
१० मंसिर, काठमाडौं । शुक्रबार एमाले महाधिवेशन स्थलसँगैको चितवनको भरतपुरस्थित नारायणी नदीमाथिको पुलमा ठूलो भीड छ । विसं २०३८ सालमा बनेको यो पुलमा अधिक जम्मा भएका मान्छे हटाउन र अत्यावश्यक सेवाका गाडी ‘स्कर्टिङ’ गर्न प्रहरीले सास्ती भोगिरहेको छ । तर, सरकारले योजनाअनुसार काम गरेको भए यतिबेलासम्म यो पुलसँगै अर्को ‘सिग्नेचर’ (कलात्मक) पुल बनिसकेको हुने सडक विभागकै अधिकारीहरु बताउँछन् ।
२०७३ सालबाटै सडक विभागले पूर्वपश्चिम राजमार्गको चितवनको नारायणगढ र पूर्वी नवलपरासीको गैँडाकोट जोड्न ‘सिग्नेचर’ ब्रिज बनाउने योजना ल्याएको थियो । यही योजनाका कारण नारायणगढ-बुटवल खण्ड विस्तारका क्रममा पनि नयाँ पुल बनाउने गरी ठेक्का लगाइएन ।
तर, अहिलेसम्म पनि सो पुल योजनामा मात्रै सीमित छ । सडक विभागका प्रवक्ता शिवप्रसाद नेपाल भरतपुर र गैँडाकोटमा बढेको शहरीकरण र राजमार्गमा बढ्दो चापका कारण नरायणी नदीमाथि अर्को पुल बनाउनु अत्यावश्यक भइसकेको बताउँछन् ।
‘हामीले पहिलो पटक दमौलीमा मादी नदीमाथि ‘सिग्नेचर’ पुल बनाउन डिजाइन गरेर अर्थमन्त्रालयमा स्रोत सुनिश्चिताका लागि पठाएका थियौं,’ उनले भने, ‘तर, लागत महँगो भएको भन्दै अर्थ मन्त्रालयले सहमति दिएन, त्यसपछि अरू नदीमाथि कलात्मक पुलहरू बनाउने योजना अघि बढ्न सकेको छैन ।’
सडक विभागको दोस्रो पुल सुधार तथा मर्मत योजनाअन्तरगत देशका १० स्थानमा कलात्मक पुलहरु बनाउने योजना बनेको थियो । यसमा विश्व बैंकबाट सहयोग जुटाउने योजना भएपनि विभागले अर्थ मन्त्रालयबाट सहमति पाएन ।
विभागका प्रवक्ता नेपाल राजमार्ग भएकाले सो स्थानमा पुल नबनाई सुख छैन । त्यसैले अब पुल बनाउँदा सकेसम्म कलात्मक ढंगबाटै बनाउने योजना रहेको बताउँछन् ।
‘नियमित खालको पुलमा केही लगानी थपेर केही कलात्मक बनाउने प्रयास गर्छौं, उनले भने,’योजनाअनुसार पुल बन्यो भने शहरी सौन्दर्य र पर्यटकीय हिसावले पनि महत्व राख्छ ।’
अब विदेशी सहयोग लिन नसके आन्तरिक श्रोतबाटै भएपनि पुल निर्माण गरिने विभागको दावी छ । सरकारले प्राथमिकतामा नराख्दा अत्यावश्यक ठाउँमा पनि सामान्य खालका पुलहरू बन्न रोकिएको छ ।
प्रतिक्रिया 4