+
+
विचार :

लोप हुँदै गयो सहकार्यको उत्कृष्ट नमूना ‘परेली’ पद्धति

खगराज बराल, पीएचडी खगराज बराल, पीएचडी
२०७८ कात्तिक २२ गते १५:३९

नेपाली बृहत् शब्दकोशले ‘परेली’ शब्दलाई कृषकहरूको परस्परमा खेतालाको साटासाट गर्ने वा एकअर्काको काम गरिदिने प्रक्रिया, खेतालो गएर खेतालै तिर्नुपर्ने गरी लगाइएको ऋण, खेताले पैंचो, पर्म भनी अथ्र्याएको छ । ‘परेली’ शब्दको यो शब्दकोशीय अर्थ वास्तविक धरातलसँग मेल खाँदैन । ‘परेली’ शब्द खेतालाको साटासाट होइन, न त खेतालो गएर खेतालै तिर्नुपर्ने गरी लगाइएको ऋण नै हो । यो खेताले पैंचो र पर्म पनि होइन ।

‘परेली’ त पहाडी क्षेत्रमा किसानहरूले वर्षभरि खेतीपातीका लागि गरिने सामूहिक प्रयत्न, सहकारिता हो । ‘परेली’ एउटा सहकार्य पद्धति हो । एकअर्कामा भएका स्रोतसाधनको सामूहिक उपयोग हो । खेतीपातीमा समानुपातिक लगानी र वितरण हो । एक वर्षको कार्ययोजना हो ।

‘परेली’ पद्धतिलाई अर्मपर्म वा खेताला वा पैंचो जस्ता शब्दले अथ्र्याउन सक्दैनन् । यस्ता शब्दले यसको गहन महत्वलाई बुझाउन पनि सक्दैनन् । ‘पर्म’ आफू-आफूमा आलोपालो गरी एकले अर्काको काम गरिदिने चलन हो । एकको काम गरिदिएपछि अर्कोले तिर्नैपर्छ । कसको कति दिनको पर्म हुने भन्ने निश्चित हुँदैन ।

एक वर्षभित्र पर्म तिर्न नसकेमा अर्को वर्ष तिर्दा पनि हुन्छ । ‘खेताला’ लाई ज्याला मजुरी विना वा सो लिएर काम गर्न आउने कामदार भनिएको छ । ज्याला नलिने खेतालाले पर्म गर्न सक्छन् । ज्याला लिने त निमेकी हुन् । उनीहरूले पर्म गर्दैनन् । ‘पैंचो’ भनेको पछि फिर्ता गर्ने गरी कसैलाई दिने वा कसैबाट लिने काम हो ।
कुनै स्थान विशेषमा ‘परेली’ शब्द खेताला, पर्म, पैंचो जस्ता शब्दको पर्याय हुन सक्ला तर ‘परेली’ पद्धतिको वास्तविक अभ्यास गर्ने क्षेत्रमा खेताला, पर्म, पैंचो जस्ता शब्दले ‘परेली’ शब्दलाई अथ्र्याउन सकेको देखिंदैन ।

‘परेली’ पद्धति सामूहिक कार्यको अभ्यास र स्थानीय तहमा गरिने सहकार्यको पनि अभ्यास हो । एकको अभावमा अर्काले गर्ने सहयोग हो, परिपूर्ति हो । ‘परेली’ पद्धतिको अभ्यास विशेषगरी गण्डकी क्षेत्रमा भएको पाइन्छ । यस लेखमा ‘परेली’ पद्धतिलाई सरल रूपमा बुझ्नका लागि विगतमा ग्रामीण तहमा हुने अभ्यासलाई दृष्टान्तका रूपमा यहाँ उल्लेख गरिएको छ ।

‘परेली’ एक किसिमको कामको विभाजन सहितको समूह (सेट) हो । विशेषगरी ‘परेली’ खेतीपातीसँग सम्बन्धित थियो । ग्रामीण क्षेत्रमा खेतीपाती गर्नका लागि परम्परागत पद्धतिमा काम गर्दा ‘परेली’ निर्माण गरिन्थ्यो । हिउँदलाई ‘परेली’ निर्माण गर्ने समय मानिन्थ्यो । अझ स्पष्ट रूपमा भन्नुपर्दा श्रीपञ्चमीको आसपासमा पुरानो ‘परेली’ यथावत् राख्ने कि नयाँ तर्जुमा गर्ने भन्ने निर्णय गरिन्थ्यो । पुरानो परेलीमा बस्न नचाहनेले नयाँ समूहसँग आबद्ध हुन सक्थे । कतिपयले पुरानै परेलीलाई निरन्तरता दिन्थे ।

