२ मंसिर, काठमाडौं । सन् १९१४ देखि १९१८ सम्म चलेको प्रथम विश्व युद्धमा ज्यान गुमाएका कैयौं सैनिकको शव कहिल्यै फेला परेनन् ।
तर एक शताब्दीभन्दा बढी समयदेखि हराइरहेका ९ बेलायती सैनिकको भने अन्तिम संस्कार गरिएको छ । बेल्जियमको टाइन कोट समाधि स्थलमा युद्धमा लडेका अन्य सैनिकसँगै ती सैनिकलाई राखिएको मेट्रो डटकमले जनाएको हो ।
प्रथम विश्व युद्धमा हराइरहेका ८ जना सैनिकको कंकाल ३ वर्षअघि बेल्जियमको डे रेउटेलमा फेला परेको थियो र अर्का एक जनाको कंकाल केही समयपछि फेला पारिएको छ । निर्माण कार्यका क्रममा ती सैनिकको कंकाल फेला परेको हो ।
उनीहरू सन् १०१७ को जुलाई देखि नोभेम्बर महिनामा भएको पास्चेन्डेलेको लडाइँमा मारिएका थिए । गठबन्धन राष्ट्रले निकै ठूलो मूल्य चुकाएर उक्त लडाइ जितेका थिए ।
बेलायतको रक्षामन्त्रालयको जोइन्ट क्याजुअल्टी एण्ड कमप्यासनेट सेन्टर (जेसीसीसी) ले पहिचान खुलेका सैनिकका आफन्त खोज्ने कार्य जारी राखेको छ ।
अधिकारीहरूले निजी सामानमार्फत् ७ जनाको पहिचान गरेका थिए तर बाँकी २ जनाको पहिचान खुल्न सकेको थिएन ।
पहिचान नखुलेका उनीहरूलाई ‘ठूलो युद्धका गुमनाम सैनिक’ भनेर सम्मान गरिएको भने सबै जनालाई सैनिक सम्मानसहित राष्ट्रिय झण्डा ओडाएर समाधि स्थल लगिएको थियो ।
पहिचान खुलेका अधिकांश सैनिक २०-३० वर्ष उमेरका छन् । युद्धमा शहादत प्राप्त गर्ने बेलामा म्यान्चेस्टरका सहायक सेनानी लेस्ली वालेस अल्बेटा २० र डुल्विचका सहायक सेनानी २१ वर्षका थिए ।
त्यस्तै, नर्थ योर्कशायरका प्यूठ स्टान्ली ब्लेकबोरोको उमेर २१ वर्ष र डुर्हामका जवान ह्यरी मिलरको उमेर २८ वर्षको थियो । एस्टनका हुद्दा थोमस फिस्बी ३२ वर्षका थिए ।
पहिचान खुलेका मध्ये दुई जनालाई सैन्य सेवाका लागि पुरस्कृत समेत गरिएको छ । २४ वर्षका जोसेफ प्याट्रिक्सन र २६ वर्षीय आर्नोल्ड स्यान्डर्सनलाई अक्टोबरको लडाइँमा बहादुरी देखाएको भन्दै मिलिटरी मेडल प्रदान गरिएको हो ।
प्रतिक्रिया 4