
त्रिभुवन विश्वविद्यालयले धानेको उच्च शिक्षाको जिम्मेवारी हालैका दशकमा थप केही विश्वविद्यालयले समेत वहन गर्दै आएका छन् । यसो भएतापनि यसबाट राष्ट्रिय आवश्यकताको सन्तोषजनक परिपूर्ति भइसकेको छैन ।
एकातिर उच्च शिक्षाको निम्ति ठूलो मात्रामा राष्ट्रिय स्रोत बाहिरिइरहेको छ भने अर्कोतिर शिक्षित वर्ग देश बाहिरै रोजगारीमा व्यस्त रहँदा हाम्रो लगानी र आवश्यकता परिपूर्ति बीच तालमेल नहुने क्रम जारी नै रहने देखिन्छ । त्यसो हुँदा पनि देशभित्र शिक्षाका अवसर र लगानी नभएको चाहिं होइन ।
दुई दशक अघि स्नातक तहको अध्ययनपछि स्नातकोत्तर र विद्यावारिधि गर्न विदेशिनु नै उपयुक्त विकल्प थियो । म आफैंले पनि भोगेको दृष्टान्त हो यो । अहिले फाट्टफुट्ट त्यस्ता अवसर देशभित्रै देखिन थाले पनि व्यक्तिगत रूपमा म त्यति असन्तुष्ट चाहिं छैन ।
१२ कक्षासम्म अध्ययनको लागि त धेरै नै पूर्वाधार विकास भएको छ । विश्वविद्यालय तहको शिक्षामा भने अवसर प्रशस्तै थपिए पनि अधिकांश विद्यार्थी र अभिभावकको ध्याउन्न विदेश जानुमै रहनुमा फरक कारण छन् । अन्तर्राष्ट्रिय स्तर र भरपर्दो शिक्षा भने पनि अधिकांशको भित्री कारण चाहिं पढेपछि विदेशमै रोजगारी अनि स्थायी बसोबास गर्ने चाहना रहेको पाइन्छ ।
यसले यो प्रश्न शिक्षाको मात्र नभएर समग्र राष्ट्रिय मानव स्रोत र समाजप्रति उत्तरदायित्वको पनि हो कि भन्नेमा बहस हुन थालेको छ । तथापि यस्ता कुराहरू व्यक्तिगत सन्दर्भमा भन्दा समग्रमा राष्ट्रिय नीति र सहजीकरणसँग जोडेर हेर्नु उपयुक्त हुन्छ ।
हाम्रा छिमेकी मुलुकहरूकै विगतका दशकका अनुभव हेर्ने हो भने उनीहरूले पनि हाम्रोभन्दा पनि बृहत् मात्रामा यस्तै अवस्था भोगेकै हुन् । तर अहिले आएर ‘घर फर्किने वा फर्किन सहज गर्ने’ नीतिले सम्बन्धित मुलुकहरूमा ठूलो प्रभाव पारेको देखिन्छ ।
चीन त यो मामलामा धेरै नै अगाडि बढेर विभिन्न विधामा संसारमै चिनिने हिसाबका संस्था स्थापना गरेरै देखाइरहेको पाइन्छ । भारत पनि यो क्रममा बढ्दो गतिमा अग्रशील छ । यसको एउटा कारण र नतिजा चाहिं यी दुवै देशमा बढ्दो विश्वविद्यालय र सिकाइ विधिमा परिमार्जन हुँदै गरेको पाइन्छ । यी कुराहरूको नेपालमा के अर्थ छ भन्ने विषयको उठान गर्नु यो संक्षिप्त लेखको उद्देश्य हो ।
