
१८ मंसिर, चितवन (माडी) । वायुमण्डल चिसिँदैछ । मौसम रुखो र सुख्खा हुँदैछ । रुखपात नाङ्गो हुँदैछ । यही उराठलाग्दो याममा तराईका समतल फाँटहरुलाई भने तोरीका फूलहरुले मनमोहक बनाइदिएको छ ।
अनन्तसम्म देखिने पहेंलपुर फाँट, हावामा लहराइरहेका तोरीका फूलहरु, अनि फूलमा झुमिरहेका भँमरा र मौरीहरु । प्रकृतिको कति कलात्मक रचना !
यी दृश्यहरुले हाम्रो इन्द्रियलाई जागृत गराइदिन्छ । आँखालाई यसको सौन्दर्यले लोभ्याउँछ, मौरी र भँमराको भुनभुन आवाज आफैंमा संगीतमय लाग्छ । त्यसमा तोरीको सुगन्ध त छँदैछ । तोरीबारीको सौन्दर्यमा एकोहोरिरहँदा मन त्यसै–त्यसै रोमाञ्चित हुने ।
तोरी एक तेलजन्य वनस्पति । तोरीको तेल बहुउपोगी मानिन्छ । खानका लागि होस् वा मालिस गर्नका लागि, परम्परादेखि नै तोरीको तेल उपयोग हुँदै आएको छ । सुत्केरी, नवजात शिशु, बुढापाकाको शारीरमा मालिस गर्न तोरीको तेल नै खोजिन्छ । त्यसैगरी कपाललाई बलियो, मुलायम, चम्किलो बनाउन तोरीको तेल लगाउने गरिन्छ ।
अर्कोतर्फ भँमरा, मौरीको लागि राम्रो आहार पनि हो तोरीको फूल । जसै बारीमा तोरी फूल्न थाल्छ, मौरी र भँमराहरु झुम्मिन आइपुग्छन् । तोरीको फूल मौरी चरनका लागि पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । त्यसैले त तोरीको फूलमा चरेका मौरीको मह बढी स्वादिलो र स्वस्थ्यकर मानिन्छ ।
यसपाली चितवनको माडी पुग्दा फाँटहरुमा ढकमक्क तोरी फूलेको देखियो । चितवन यसैपनि तोरी उत्पादनका लागि प्रख्यात ठाउँ । तर, जग्गा प्लटिङ गर्ने क्रम जति तिब्रतासाथ भइरहेका छन्, त्यसले तोरीबारीको आयतन खुम्च्याउँदै गएको छ । त्यसैले अब क्रमस तोरीबारीको सौन्दर्य हराउँदै जाने जोखिम छ ।
प्रतिक्रिया 4