाख १ हजार ८ सय ३२ रुपैयाँ ४२ पैसाको ठेक्कामा कम्पनीले ८ करोड ११ लाख ५४ हजार ५ सय ६३ रुपैयाँ ५९ पैसा लिइसकेको छ ।

योजना कार्यालयका अनुसार काम लगभग सकिएको छ । पेन्टिङको काम बाँकी छ, योजनाको म्याद फागुनसम्म थप गर्न सिफारिस गरिएको छ । पानी निकास गर्न खोजिएको जमिन व्यक्तिको नाममा परेपछि एउटा कल्भर्ट निर्माणको काम रोकिएको छ । हुलाकी राजमार्गसँग समन्वय गरेर समस्या समाधानका लागि पहल भइरहेको सूचना अधिकारी इन्जिनियर सम्पत दासले बताए ।

सडक तयार नहुँदा कन्टेक लुम्बिनी जेभीले पथलैयादेखि ड्राइपोर्टसम्म नालीको कभर राख्न र सडक बत्ती राख्न पाएको छैन । योजना कार्यालयले त्यसका लागि ०७४ फागुन २७ गते १६ करोड २२ लाख २९ हजार ३ सय ९३ रुपैयाँ ५५ पैसामा ठेक्का लगाएको थियो ।

९ करोड १० लाख ३३ हजार ४ सय १ रुपैयाँ ७८ पैसा कम्पनीले बुझिसकेको छ । ०७७ चैत २७ गतेसम्म काम गर्ने म्याद छ । अर्को योजनासँग भर पर्नुपर्ने काम भएकोले उसको काम हुन नसकेको योजना कार्यालयले जनाएको छ ।

पुलको काम पनि अधुरै

सिक्स लेन सडक खण्डमा तीन वटा पुल र एउटा कल्भर्टको काम पनि अधुरै छ । जीतपुर र सिमरालाई जोड्ने लालका खोलामा इलाइट-एसबीए जेभीले पुल बनाउने जिम्मा पाएको छ ।

०७४ माघ २६ गते ३३ करोड ५२ लाख ४ हजार ७ सय ९३ रुपैयाँ ५८ पैसामा ठेक्का लागेको यो पुल ०७८ साउन २० गतेसम्म तयार हुनुपर्नेमा ८८ प्रतिशत काम सकिएको छ । निर्माण कम्पनीले ३१ करोड १३ लाख ७९ हजार ३ सय ५८ रुपैयाँ ८४ पैसा भुक्तानी लिइसकेको छ ।

परवानीपुर चौक र परवानीपुर ड्राइपोर्ट खण्ड गरीे सिर्सिया नदीको दुई ठाउँमा पुल बनाउने जिम्मा लु्म्बिनी मृत सञ्जिवनीले लिएको छ । ०७४ माघ २४ गते ठेक्का लिएको उसले ०७८ साउन २० गतेसम्म काम सक्नुपर्ने हो । तर दुवै पुलको काम अधुरै छ ।

परवानीपुर चोकस्थित पुलको काम ३० करोड ९२ लाख ७१ हजार ९ सय ४० रुपैयाँ २९ पैसा लागत रहेकामा ठेकेदार कम्पनीले २६ करोड ९६ लाख ५५ हजार १ सय ५६ रुपैयाँ भुक्तानी लिइसकेको छ ।

अर्को योजनामा २६ करोड ३९ लाख २२ हजार १ सय ७७ रुपैयाँ ४४ पैसा लागत रहेकामा ठेकेदारले २३ करोड ६ लाख ४५ हजार ३ सय ३० रुपैयाँ ५८ पैसा बुझिसकेको छ, तर काम अलपत्र छ ।

परवानीपुर ड्राइपोर्ट खण्डमा पर्ने गण्डक नहरमा बक्स कल्भर्ट बनाउने जिम्मा एमएस सपना निर्माण सेवाले पाएको छ । ०७६ वैशाख १ गते १० करोड ३५ लाख ७४ हजार ८ रुपैयाँ ९७ पैसामा ठेक्का लागेकामा २०७७ असार ३१ गतेभित्र काम सम्पन्न भइसक्नुपर्ने थियो । तर हालसम्म ६१ प्रतिशत मात्र काम सकिएको छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?