मुख्यतः एक सेट ‘परेली’ बनाउँदा दुई वटा गोरु (एक हल गोरु) जोड्नुपथ्र्यो । ग्रामीण क्षेत्रमा खेतीयोग्य जमीन धेरै नहुने हुँदा सबै किसानले गोरु पाल्दैनथे, पाल्नु पनि पर्दैनथ्यो । खेतबारी अलि धेरै हुनेले गोरु पाल्थे । एकै परिवारले दुई वटा गोरु पाल्न कठिन पनि हुने र खेतीपातीमा अरूको पनि सहयोग चाहिने भएकाले एकै परिवारसँग एक हल गोरु नहुन सक्थे ।

‘परेली’ पद्धति सामूहिक र स्थानीय तहमा गरिने सहकार्यको पनि अभ्यास हो; एकको अभावमा अर्काले गर्ने सहयोग र परिपूर्ति हो । ‘परेली’ पद्धतिको अभ्यास विशेषगरी गण्डकी क्षेत्रमा भएको पाइन्छ ।

मकै, कोदो, गहुँ, तोरी जस्ता खेतीलाई भन्दा धान खेतीलाई नै आधार मानेर परेलीको सेट निर्माण हुन्थ्यो । बाली वा खेत रोपाइँको अवधि (मेलो) धान रोप्ने दिनलाई आधार मान्ने प्रचलन थियो । मेलो निर्धारण गर्दा ‘हिलो’लाई मुख्य आधार मान्ने चलन थियो । ‘हिलो’को मतलब असारे रोपाइँ हो ।

‘परेली’ निर्माण गर्दा कति दिनको बाली वा रोपाइँ वा मेलो हुने भन्ने कुराले परेलीको सेट, मजुरी, हली, बाउसे, खेताला लगायत अन्य कुराको निर्धारण गथ्र्यो । एक सेट परेलीमा कम्तीमा दुई वटा गोरु, एक जना हली, दुई जना बाउसे र कम्तीमा दुई जना खेताल्नी हुन्थे ।

बाली धेरै भएमा तीन जना खेताल्नी पनि राखिन्थ्यो । सेटभित्रको यो संख्या बढाउन पनि सकिन्थ्यो । यसो गर्दा बालीको दिन बढ्न पनि सक्थ्यो । तर, समुदायभित्र कसैको पनि खेत बाँझो नहोस् भन्ने उद्देश्यले परेलीको संख्या बढाउनुपरेको हो । धान रोपाइँलाई खेत रोप्ने पनि भनिन्थ्यो । खेत रोपाइँको एकाइ हल थियो ।

एक हल गोरुको सहयोगमा हली र बाउसेले एक दिनमा धान रोप्न सक्ने जग्गाको क्षेत्रफल नै एक हल खेत हो । कसैको पाँच हल, कसैको आठ हल, कसैको नौ हल, कसैको तीन हल, कसैको दुई हल खेत हुन सक्छ ।

‘परेली’ समूहमा आबद्ध किसानको खेतलाई हलको एकाइमा हिसाब गर्दै बाली वा हलको योग निकालिन्थ्यो । परेलीका सेट भित्रका सदस्य र गोरु धनीका लागि खेतको हल तोकिएको हुन्थ्यो । जस्तै, हलीका लागि ६, गोरुका लागि चार, बाउसेका लागि तीन र खेताल्नीका लागि दुई हल खेत ।

सामान्य हिसाबमा ६+(२x४)+(२x३)+(२x२)=२४ हलको मेलो हुने गर्छ । चौबीस हल खेत वा मेलो एक सेट परेलीका लागि असारको रोपाइँ हुने गर्थ्‍यो। कहिलेकाहीं केही हल खेत वा मेलो थपिन पनि सक्थ्यो । गाउँमा एक दुई हल खेत भएका र परेलीको सेटमा रहन नसक्नेलाई पनि समेट्नुपर्दा मेलो बढ्न सक्थ्यो । कसैको घरमा गोरु पाल्न पनि नसक्ने, बाउसे वा खेताला हिंड्न पनि नभ्याउने किसानको पनि हिसाब अनुसार धान थपेर रोपाइँ गरिन्थ्यो ।

