
७ मंसिर, सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका एक जना गाउँ कार्यपालिका सदस्यले फेसबुकमा लेखे, ‘गाउँपालिकाको निमित्त अध्यक्षमा मलाइ जिम्मेवारी दिनुभएकोमा श्री सतिश कुमार भाइजीलाई धन्यवाद ।’
गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह व्यक्तिगत कामले सोमबार भारत गएको केही घण्टामै बोर्ड सदस्य दामोदर मुखियाले फेसबुकमा यस्तो पोष्ट गरेका हुन् । यो पोष्टले धेरै जना अन्योलमा परे । सोधखोज गर्दै जाँदा गाउँपालिका अध्यक्षले उनलाई यस्तो जिम्मेवारी नदिएको खुल्यो ।
गाउँपालिका अध्यक्षले मुखियालाई निमित्त तोकेको कुनै प्रमाण थिएन । उनले अरुको ध्यान आफूतर्फ तान्न मात्र यस्तो गरेको पाइएको छ ।
गाउँपालिकाका प्रमुख प्रकासकीय अधिकृत केशव झा मुखियाले आफूलाई पनि झुक्याएको बताउँछन् । झाका अनुसार गाउँपालिका कार्यालय नजिकै रहेको सरस्वती मन्दिरमा सोमबार दिउँसो मुखियाले पूजापाठ गरेका थिए । मन्दिरका पूजारीसँग आशिर्वाद लिँदै प्रसादका रुपमा लड्डू पनि चढाए । उनले सरस्वतीको मूर्तिमा माला लगाइदिए र त्यही माला पूजारीमार्फत आफूले लगाए ।
पूजापाठ गरेपछि उनी गाउँपालिका कार्यालय आएर प्रसाद बाँडे । ‘यसपछि मुखियाले मलाइ पनि माला लगाइदिन खोजे’ झा भन्छन्, ‘मलाई किन माला लगाउनुहुन्छ भनेर प्रश्न पनि गरेँ तर उनले पूजा गरेर आएको छु लगाउँदा नै के हुन्छ भनेपछि लगाएँ ।’
माला लगाइदिएपछि उनले आफूसँगै एउटा फोटो खिच्न चाहेको पनि झा बताउँछन् । झालाई उनले विश्वास दिलाए, ‘उनले एउटा फोटो लिदैंमा के जान्छ भन्दा फोटो पनि खिचाएँ ।’
यहीं फोटो फेसबुकमा राखेर मुखियाले आफूलाई निमित्त गाउँपालिका अध्यक्ष घोषणा गरेका हुन् । प्रमुख प्रशासकीय अधिकत झा आफूसँग खिचाएको फोटोको दुरुपयोग हुन्छ भन्ने आफूलाई नलागेको बताउँछन् ।
अध्यक्ष भन्छन् : कसैलाई निमित्त दिइएको छैन
व्यक्तिगत कामका लागि भारत गएका गाउँपालिका अध्यक्ष सिंहले कसैलाई पनि निमित्त नदिएको बताए । भारतबाटै सम्पर्कमा आएका उनले दुई दिनका लागि मात्रै भारत आएकाले कसैलाई निमित्त नदिएको बताए ।
‘भारत जाने बेला मुखिया भेटिएका थिए, उनलाई गाउँपालिका हेर्दै गर्नु मात्रै भनेको थिएँ’ सिंहले भने, ‘उनले कसरी आफूलाई निमित्त भने त्यो कुरा आफूलाई थाहा भएन ।’
मुखिया भन्छन् : मौखिक त भनेकै हो
गाउँ कार्यपालिका सदस्य मुखियाले अध्यक्षले आफूलाई मौखिक रुपमा निम्त्रि दिएको प्रतिक्रिया दिए । ‘उहाँ भारत जाने बेलामा मलाई मौखिक रुपमा निमित्त दिनुभएको हो । त्यही भएर पूजापाठ गरेर फोटो खिचाएँ’ उनले भने ।
प्रतिक्रिया 4