२० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक पार्टी कार्यालय सानेपा पुगेका छन् । असार २९ गते प्रधानमन्त्री नियुक्त बनेका देउवा कांग्रेस महाधिवेशनको तयारीका बारेमा छलफल गर्न सोमबार पार्टी कार्यालय पुगेका हुन् ।
पार्टी कार्यालयका सचिव प्रकाश शर्माले महाधिवेशन सम्पन्न गर्न गठन भएका विभिन्न समितिका संयोजकहरुसँग प्रधानमन्त्रीले छलफल गरिरहेको जानकारी दिए । कांग्रेसले महाधिवेशनको तयारीका लागि एक दर्जन समिति गठन गरेको थियो ।
सचिव शर्माले भने, ‘संयोजकहरुले आफ्नो समितिले गरिरहेको कामबारेमा सभापतिज्यूलाई जानकारी गराउनुहुनेछ ।’
कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४–२७ सम्म काठमाडौंमा हुँदैछ । त्यसअघि वडा, पालिका, प्रदेश सभा, प्रतिनिधिसभा, जिल्ला हुँदै प्रदेश अधिवेशन सम्पन्न भइसकेको छ । जिल्लाहरुमा प्रतिनिधि छनोटमै विवाद भएपछि प्रदेश २ को प्रदेश समितिको अधिवेशन भने महाधिवेशन पछि हुने भएकाे छ ।
सानेपामा क्रियाशील सदस्यताको विषयलाई लिएर विभिन्न जिल्लाका नेता कार्यकर्ता महिनौं लामो अनसनमा बसेपछि सभापति देउवा पार्टी कार्यालय गएका थिएनन् । पार्टीका बैठकहरु देउवा निवास बुढानिलकण्ठमा हुँदै आएका छन् ।
अधिवेशन प्रक्रिया अघि बढेसँगै सानेपामा जारी अनसन पनि स्थगन भएका छन् ।
प्रतिक्रिया 4