
२४ कात्तिक, काठमाडौं । नायक रमेश उप्रेतीले चलचित्रका कलाकारहरु सामाजिक सञ्जालमा हलुका बन्न नहुने टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा ‘शिखर टिकटक स्टार’को घोषणा कार्यक्रममा बोल्दै उनले कलाकारले करोडौं लगानीको भारी बोक्ने भएकाले टिकटक लगायतका सामाजिक सञ्जालमा हलुका रुपमा प्रस्तुत हुन नहुने बताए ।
‘टिकटक नराम्रो कुरा होइन । तर, यसको सही तरिकाले प्रयोग हुनुपर्छ । यो मानिसको आ–आफ्नो सोचाइको कुरा हो,’ उनले भने, ‘तर, एउटा कलाकारमाथि लाखौं लगानी हुन्छ, करोडौं लगानी हुन्छ भने कलाकार त्यति हलुका बन्नु हुँदैन ।’
रमेशले चलचित्रमा देखिने कलाकार हरेक ठाउँमा सहजै देखिँदा त्यसको महत्व नहुने समेत बताएका छन् । उनले भने, ‘यदि तपाईं नेपाली चलचित्रलाई माया गर्नुहुन्छ, यो क्षेत्रको भलो चाहनुहुन्छ, व्यावसायिक कलाकार बन्न चाहनुहुन्छ भने थोरै भएपनि रिजर्भ बस्नुपर्छ ।’
रमेशले ‘टिकटक स्टार’ भन्ने कार्यक्रमको सोच मन परेर आफू निर्णायकको रुपमा प्रस्तुत हुन लागेको बताए । तर, नेपाली चलचित्रका कलाकारले भने आफूलाई टिकटकमा हलुका बनाउन नहुने उनको भनाइ छ ।
प्रतिक्रिया 4