+

‘नेपाल जडिबुटी र प्राकृतिक चिकित्साको हब बन्न सक्छ’

२०७८ मंसिर  ६ गते १४:०७ २०७८ मंसिर ६ गते १४:०७
‘नेपाल जडिबुटी र प्राकृतिक चिकित्साको हब बन्न सक्छ’

६ मंसिर, काठमाडौं । भारतीय योग गुरु रामदेव र आचार्य बालकृष्ण अहिले नेपाल भ्रमणमा छन् । नेपाल बसाइको क्रममा पशुपतिमा योग शिविर चलाउनेदेखि चन्द्रागिरि डाँडासम्म पुगेर उनले ध्यान शिविर चलाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले त रामदेवलाई पर्यटनको सद्भावना दूत नै बन्न प्रस्ताव गरे । पतञ्जली आयुर्वेदका संस्थापक समेत रहेका रामदेव र बालकृष्णको नेपाल भ्रमणसँगै नेपालमा ‘वेलनेस टुरिजम’को सम्भावनाबारे पनि बहस शुरु भएको छ ।

पर्यटनका अनेक आयाम हुन्छन् । स्वीट्जरल्याण्डले मर्न आउने मान्छेलाई पैसा लिएर ‘सुसाइड टुरिजम’को अवधारणा ल्याएको छ । बुढेसकालमा दुःख पाउनुभन्दा कुनै पीडाविना नै मर्न दिने यो पर्यटनको अवधारणा विश्वका अधिकांश मुलुकले स्वीकार्न सकेका छैनन् । जुनसुकै नयाँ कुरा पनि पर्यटकीय खपतको विषय बन्छ । त्यसैले नेपालमा पनि पर्यटनको अनेक आयाम खोज्नुपर्ने माग विभिन्न क्षेत्रका विज्ञहरुको छ ।

पर्यटनका आयाममध्ये स्वास्थ्य पर्यटन (वेलनेस टुरिजम) पनि नेपालको लागि उपयुक्त रहेको विज्ञहरुको राय छ । नेपालमा वेलनेस टुरिजमको सम्भावनाको विषयमा बहस गर्दै आएका अकुपञ्चरिस्ट सुदर्शन बस्नेतसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :

नेपाल जडीबुटी उत्पादनको हिसाबले पर्याप्त सम्भावना बोकेको मुलुक हो । नेपाल स्वास्थ्य पर्यटनका हिसाबले कति सम्भावना बोकेको क्षेत्र हो ?

स्वास्थ्य पर्यटन वा वेलनेस टुरिजम स्वास्थ्य उपचारको लागि पर्यटक बोलाउने अवधारणा हो । स्वास्थ्य पर्यटनको हिसाबले नेपाल पर्याप्त सम्भावना बोकेको मुलुक हो । स्वास्थ्य पर्यटनमध्ये पनि प्राकृतिक चिकित्साको लागि नेपाल बढी सम्भावना बोकेको क्षेत्र हो । आयुर्वेदिक पर्यटन वा जडीबुटी पर्यटनको हिसाबले पनि नेपालमा ठूलो सम्भावना छ । वातावरणको हिसाबले पर्याप्त सम्भावना बोकेको ठाउँ भएपनि राज्यले यसमा बेवास्ता गर्दा यसलाई अघि बढाउन सकिएको छैन । पर्यटनको दृष्टिले राज्यको तर्फबाट अहिलेको मोडलमा परिवर्तन गर्ने हो भने यसले सिंगो विश्वमा उदाहरणीय काम गर्न सक्छ भन्ने विश्वास छ ।

अहिले हामी पर्यटन भन्नेबित्तिकै ट्राभल र ट्रेकिङलाई मात्रै बुझ्छौं । तर पर्यटनका अनेक आयामतिर हाम्रो ध्यान जाँदैन । हिमाल चढ्ने र पदमार्गमा पैदल हिँड्नु मात्रै पर्यटन होइन । थाइल्याण्डको टुरिजम मोडल होस् या त स्वीट्जरल्याण्डको टुरिजम मोडलले पर्यटनको अनेक पक्षलाई चिनाउन सहयोग गरेको छ । त्यसैले प्राकृतिक चिकित्सालाई पर्यटनको दृष्टिबाट विकास गराउनु आवश्यक छ ।

जडीबुटी पर्यटन वा प्राकृतिक उपचार पर्यटन प्रवर्द्धनका लागि नेपालले कस्तो योजना बनाउनु पर्छ ?

