१६ मंसीर, काठमाडौं । बालाचतुर्दशीअन्तर्गत आज दिवंगत पितृका नाममा दीपदान गरिंदैछ । साँझ दीपदान गरी भोलिपल्ट बिहानै पितृको सम्झनामा शतवीज छरेर बालाचतुर्दशी पर्व मनाइन्छ ।
बिहीबार साँझ दीपदान अर्थात् बत्ती बाल्नका लागि काठमाडौंको पशुपतिनाथमा धेरै भक्तजन भेला भएका छन् । प्रत्येक वर्ष मंसीर त्रयोदशीका दिन दीपदान गर्न हजारौं भक्तजन पशुपतिनाथ मन्दिर आउँछन् । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्छ ।
त्रयोदशीको दिन साँझ दीपदान गरेर उनीहरु रातभर भजनकीर्तन गरी जाग्राम बस्छन् र भोलिपल्ट चतुर्दशीको दिन आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शतवीज छर्छन् ।
पशुपति क्षेत्रको १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, मृगस्थली, विश्वरूप, किराँतेश्वर आदि ठाउँमा शतवीज छर्ने गरिन्छ । शतवीज छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गर्ने प्रचलन छ ।
शतवीजमा धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर छर्ने चलन छ ।
हेर्नुहोस् तस्वीरहरु
प्रतिक्रिया 4