+
+

बनिसक्नै लाग्दा विवादमा फस्यो भैंसेपाटीको मन्त्री क्वार्टर

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ मंसिर १४ गते १७:११

१४ मंसिर, काठमाडौं । काठमाडौंको भैंसेपाटीमा निर्माणाधीन संघीय मन्त्री निवासका भवनहरु निर्माणको काम अन्तिम चरणमा पुगेको छ । तर, मन्त्री निवासको पश्चिमतर्फका स्थानीयले सडकको मुद्दा उठाएपछि कम्पाउण्ड पर्खाल बनाउने काम रोकिएको छ ।

शहरी विकास तथा भवन निर्माण विभाग अन्तरगतको विशेष भवन निर्माण आयोजना निर्देशक दिलीपशेखर श्रेष्ठका अनुसार पश्चिमतर्फका स्थानीयवासीले लामो समयदेखि मन्त्री निवासको पर्खाल लगाउँदा ११ मिटरको सडक छोड्नुपर्ने माग गर्दै आएका छन् । तर, आयोजनाले भने ८ मिटर मात्रै छोड्न सकिने अडान राख्दै आएको छ ।

‘उहाँहरुको मागअनुसार पर्खाल लगाउँदा मन्त्री निवासको गुरुयोजना नै प्रभावित हुन्छ,’ उनी भन्छन्, ‘११ मिटर नै आयोजनाको जग्गाबाट छोड्न माग आएको छ, तर हामीले त्यति धेरै स्पेस दिन नसकिने बताएका छौं ।’

स्थानीयलाई ११ मिटरको सडक चाहिने भए ‘सेन्टर लाइन’ राखेर त्यसबाट दुवैतर्फ आयोजना र स्थानीयले जग्गा दिने सहमति गर्न सरकारले आग्रह गरेको छ । तर, त्यसमा पनि स्थानीयले चित्त नबुझाएपछि मन्त्री निवासलाई पक्की पर्खालले घेर्ने काम अलपत्र परेको छ ।

सडकबारे सहमति नभएपछि मन्त्री निवासबाट निस्कने आकाशे पानी ढलको व्यवस्थापनबारे पनि अन्योल भएको छ । कम्पाउण्ड बाहरिको सडकमुनिबाटै ढलको व्यवस्थापन गर्नुपर्ने भएकाले सामाजिक रुपमा उत्पन्न यस्तो मतभेदले समस्या पारेको आयोजना प्रमुख श्रेष्ठले बताए ।

‘पर्खाल नलगाई भित्रका सर्भिस सडकहरु बनाउन पनि सकिँदैन,’ उनले भने, ‘यो खालको समस्याले मन्त्री कहिलेबाट बस्न योग्य बन्छ भन्ने यकिन भन्न सकिएको छैन । योजनाअनुसार सबै काम सहज ढंगबाट पाएको भए चैतबाट मन्त्रीज्युहरु यहाँ बस्न आउन सक्नुहुन्थ्यो ।’

आयोजनाका अनुसार अहिलेसम्म मन्त्री निवासको काम ६५ प्रतिशत सकिएको छ । तर, अब रङ लगाउने, झ्याल हाल्ने र फ्लोरिङ गर्ने काम मात्रै बाँकी रहेकाले ३५ प्रतिशत काम सक्न धेरै समय नलाग्ने श्रेष्ठ बताउँछन् ।

ठेक्का सम्झौताअनुसार २७ कात्तिक, २०७८ गते नै यो भवनहरु निर्माण भएर हस्तान्तरण भइसक्नुपर्थ्यो, तर महामारीको कारण देखाएर आयोजनाको म्याद आगामी चैतसम्म थपिएको छ ।

मन्त्री क्वार्टर चैतसम्म आयोजना तयार हुने/नहुने भन्ने तय स्थानीय रुपमा उत्पन्न समस्याको समाधान कति छिटो हुन्छ भन्नेमा निर्भर हुने आयोजनाको भनाइ छ । मन्त्री निवास क्षेत्रबाट निस्कने पानीको निकास उपयुक्त तवरले गरेपछि मात्रै गुरुयोजनाअनुसार दोस्रो चरणको काम थाल्ने योजना छ ।

पहिलो चरणको काम सकिएपछि दोस्रो चरणमा मन्त्री निवासभित्र सुरक्षाकर्मी बस्ने भवन, स्विमिङ पुल, सामुदायिक भवन, बगैँचा लगायतका पूर्वाधार पनि बनाइने छ । त्यसका लागि ठेक्का मूल्यांकनको काम अन्तिम चरणमा पुगेको आयोजनाले जानकारी दिएको छ । आयोजनको दोस्रो फेज अन्तरगत निर्माणको काम गर्न ९ वटा कम्पनीहरु प्रतिस्पर्धामा छन् । ‘ठेक्का लागेको डेढ वर्षभित्र दोस्रो चरणका संरचनाहरु बनिसक्छन्, ’आयोजना प्रमुख श्रेष्ठ भन्छन्, ‘त्यसपछि मन्त्री क्वार्टर गुरुयोजना अनुरुप तयार हुन्छ ।’

अहिले पहिलो चरणमा भवन निर्माणको काम १ अर्ब ३ करोडको लागतमा श्रीको–हनुमान जेभीले गरिरहेको छ । २४ मन्त्रीका लागि छुट्टा छुट्टै भवन बनाइएको छ भने सो स्थानमा राष्ट्रिय सभाका  अध्यक्षका लागि पनि विशेष भवन तयार गरिएको छ । त्यसबाहेक अरु दुई भवन प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्षका लागि तयार गरिएको छ ।

मन्त्री बस्ने भवनहरुमा भुइँ तल्लामा लबी, लिभिङ रुम, बैठक कक्ष, गोप्य बैठक कक्ष, कार्यालय हुने छन् । माथिल्लो तल्लामा भान्सा र डाइनिङसहित मास्टर बेड रुम र बेड रुम हुनेछन् । त्यसभन्दा माथिको तलामा योगा कक्षसहित बेड रुम पनि राखिएका छन् ।

आयोजना प्रमुख श्रेष्ठ भवनहरुको इन्टेरियर वास्तुलाई ध्यानमा राखेर तयार गरिएको बताउँछन् । प्रत्येक मन्त्री निवासमा गार्डका लागि छुट्टै कक्ष छ भने निवास क्षेत्र छिर्नुअघि विमानस्थलमा जसतै एक्सरे परीक्षण गर्ने गरी सुरक्षा व्यवस्था मिलाउने तयारी छ ।

‘एउटा परिवारलाई सुविधाजनक रुपमा बस्नयोग्य हुने गरी क्वार्टर तयार हुँदैछ,’ श्रेष्ठले भने ।

तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?