६ मंसिर, काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका-१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या भएको १३ दिन पुग्दा पनि प्रहरीले आरोपीहरुलाई पक्राउ नगरेको भन्दै युवाहरुले माइतीघरमा प्रदर्शन गरेका छन् ।
उनीहरुले तत्काल आरोपीलाई पक्राउ गरी न्याय दिन माग गरेका छन् । प्रदर्शनमा सहभागी मिलन ढकालले १३ दिन बितिसक्दा पनि प्रहरीले दोषीहरुलाई पक्राउ नगरेर भाग्ने समय दिएको आरोप लगाए ।
उनले भने ‘परिवारले किटानी जाहेरी दिएको व्यक्ति ढाका पुगेको भन्ने खबर आएको छ । किटानी जाहेरी दिँदा पनि पक्राउ किन गरेन । उत्तर चाहियो ।’ प्रहरीले दोषीलाई तत्काल पक्राउ गरी भूपेन्द्र र उनको परिवारलाई न्याय दिनुपर्ने माग गर्दै सडकमा आएको बताए ।
मृतकका आफन्तले हत्याको मुख्य योजनाकार सोही ठाउँका नवीन रावल रहेको आरोप लागाएका छन्। उनीसहित १६ जनाविरूद्ध आफन्तले किटानी जाहेरी दिएका छन्।
प्रहरीले रावललाई पक्राउ गर्न सकेको छैन। अहिलेसम्म हत्यामा संलग्न भएको आरोपमा प्रहरीले 10 जनालाई पक्राउ गरेको छ ।
बडुवालको हत्या गरिएको घटनाको अनुसन्धानको क्रममा फरार रहेका लम्कीचुहा नगरपालिका-३ चिसापानीका १९ वर्षीय मदन शाहीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा सोमबार धरान उपमहानगरपालिका-४ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4