
१४ मंसिर, काठमाडौं । नेपालमा मदिरा र बियरले अन्तःशुल्क राजस्वमा बढी योगदान गर्ने गरेको पाइएको छ ।
आन्तरिक राजस्व विभागको आंकडा अनुसार आर्थिक वर्ष २०७७/७८ को एक वर्षको अवधिमा अन्तःशुल्क राजस्व संकलन ८१ अर्ब ५१ करोड रुपैयाँ भएको छ । यसमा सबैभन्दा ठूलो योगदान मदिरा र बियरको रहेको विभागको तथ्यांकमा उल्लेख छ ।
हरेक वर्ष सरकारले स्वास्थ्यका लागि हानिकारक मानिने वस्तुहरुमा लगाउने करमा वृद्धि गर्दै लगेको छ । पछिल्लो ७ वर्षमा अन्तःशुल्क राजस्व करिब तेब्बरले वृद्धि भएको पाइएको छ । यद्यपि खपतमा भएको वृद्धि र करको दायरा बढ्दै जाँदा अन्तःशुल्क राजस्व समेत बढेको विभागको भनाइ छ ।
विभागको तथ्यांक अनुसार मदिराबाट एक वर्षमा २४ अर्ब ३२ करोड रुपैयाँ अन्तःशुल्क राजस्व उठेको छ । बियरबाट यस्तो राजस्व २१ अर्ब रुपैयाँ संकलन भएको छ ।
सिगरेट/बिँडीजस्ता टोबाको सेवन गर्नेबाट एक वर्षमा २० अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
अन्य औद्योगिक उत्पादनबाट भने एक वर्षमा मात्र १५ अर्ब ८० करोड रुपैयाँ अन्तःशुल्क उठेको छ । यस आधारमा हेर्दा कुल अन्तःशुल्कमा बियर र मदिराबाट मात्र ५५.६ प्रतिशत योगदान भएको देखिएको छ ।
के हो अन्तःशुल्क राजस्व ?
विभागका अनुसार अन्तःशुल्क लाग्ने भनि कानुनले तोकेको वस्तु तथा सेवाको उत्पादन र आयात दुवै अवस्थामा तिर्नुपर्ने कर नै अन्तःशुल्क हो । यो कर उत्पादनकर्ता वा पैठारीकर्ताले ग्राहकबाट उपर गरी सरकारलाई बुझाउँछन् । सोहीकारण यसको अन्तिम भार उपभोक्तामा पर्छ । जति धेरै यस्तो वस्तुको खपत भयो, सरकारले उत्ति धेरै कर प्राप्त गर्छ । यो कर विलासिताका वस्तु, मानव तथा पर्यावरणमा नकारात्मक असर पर्ने सुर्तीजन्य र मदिराजन्य वस्तुमा लगाइन्छ ।
यसको उद्देश्य कर बढाउने नभई यी वस्तुको उत्पादन, पैठारी र खपत कम होस् भन्ने नै रहेको हुन्छ । अन्तःशुल्क लाग्ने वस्तुको सूची हरेक वर्ष आर्थिक ऐनले तोक्ने गर्छ । नेपालमा चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्म कुल १ लाख १० हजार २ सय ६१ करदाता अन्तःशुल्कमा दर्ता भएका छन् । यी सुर्ती तथा सिगरेट उद्योग, मदिरा/बियर उत्पादन तथा आयात र बिक्रीको इजाजत पाएका उद्योग तथा कम्पनीको संख्या हो । चालु आवको पहिलो त्रैमासमा मात्र अन्तःशुल्कमा ७ हजार ६ सय ७१ करदाता थपिएका छन् ।
अन्तःशुल्क ७ वर्षमा करिब तेब्बरले वृद्धि
तथ्यांक अनुसार अन्तःशुल्क राजस्व हरेक वर्ष वृद्धि भइरहेको देखिन्छ । सोही अनुसार ७ वर्षयता तेब्बरले अन्तःशुल्क संकलन बढेको छ ।
आर्थिक वर्ष २०७१/७२ मा अन्तःशुल्क राजस्व ३१ अर्ब ५ करोड थियो । आव २०७७/७८ मा आइपुग्दा यस्तो राजस्व ८१ अर्ब ५१ करोड पुगेको छ । आव २०७१/७२ मा बियरको तुलनामा सिगरेट र बिँडीको योगदान बढी थियो ।
आव २०७६/७७ मा भने बियरको खपत कम भएको र सिगरेटको खपत बढी भएको देखिन्छ । त्यसबाहेकका वर्षहरुमा भने सिगरेट भन्दा बियरको खपतबाट बढी राजस्व संकलन भएको देखिन्छ । तर, राजस्वमा सबैभन्दा योगदान भने हरेक वर्ष मदिराले गरिरहेको छ ।
कुन आवमा कति अन्तःशुल्क (रु. अर्बमा) ?
वस्तु | २०७१/७२ | २०७२/७३ | २०७३/७४ | २०७४/७५ | २०७५/७६ | २०७६/७७ | २०७७/७८ |
सुर्ती/सिगरेटलगायत | ७.१७ | ८.९५ | १०.९९ | १४.०४ | १५.१२ | १८.५५ | २०.३९ |
मदिरा | १२.६८ | १४.५ | १८.७ | २२.९६ | २५.२२ | २०.०५ | २५.३२ |
बियर | ६.८६ | ८.२९ | ११.१९ | १५.६२ | २०.८९ | १४.८२ | २१ |
अन्य औद्योगिक उत्पादन | ४.३४४ | ४.४५ | ६.३२ | ७.८४ | १२.३८ | ११.४२ | १५.८ |
कुल | ३१.०५ | ३६.१९ | ४७.२० | ६०.४६ | ७३.६१ | ६४.८४ | ८१.५१ |
स्रोत : आन्तरिक राजस्व विभाग
प्रतिक्रिया 4