१० मंसिर, पोखरा । नेपाली कांग्रेसको कास्की जिल्ला सभापतिका लागि ५ जनाबीच प्रतिस्पर्धा भएको छ । कांग्रेसभित्र देखिएको ३ विचार समूहकै प्रतिनिधित्व गर्दै उम्मेदवारी परेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट बढी उम्मेदवार छन् । नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान भएको छ ।
सभापति शेरबहादुर देउवा समूहका किशोरदत्त बरालले प्यानलसहित उम्मेदवारी दिएका छन् । पौडेल समूहबाट आइबहादुर गुरुङ, पोषनाथ शर्मा पौडेल र गिरीराज गौतम उम्मेदवार बनेका छन् ।
कास्की पौडेल समूहको हाबी भएको जिल्ला मानिन्छ । तर, पौडेल समूहका मानिएका नेताहरुले फरक फरक उपगुट चलाउँदै आएका छन् । पुराना नेता शुक्रराज शर्मा, पूर्व सांसद यज्ञबहादुर थापा र कास्की कांग्रेसका सभापति कृष्ण केसीले कास्कीको राजनीतिलाई प्रभाव पारिरहेका छन् ।
सभापतिका अर्का उम्मेदवार सुदीपमोहन भट्टराई कृष्ण सिटौला निकट मानिन्छन् । जिल्ला उपसभापति, सचिव र सहसचिवमा ९/९ जनाको उम्मेदवारी परेको छ ।
उपसभापतिमा कृष्णप्रसाद ढुंगाना, नारायणप्रसाद श्रेष्ठ, प्रज्वल रन्जित, विजयराज भण्डारी, युवराज कुवँर, रामबाबु भण्डारी, रंगिला आचार्य, लेखबहादुर गुरुङ र हरिप्रसाद लामिछानेले उम्मेदवारी दिएको निर्वाचन अधिकृत रामचन्द्र पौडेल (विमल) ले जानकारी दिए ।
सचिवमा अमृतकुमार श्रेष्ठ, कृष्णप्रसाद तिमिल्सिना, देवेन्द्र भाट, भरतप्रसाद तिवारी, भानुभक्त ढकाल, महेन्द्र पुन, राजबहादुर गुरुङ, विष्णुप्रसाद पौडेल र सिरोज कोइरालाले उम्मेदवारी दिएका छन् ।
सहसचिवमा कृष्णमान ठुसाजु, गणेबहादुर थापा, जयप्रकाश थापा, देवराज गुरुङ, नवीन सिग्देल, भीम गौतम, लक्ष्मण पहारी, विकास थापा र शंकर ढुंगानाले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया 4