शिक्षाको प्रसङ्ग निकाल्दा एकैपटक उच्च शिक्षाकै चर्चा गर्नु भन्दा एकछिन प्रारम्भिक शिक्षाको पनि कुरा उठाउनु जरूरी हुन्छ । हिजोआज तीन वर्ष पुग्दा नपुग्दै धेरै अभिभावक आफ्ना नानीबाबुलाई औपचारिक शिक्षाको तालिकामा बाँध्न लालायित देखिन्छन् । एकातिर केटाकेटीको भविष्यकै लागि बेलैदेखि सोच्न खोजेको जस्तो देखिन्छ भने अर्कोतिर घरमा बालबच्चालाई कसले हेरविचार गर्ने भन्ने समस्याले पनि नेपालमा बालबालिकाहरू समय भन्दा अगावै विद्यालय आउने र जाने तालिकामा बाँधिन्छन् ।
नाम र स्वरुप जेसुकै भए पनि प्रारम्भिक वर्षहरूमा बालबच्चाहरूले आमाबाबुकै काखमा खेल्न, हुर्किन र सिक्न पाउनु उत्तम हो । सबै बालबालिकाले यो सुविधा नपाउन पनि सक्छन् । बालसुलभ खेलाइ र बढाइको स्वरुप भएका विद्यालय भए पनि बाबुआमाले चाहिं आफ्ना नानीबाबुले चाँडै पुस्तक नै पढुन्, अक्षर चिनुन् र गृहकार्य गरुन् भन्ने मान्यता राखेको पनि पाइन्छ । यसो हुँदा सान्दर्भिक बाल स्याहार केन्ऽहरू पनि औपचारिक शिक्षाकै विद्यालयमा परिणत भएको पाइन्छ । यी छुटपुट अवलोकनले एउटा गम्भीर प्रश्नतर्फ हाम्रो ध्यान तान्दछ- हाम्रो समाजमा साधारणतया शिक्षाको अवधारणा के हो ?
हामी अधिकांशमा शिक्षा हासिल गर्नु भनेको रोजगारीको बाटो सुनिश्चित गर्नु हो भन्ने छ । त्यो सही हो, तर शिक्षालाई त्यतिकै लागि मात्र भर्याङ बनाउने रूपमा बुझ्ने हो भने हामीले ठूलो अवसर गुमाइरहेका छौं ।
शिक्षा भनेको त आँखा खोल्नु र हेर्न सक्नु भने जस्तो हो । टाउको घुमाएर चारैतिर हेर्ने, अवलोकन गर्ने, बुझ्ने, समस्या देख्ने अनि समाधान खोज्ने जस्ता सबै क्रियाकलाप आँखा खोलेर हेर्नु भन्ने अर्थमा पर्छन् । तर हामी त आँखा खोलेर मैले कुन दिशामा के हेर्ने भन्नेसम्म पनि अरूले भने झैं गर्नुपर्ने मान्यताले शिक्षालाई बुझिरहेका छौं ।
विद्यालयबाट उकालो लाग्ने बित्तिकै विश्वविद्यालय तहमा एकाध विधामै सीमित हुँदा त हाम्रो शिक्षा साँघुरो भएन र ? त्यही माथि एउटा विधामा लागेकाले अर्को विधालाई होच्याउने दृष्टिले हेर्ने परिपाटी भएपछि त व्यावसायिक वा व्यक्तिगत जीवनमा आफूभन्दा फरक विषयको ज्ञातासँग कसरी तालमेल गर्ने र ?
