
२४ कात्तिक, काठमाडौं । बुधबार दिउँसो दुई बजे मदन पुरस्कार गुठीले आयोजना गरेको समारोहमा सहभागी हुन ८९ वर्षीय भैरवबहादुर थापा बिहानैदेखि तयारीमा थिए ।
कपडा लगाउनेदेखि, पढ्नका लागि चश्मा र मन्तव्यपत्र सबै तयार पारेर उनी दुई बज्नुअगावै कालोपुलस्थित घरबाट कार्यक्रमस्थल पाटनढोका पुगे ।
उमेरले ९० टेक्न लागिसक्दा पनि भैरवबहादुरको जोश रत्तिभर घटेको छैन । आफ्नो कर्मका लागि नेपालकै प्रतिष्ठित सम्मान ‘जगदम्बाश्री’ ग्रहण गर्ने दिन भएकाले उनी बालक जस्तै फुरुङ्ग थिए ।
समारोहमा मन्तव्य दिंदा उनले राज्यले आफ्नो कामको कदर नगरे पनि जनस्तरबाट सदैव साथ र सम्मान मिलेको बताए ।
यता कार्यक्रमको शुरुमा नृत्य प्रस्तुत गरेका नृत्यांगनाहरुले पनि मञ्चबाट ओर्लेर भैरवबहादुरप्रति शिर झुकाउँदै श्रद्धा व्यक्त गरे ।
उनीहरुले भैरवबहादुरले नै प्रशिक्षण दिएका कलाकार रवि राना मगर र सृजना राजवाहकको निर्देशनमा नेपाली मौलिक बाजाको तालमा नृत्य देखाएका थिए । यसपछि थापालाई सुलोचना मानन्धर र डा. महादेव अवस्थीले हात समाएर मञ्चमा ल्याए ।
विना माइक नै ‘सबैको जय होस् !’ भन्दै थापाले गुठीका अध्यक्ष कुन्द दीक्षितको हातबाट जगदम्बाश्री ग्रहण गरे ।

मदन पुरस्कारबाट सम्मानित अनुसन्धानकर्ता भगिराज इङ्नामको कथा पनि उस्तै छ ।
६६ वर्षीय भगिराजले वर्षौंको परिश्रमले तयार पारेको खोजमूलक पुस्तकले मदन पुरस्कार पाएको थियो । तीन दशक सरकारी सेवामा बिताएका इङ्नामले पूर्वी नेपालका गाउँ–गाउँ पुगेर लिम्बूहरूको कागजपत्र बटुले ।
यसरी बटुलिएका कागजपत्रको स्क्यान गरेर, पूर्ण विवरणसहित पुस्तकको आकार दिन उनलाई तीन वर्ष लाग्यो ।
त्यतिमात्र होइन ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ प्रकाशन गर्ने १३ लाख रुपैयाँको आर्थिक भार समेत आफैंले लिए । अथक् परिश्रमपछि प्रकाशित पुस्तकले मदन पुरस्कार पाउँदा इङ्नाम प्रफुल्ल थिए । यद्यपि आफ्नो खुशीमा भन्दा ज्यादा आफ्नो जातीय इतिहास र संस्कृतिलाई सम्मान गरेकोमा उनी प्रसन्न थिए ।
यो कुरा उनले आफ्नो मन्तव्यमा पनि उल्लेख गरेका छन् ।
भैरवबहादुर र इङ्नाम दुवै स्रष्टाको संघर्ष एउटै थियो, विधा फरक भए पनि । यी दुईको संघर्षबाट कला, साहित्य र संस्कृतिमा लाग्नेहरूलाई कहिल्यै हतार गर्न नहुने सन्देश मिलेको छ ।
आम भाषामा भन्दा बुढ्यौलीमा रहेका यी दुई स्रष्टाले आफ्नो स्वास्थ्य र शरीरको पर्वाह नगरी पुस्तक लेखे । मदन पुरस्कार घोषणापछि पनि दैनिकजसो अन्तर्वार्ताहरूबाट आफ्नो विचार व्यक्त गरिरहेका छन् ।
उनीहरू चाहन्छन्, नयाँ पुस्तासम्म आफूले गरेको कामको प्रवाह जोडियोस् ।
चाहे त्यो नृत्य होस्, वाद्यवादन, साहित्य–कला, भाषा–संस्कृति खानपिन वा जनजीवनका जुनसुकै कुरा । सबै मौलिक नेपाली कुरा संस्कृतिको रुपमा नयाँ पुस्ताले ग्रहण गरोस् भन्ने उनीहरू चाहन्छन् । नयाँ पुस्ताले पनि धैर्यशील भएर नेपाली मौलिक कुराहरूको खोज गरोस् भन्ने चाहन्छन् । त्यति मात्र होइन उनीहरु सम्भव भएसम्म अरु पनि अनुसन्धानमूलक पुस्तक प्रकाशन गर्न तयार छन् ।
