+
+

मुख्यमन्त्रीले विश्वासको मत पाए, सरकार विस्तार कहिले ?

हरि अधिकारी हरि अधिकारी
२०७८ मंसिर १ गते १९:३८

१ मंसिर, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले बुधबार प्रदेशसभाबाट विश्वासको मत पाएपछि अब सरकारलाई पूर्णता दिने बताएका छन् ।

बुधबार प्रदेशसभामा हाल कायम रहेका ९२ मध्ये ५० सांसदले विश्वासको मत दिएपछि मुख्यमन्त्री राई अब गठबन्धनमा रहेका दलहरुसँगको छलफलपछि मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा छन् ।

उनको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुँदा बुधबार पक्षमा ५० र विपक्षमा २९ मत खसेको थियो ।

कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका उनले सोही दिन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सांसद समावेश गरेर पाँच सदस्यीय मन्त्रिपरिषद बनाएका थिए ।

मुख्यमन्त्री राई अब मन्त्रालय संख्या थप्ने र मन्त्रिपरिषद विस्तारको तयारीमा छन् । ‘मन्त्रालय बनाउनुपर्नेछ, ८–१० दिन त समय लिन्छ’ उनले मन्त्रिपरिषद विस्तारबारे भने । प्रदेशमा मन्त्रालयको सख्या बढीमा ११ र घटीमा ९ हुने उनले बताए ।

सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाउने सहमति जुटेको छ । ती दुईबाहेक भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयमध्ये कुन फुटाउने भन्ने विवाद छ ।

मुख्यमन्त्री राई काम र दाहित्व बढी भएका मन्त्रालय विभाजन गर्नुपर्ने अवस्था आएको बताउँछन् । मन्त्रीका आकांक्षी बढी भएका कारण प्रदेशमा बन्ने सबै मन्त्रालयमा मन्त्री र केही राज्यमन्त्री नियुक्त गर्ने उनको तयारी छ ।

प्रदेशमा कांग्रेसले ४, माओवादी केन्द्रले ३, नेकपा एकीकृत समाजवादीले २ र जसपाले १ मन्त्रालय दाबी गरिरहेका थिए । जसपाबाट एक जना मन्त्री नियुक्त भइसकेका छन् ।

पाँच दलिय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्दा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजना मन्त्री, काङ्ग्रेस संसदीय दलका उपनेता हिमाल कार्की भौतिक पूर्वाधार विकास मन्त्री र केदार कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् ।

जसपाबाट जयराम यादव सामाजिक विकास र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट विष्णु तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री बनेकी छन् ।

आकांक्षी बढी भएका कारण मन्त्रिपरिषदको आकार बढीमा १४ सदस्यीयसम्म पुर्‍याउने मुख्यमन्त्री राईको तयारी छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?