नेपालमा स्वास्थ्य पर्यटनको सम्भावना पर्याप्त रहेको कुरामाथि उल्लेख भइसकेको छ । यसको प्रबद्र्धनका लागि कस्तो योजना बनाउने भन्ने कुरा मुख्य कुरा हो । यसका लागि त उचित ठाउँमा जडीबुटी खेती गर्ने, प्राकृतिक चिकित्साको उपचार केन्द्रहरु निर्माण गर्ने र यसको मार्केटिङमा ध्यान दिनु नै सबैभन्दा महत्वपूर्ण कुरा हो । यसको लागि निजी क्षेत्रबाट त प्रयास भइरहेको छ । यसलाई सरकारी तवरबाट पनि ध्यानदिनु जरुरी छ ।

प्राकृतिक चिकित्सा पर्यटन शहरी भेगमा सञ्चालन गर्न सम्भव छैन । यसलाई चाहिने आधारभूत कुराहरु जस्तो, तरकारी होस् या अन्य वातावरण पनि अग्र्यानिक हुनुपर्छ । यसको लागि नयाँ–नयाँ ठाउँको खोजी गर्न सकिन्छ । जस्तो, शिवपुरीको सिरानमा यसको लागि उपयुक्त ठाउँ हुन सक्छ । यसको लागि त्यहाँसम्म जाने बाटो राम्रो बनाउने र त्यहाँ लगानी गर्न आकर्षित गरेर सरकारले सहयोग गर्न सक्छ । सामान्यतया यो चिसोभन्दा पनि न्यानो ठाउँमा उचित हुने भएकाले सोही अनुसार व्यवहार गर्नुपर्छ ।

प्राकृतिक चिकित्सा र जडीबुटी पर्यटनमा उदाहरणीय काम कसले गरेको छ ?

सामान्यतया प्राकृतिक चिकित्सालाई पर्यटनको हिसाबले धेरै मुलुकले विकास गरिसकेका छैनन् । छिमेकी मुुलुक भारतको कर्नाटक र केरलमा भने वेलनेस टुरिजममा उदाहरणीय काम भएको छ । यसबाहेक दक्षिण एसियाली अर्काे मुलुक श्रीलंकामा पनि वेलनेस टुरिजमको विकास गरिएको छ । यसबाहेक पनि फिलिपिन्स लगायतका मुलुकले प्राकृतिक चिकित्सालाई पर्यटनको रुपमा पनि विकास गरेको पाइन्छ । विश्वमा चलेका प्राकृतिक उपचार विशेषगरी गर्मी ठाउँमा प्रभावकारी देखिएको छ । तर यस्ता उदाहरण धेरैतिर देख्न सकिन्छ ।

भारतमा जस्तै नेपालमा के–कस्ता उपचार पद्धतिबाट पर्यटन आकर्षित गर्न सकिन्छ ?

नेपालका लागि उपयुक्त भनेको योग पर्यटन हो । नेपाल पहिलेदेखि नै पावन तपोभूमिको रुपमा रहेकाले अहिले पनि मनशान्तिको लागि योग पर्यटन नै नेपालको लागि उपयुक्त हुन्छ । आयुर्वेदिक थेरापी सम्बन्धी पर्यटनको सम्भावना पनि नेपालमा ठूलो छ । धेरै प्रकारका जडीबुटीको लागि उर्वर भूमि रहेको एवं हिमालीदेखि तराई भेगसम्मको सबैखाले हावापानी रहेकाले पनि नेपालमा प्राकृतिक चिकित्साभित्रकै अनेक आयामलाई पर्यटनको हिसाबले विकास गर्न सकिने अवस्था छ ।

जडिबुटी प्राकृतिक चिकित्सा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?