‘मौलिकतामा बाँच्न सिकौं’
मन्तव्यका क्रममा भैरवबहादुर थापाले नेपाली मौलिक नृत्यलाई कसरी अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउन सकिन्छ भन्नेबारेमा पनि प्रकाश पार्न खोजेका थिए । चीन गएर रातरातभरि नाचेकोदेखि तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले आफ्नो ‘इको नृत्य’को खूबै प्रशंसा गरेको कुरालाई उदाहरणको रुपमा प्रस्तुत गरे ।
जबकि नेपालका नेता तथा गन्यमान्यले सधैं आफ्नो फाइदाको लागि कलाकारलाई नृत्य गर्न लगाएको तीतो कुरा पनि उनले ठट्यौलो पारामा सुनाए । अनि स्काउटले विदेशी ड्रममा कवाज खेलेको देखेर आफूले नेपालकै मादल (मगखीं) प्रयोग गरेर कवाज खेलाएको घटना बताए ।
थापाको निचोड छ कि, राज्यको प्रयास विना गीत, नृत्य, वाद्यवादन अर्को राष्ट्र वा भूगोलमा स्थापित हुन गाह्रो पर्छ । जसरी आज हामी पश्चिमा गीतमा रमाउँछौं वा उनीहरूकै सिको गरेर नृत्य गर्छौं त्यसरी नै आफ्नो गीत र नृत्य अरु देशमा पुर्याउन निकै गाह्रो छ भन्ने कुरा उनले बुझेका छन् ।
यही यथार्थलाई आफ्नो जीवनको अनुभवसँग गाँसेर भैरवबहादुरले सबैलाई मौलिक नेपाली संस्कृतिको जगेर्ना गर्न सुझाए । नेपालको बहुलता विश्वमै अनुपम भएकाले बहुल संस्कृतिबाटै नेपालको पहिचान संसारमा फैलिने विश्वास व्यक्त गरे ।
यता अनुसन्धानकर्ता भगिराज इङ्नामले पनि लिम्बुवानका ऐतिहासिक सामग्री तथा कागजपत्र संकलन गर्दाको दुःख सुनाए । कति मानिसले कागज नै दिन नमान्ने तथा सरकारी कार्यालयहरूले पनि पुराना कागज दिन नमानेकाले अनुसन्धानको काम प्रभावित बनेको बताए ।
आफैं सरकारी अधिकारी भएर पनि नेपाल सरकारका पुराना कागजपत्र, दस्तावेज हेर्न नपाएकोमा उनी निकै दुःखी बने । यद्यपि उनले हिम्मत हारेनन् । भोजपुर, खोटाङ, संखुवासभा, मोरङ सबैतिरका गाउँबस्ती पुगेर कागज संकलन गरे ।

संकलित कागजको फोटो, फोटोकपी (प्रतिलिपि) र स्क्यान तयार पारी सुरक्षित गरे । अनि २०७७ मा व्यक्तिगत प्रयासमा पुस्तक प्रकाशित गरे ।
त्यसभन्दा अगाडि २०७० मा ‘तेह्रथुम जिल्लामा सुब्बाङ्गी प्रथा’ (सहलेखन शेरबहादुर इङ्नामसँग मिलेर) प्रकाशन गरेका उनले २०७५ मा लिम्बू जातिको इतिहास प्रकाशन गरेका थिए ।
इङ्नाम भन्छन्, ‘मैले मेरो जातिबारे जानेबुझेको हुनाले यसको अनुसन्धान गरें । अरुले आ–आफ्नै जाति, संस्कृतिको अनुसन्धान गर्लान् । तर सबैले यो देशमा फल्न फुल्न पाउनुपर्छ ।’
साथै धैर्यपूर्वक आफ्नो काममा लागिरहे ढिलोचाँडो स्वतः सफलता मिल्ने र त्यो सफलता आफ्नो मात्र नभई समुदायकै उपलब्धि ठहर हुने उनी बताउँछन् ।
समारोहमा विद्वान् इतिहासकार गौतमवज्र बज्राचार्यले ‘ऋतु–संस्कृति’ बारे विद्वत् प्रवचन दिए । वैदिक साहित्यमा ऋतुको महत्त्व तथा ऋतुअनुसार हामीले कसरी बाँच्न सिक्यौं, चाडपर्व मनायौं भन्ने कुरालाई उनले केन्द्रमा राखे ।
बज्राचार्यले नेपाली संस्कृति बुझ्न वैदिक साहित्यदेखि सबै जातजातिको संस्कृति बुझेर गहन अध्ययन गर्न सबैलाई आग्रह गरे ।
प्रतिक्रिया 4