१२ मंसिर, धनगढी । नेपाली कांग्रेसको कञ्चनपुुर जिल्ला सभापतिमा पदम बोगटी निर्वाचित भएका छन् ।
बोगटीले ८०६ मत ल्याए भने उनका प्रतिद्वन्द्वी बहादुर सिंह थापाले ७१५ मत ल्याएका प्रचारप्रसार विभाग प्रमुख चक्र महताले जानकारी दिए । सभापतिमा निर्वाचित बोगटी कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका नेता रमेश लेखक निकटका हुन् ।
बोगटी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा भीमदत्त नगरपालिकाको मेयरमा पराजित भएका थिए । सभापतिमा पराजित भएका थापा भने पूर्वसांसद तथा कांग्रेसको पूर्वजिल्ला सभापति हुन् ।
बोगटी नेता एनपी साउद निकट मानिने भए पनि यस पटक साउदले सभापतिमा थापालाई अघि सारेपछि लेखकको प्यानलबाट उम्मेदवार बनेका थिए ।
उपसभापतिमा मीनबहादुर सिंह र हरिशचन्द्र राना विजयी भएका छन् । सचिवमा भीम भट्ट र हेमराज ओझा निर्वाचित भएका छन् ।
जिल्ला सभापतिमा नेता रमेश लेखक निकट उम्मेदवार विजयी भएपनि अन्य पदाधिकारीमा भने साउदको वर्चश्व रहेको कांग्रेसका एक नेताले बताए । केन्द्रमा पार्टी सभापति शेरबहादुर देउवाको पक्षमा रहेका नेताद्वय लेखक र साउदबीच कञ्चनपुरमा भने प्रतिस्पर्धा हुँदै आएको छ ।
नेता दिवानसिंह विष्टको साथ पाएका कारण लेखक भन्दा कञ्चनपुरमा साउद बलिया देखिएका छन् ।
प्रतिक्रिया 4