मेरो आफ्नै अनुभवमा विद्यालय शिक्षाको लक्ष्य एसएलसी भनिने फलामे ढोका पार गर्ने, अनि राम्रैसँग पार गरे विज्ञान, नत्र अन्य संकायमा अध्ययन गर्ने, त्यसबाट पनि अगाडि राम्रो गरे कि डाक्टर कि इन्जिनियर बन्ने भन्नेमै सीमित थियो । त्यसैभित्र पनि फरक सोचले आफ्नो रुचिको विषय पढ्ने र अरू नै विधामा अब्बल हुने साथीहरू नभएका त होइनन्, तर म साधारण र अधिकांशको स्थितिको कुरा गरिरहेको छु ।
आखिर राष्ट्रको नीति त अधिकांशको लागि हुन्छ नि, एकाध अब्बल विद्यार्थीको लागि मात्रै त होइन । जसरी नै पढाइ गरे पनि अन्ततः एक सबल नागरिक बन्नु नै सबैको लक्ष्य हो, अनि सकिन्छ भने समाजको लागि पनि केही योगदान दिन सकिन्छ कि भन्ने हो । यी कुरा कति व्यक्तिगत नै भए पनि यसमा शिक्षाको प्रक्रिया, विषयवस्तु र सिकाउने संस्था र शिक्षकको ठूलो भूमिका रहन्छ ।
शिक्षाको प्रक्रियामा कसको के भूमिका हुन्छ त ? मूलतः प्रारम्भिक वर्षहरूमा आमाबाबुको भूमिका महत्वपूर्ण हुन्छ, उनीहरूलाई पहिलो शिक्षक त्यसै त भनिएको होइन । त्यसपछि भने बालबालिकाको शिक्षाको जिम्मा शिक्षक र शिक्षालयहरूलाई सुम्पिने चलन छ । शिक्षकलाई शिक्षाको सम्पूर्ण ज्ञाता मान्ने परिपाटी त परिवर्तन भइसक्यो जस्तो लाग्छ, तर पनि धेरै प्रसंगमा शिक्षा भनेको शिक्षकले विद्यार्थीलाई एकतर्फी रूपमा हस्तान्तरण गर्ने ज्ञान नै हो भन्ने बुझाइ हो कि जस्तो लाग्दछ ।
यो मान्यतालाई चुनौती दिनु अपरिहार्य छ । शिक्षा भनेको एकोहोरो ज्ञानको प्रसार मात्र नभएर ज्ञानको खोजी नीति, जाँच, परख र उपयोग गर्ने सीप पनि हो । यदि यस्तो हुनसक्यो भने एउटा किसानको सन्तानले आफ्ना बाबुआमाको अथक् परिश्रम भित्र ज्ञानको भण्डार देख्न सक्छ । अनि कुनै शिक्षकले सिकाइ प्रक्रियामा पछि परेको विद्यार्थीलाई ‘राम्रोसँग नपढे हलो जोत्नु पर्ला’ भनेर गाली गर्ने वा डर देखाउने क्रम रोकिएला ।
मेरो विचारमा हाम्रो शिक्षाको मूल समस्या नै यही हो । पढे लेखेर चाहिं हलो जोत्न नहुने भन्ने कुन शिक्षा हो, कस्तो सोचाइ हो ? शिक्षाको उद्देश्य त यो लेखको शुरूमा भनिए झैं आँखा खोल्ने हो, आफ्नै वरिपरि भएका ज्ञान सीप र जीविकोपार्जनको आदर्श परिपाटीलाई तुच्छ देख्ने शिक्षा त शिक्षा नै होइन ।
बरु शिक्षाले त त्यो किसानको सन्ततिलाई आफ्नो पितापुर्खाको व्यवसायमा अझ बढी अवसर देख्ने पो बनाउनुपर्ने हो त । किसानको बच्चा पढेर किसान नै बनोस्, तर वैज्ञानिक कृषि प्रणाली शुरू गरोस्, यदि ऊ इन्जिनियर बनेछ भने हलोको प्रविधि अझ चुस्तदुरुस्त बनाओस् वा सिंचाइको प्रविधि सुधारोस् ।
ऊ शिक्षक बनेछ भने हाम्रो खेतबारीमै सिक्ने अवसर प्रशस्त देखेर माटो, विज्ञान, गणित, वनस्पति शास्त्र, इतिहास, समाजशास्त्र इत्यादिका शिक्षण सिकाइ सान्दर्भिक बनाउने शिक्षा प्रणाली तर्जुमा गरोस् । त्यो विद्यार्थी अर्थशास्त्री बनेछ भने उसका पुर्खाले खेतीकिसानीबाट किन भने जति लाभ उठाउन सकेनछन् भनेर अनुसन्धान गरोस् र नौलो आर्थिक सोच प्रसार गरोस्, यस्तै यस्तै । तब पो शिक्षा सान्दर्भिक र उत्तरदायी हुन्छ ।
तसर्थ हाम्रो शिक्षाको आधारभूत खाका नै बदलिनुपर्छ भन्ने मलाई लाग्दछ । शिक्षाले विद्यार्थीलाई ज्ञानी, नम्र, सुशील, उत्सुक, उत्साही, स्वावलम्बी, सहिष्णु र सचेत पो बनाउने हो, त्यसैले त विद्यालय शिक्षामा नैतिक, सामाजिक, इतिहास, भूगोल, कला इत्यादि विषयवस्तु राखिएका छन् ।
अनि विद्यालयबाट उकालो लाग्ने बित्तिकै विश्वविद्यालय तहमा एकाध विधामै सीमित हुँदा त हाम्रो शिक्षा साँघुरो भएन र ? त्यही माथि एउटा विधामा लागेकाले अर्को विधालाई होच्याउने दृष्टिले हेर्ने परिपाटी भएपछि त व्यावसायिक वा व्यक्तिगत जीवनमा आफूभन्दा फरक विषयको ज्ञातासँग कसरी तालमेल गर्ने र ?