यसो गर्दा बाली वा मेलो ३० दिनभन्दा पनि बढी पुग्न सक्थ्यो । हिलाको हिसाब गरेपछि धूलामा गरिने खेतीको खासै हिसाब गरिंदैनथ्यो । सक्दा मेलामा जाँदा हुन्थ्यो, नसक्दा नजाँदा पनि हुन्थ्यो । हिलोमा भने तोकिए अनुसार अनिवार्य सहभागी हुनैपथ्र्यो । कतिपयले धूलोमा नभई हिलोमा मात्र सहभागिता जनाउने पूर्वशर्त पनि राखेका हुन्थे ।

‘परेली’ सेट बनाएपछि जोत्ने हलीको खोजी हुन्थ्यो । हलीको कामका लागि सम्भव भएसम्म आफ्नै गाउँका व्यक्ति खोजिन्थ्यो । उतिबेला हलीको काम विशेषगरी दलित परिवारका पुरुषहरूले गर्थे । पर्याप्त खेतीपाती र श्रमको अर्को अवसर पनि नहुने हुँदा हलो जोत्नु पनि एक किसिमको मजुरी नै थियो ।

श्रीपञ्चमी वरिपरि नै परेलीको टुङ्गो लगाउनुपथ्र्यो । दुई वटा गोरु जोडेपछि गोरु जोड्नेहरू नै हली खोज्न जिम्मेवार मानिन्थे । गाउँमा उपलब्ध हलो जोत्ने श्रमिकसँग छलफल हुन्थ्यो । कति दिनको मेलो हो र सोका लागि कति मजुरी लिने वा दिने भन्ने बारेमा सहमति बनाइन्थ्यो ।

मानौं तीस हलको मेलोका लागि पाँच मुरी धान मजुरीमा सहमति भयो भने ‘परेली’ समूहका सदस्यका बीच मजुरीको बाँडफाँट हुन्थ्यो । हलो जोत्नेको खेत कति हलको छ सोको हिसाब गरेर पाँच मुरी मजुरीमा राखिन्थ्यो । हली, गोरु पाल्ने किसान, बाउसे, खेतालालाई क्रमशः ६, ४, ३ र २ दिन काम गरेबापत मजुरीको हिसाबमा समावेश गरिंदैनथ्यो (२x४)+(२x३)+(२x२)=१८ । यी दिन बाहेक बढी दिन मजुरीका लागि दामासाहीले हिसाब लाग्थ्यो । पाँच मुरी धान भनेको १०० पाथी हो ।

हिसाब गर्दा मुरी धानलाई पाथीमा टुक्र्याइन्थ्यो । जस्तैः हलीको खेत रोपाइँ रहेनछ भने उसलाई यसमा समावेश गरिंदैनथ्यो । गोरु पाल्ने प्रति किसान आठ हल खेत रहेछ भने दुई जना गोरु पाल्ने किसानका १६ हल खेत, प्रति बाउसेको चार हल खेत रहेछ भने दुई बाउसेका आठ हल खेत, प्रति खेतालीको तीन हल खेत रहेछ भने दुई खेतालीका ६ हल खेत हुन जान्थ्यो ।

मजुरी नलाग्ने हल खेत छुट्याएपछि गोरु पाल्ने प्रति किसानलाई चार हलका हिसाबले आठ हल खेत, प्रति बाउसेलाई एक हल खेत हिसाबले दुई बाउसेका दुई हल खेत, प्रति खेतालीलाई एकहल खेतको हिसाबले दुई हल खेत रोपाइँको मजुरीमा लाग्थ्यो ।

यसको मतलब ३० दिन मेलोमा हलीको खेत नभएका कारण गोरु पाल्ने किसान दुई, बाउसे दुई र खेताली दुईका लागि काम बापत १८ दिन छुट र १२ दिन मजुरीमा गणना गनिन्थ्यो । यो १२ दिनले १०० पाथी धानलाई भाग लगाइन्थ्यो (१००÷१२=८.३) । मजुरी तिर्नुपर्ने एक हलले ८ पाथी ३ माना धान मजुरी भर्नुपर्थ्यो। यस हिसाबले गोरु पाल्ने किसानले प्रत्येकले ३३ पाथी, प्रत्येक बाउसेले ८ पाथी ४ माना धान र प्रत्येक खेतालीले ८ पाथी ४ माना धान मजुरी भर्नुपथ्र्यो ।

यसरी गोरु पाल्ने दुई किसानले ६६ पाथी, दुई बाउसेले १७ पाथी र दुई खेतालीले १७ पाथी धान मजुरीका लागि छुट्याउनुपथ्र्यो । मजुरी धानको दाइँका दिन हलीलाई निम्ता गरेर रासको सबैभन्दा राम्रो धान मजुरीका रूपमा दिइन्थ्यो । यसरी किसानले समूहमा सहकार्य पद्धतिको विकास गर्दै वर्षभरिको खेतीपाती सम्पन्न गर्थे । ‘परेली’ समूहमा सदस्यहरू त्यो वर्ष एउटै परिवार जस्ता देखिन्थे ।

बेंसीदेखि गाउँसम्म चार–पाँच सय हल खेत हुन्थ्यो तर त्यो खेत एक महीनाभित्र सबैको रोपाइँ भइसक्थ्यो । कसैको पनि खेत बाँझो रहन पाउँदैनथ्यो । एक गाउँमा थुप्रै ‘परेली’ समूह हुन्थे । आ–आफ्नो समूहमा समयमा नै काम सम्पन्न गर्थे । एक महीनामा रोपाइँ सकिने गरी ‘परेली’ को सेट बनाइएका हुनाले हिलो पस्ने (रोपाइँ शुरु गर्ने) काम सबैभन्दा टाढाको खेतबाट शुरू हुन्थ्यो । गाउँका सबै ‘परेली’ समूह टाढाको खेतमा नै केन्द्रित हुन्थे जसका कारण टाढाको मेलामा सबैको साथ हुन्थ्यो । विस्तारै विस्तारै बस्तीबाट नजिकको खेतमा रोपाइँ आइपुग्थ्यो ।

समाजमा आधुनिकताको प्रभाव पर्न थाल्यो । शिक्षामा पहुँच बढ्यो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका अवसरमा वृद्धि भयो । अनौपचारिक शिक्षाको प्रभाव पर्न थाल्यो । श्रम तथा रोजगारका क्षेत्र बढ्न थाले । वैदेशिक रोजगारका अवसरमा वृद्धि भयो । गाउँहरू विस्तारै शहरमा रूपान्तरण हुन थाले ।

ग्रामीण बस्तीबाट शहर, पहाडबाट तराईतिर बसाइँ सर्ने प्रवृत्तिमा वृद्धि भयो । मानिसहरूले सुखको खोजी गर्न थाले । सामूहिकता र सहकार्यको प्रवृत्तिमा ह्रास आउन थाल्यो । परिवार पनि संयुक्तबाट एकलमा अगाडि बढे । खेतीपाती पनि थोरै हुन थाल्यो । आफैं खेती गर्ने भन्दा ज्यालामा श्रमिकको खोजी हुन थाल्यो । खेतीयोग्य जमीनको खण्डीकरण हुन पुग्यो । ‘परेली’ जस्तो सामूहिक र सहकार्य पद्धतिको जरूरी नै पर्न छाड्यो ।

कृषिमा आत्मनिर्भर समुदायले व्यापार, नोकरी, वैदेशिक रोजगार जस्ता क्षेत्रमा पाइला अगाडि बढाए । कृषि श्रमिकको अभावमा खेतीयोग्य जमीन बाँझो हुन थाल्यो । घरघरमा वैदेशिक रोजगारीमा जाने सदस्य बढ्न थाले । कृषिप्रतिको आकर्षण र उत्साह घट्यो ।

खेतीपाती गरेर भन्दा किनेर खानेको सङ्ख्या बढ्यो । खेतीका लागि हली, बाउसे, खेताला, खेताली पाइन छोड्यो । खेतीपातीका लागि गोरु पाल्ने प्रवृत्ति हरायो । कृषिमा भएको आधुनिकीकरणले यान्त्रिकी, बजारी र व्यापारीकरणको प्रभाव पर्न थाल्यो ।

हाते ट्याक्टर, ट्याक्टर लगायत कृषिमा आधुनिक यन्त्रको प्रयोग हुन थाल्यो । परम्परागत कृषिका लागि सामूहिकता र सहकार्यको नमूनाका रूपमा रहेको ‘परेली’ पद्धति समयक्रममा हराउन पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?