अनि विषयगत पढाइमा पनि अरू विषयसँगको सम्बन्धको बारेमा चर्चा भएन भने वास्तविक जीवनमा शिक्षाको प्रयोग कसरी होला ? शिक्षाको क्रममा आफ्नै सामाजिक समस्या र विकासका आवश्यकताको बारेमा सचेत भइएन भने हामीले समाजमा के योगदान दिन सकिएला ? यी प्रश्नहरू आज शिक्षामा लागेका धेरैलाई खट्किरहेका छन् ।
तर कतिपय अवस्थामा शिक्षाको परिपाटी र पाठ्यक्रमले हामीलाई बाँधेर राख्दछ । स्थापित शिक्षण संस्थामा गरि-गराई आएका परिपाटी परिवर्तन गर्न समय लाग्ने भए पनि नयाँ स्थापना हुने क्रममा रहेका शिक्षण संस्थाहरूले नौलो प्रयोग गर्न र शिक्षाको अवधारणा परिवर्तन गर्न हिच्किचाउनुहुन्न ।
आखिर हरेक नयाँ संस्थाको शुरुआती कदमले नै यसको जग र भविष्यको संरचना निर्दिष्ट गर्दछ । मेरो आफ्नैद व्यक्तिगत अनुभवमा- भारतको एउटा निजी क्षेत्रको तर गैर नाफामूलक विश्वविद्यालयमा एउटा नितान्त नौलो विषयगत कार्यक्रम शुरू गर्दाको चुनौती र अवसरमा आधारित रहेर, म हाल नेपालमा स्थापना हुने क्रममा रहेका विश्वविद्यालयहरूले शिक्षामा एउटा इतिहास रच्ने अवसर गुमाउनुहुँदैन भन्न चाहन्छु ।
मदन भण्डारीको नाममा खुल्न लागेको विज्ञान र प्रविधि होस् वा प्राविधिक शिक्षाको विश्वविद्यालय होस्, आयुर्वेद होस् वा कृषि होस्, वा अन्तर-विधागत शिक्षाको उद्देश्य राखेको नेपाल विश्वविद्यालय होस्, सबैको आ-आफ्नो सोचमा मूलतः शिक्षाप्रतिको अवधारणा, सिकाइ पद्धति र शैक्षिक प्रशासनको सन्दर्भमा व्यापक छलफल र पुनर्विचार गर्ने र समय सन्दर्भ सुहाउँदो विश्वविद्यालयको खाका कोर्ने स्वणिर्म अवसर छ ।
यसमा सम्बन्धित सबैले विशुद्ध प्राज्ञिक मुद्दालाई केन्ऽमा राखेर हातेमालो गर्नुपर्छ भन्ने लाग्दछ । यसो गर्दा नेपालका विश्वविद्यालयहरू नेपालीकै लागि मात्र नभएर अरू छिमेकी र परका देशका नागरिकहरूलाई पनि एउटा आकर्षक शैक्षिक गन्तव्य हुन सक्छन् ।
(भारतको अहमदावाद विश्वविद्यालयको हेरिटेज म्यानेजमेन्ट विभागका निर्देशक चापागाई नेपाल विश्वविद्यालय निर्माण अभियानसँग जोडिएका छन् ।)
प्रतिक्रिया 4