२५ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको १४औं महाधिवेशन शुक्रबार शुरु भएको छ । १३औं महाधिवेशन भएको राजधानीस्थित खुलामञ्च नजिकै रहेको भृकुटीमण्डपमा अर्को महाधिवेशन गर्न काँग्रेसलाई ७० महिना कुर्नुपर्यो ।
पार्टी विधानअनुसार महाधिवेशन भएको भए यतिबेला नयाँ नेतृत्वको कार्यकाल समेत २२ महिना पार भइसक्ने थियो । तर पार्टी विधानको ४ वर्षे प्रावधानअनुसार महाधिवेशन गर्न नसकेको काँग्रेसको वडा अधिवेशन शुरु भएको तीन महिनापछि महाधिवेशन उद्घाटन भएको छ । साढे पाँच वर्षभित्र महाधिवेशन नगराए पार्टीको वैधानिकता नरहने संवैधानिक बाध्यताका कारण गएको १८ भदौमा वडा अधिवेशन शुरु भएको थियो ।
तर क्रियाशील सदस्यता विवादका कारण वडा अधिवेशनको तालिका समेत पकपटक प्रभावित बन्यो । अन्ततः मिनपचासको चिसोमा काँग्रेस महोत्सवको तातो शुरु भएको छ । यो महाधिवेशनले नेतृत्व अद्यावधिक गर्नेछ भने पार्टीको वैधानिकता र लोकतान्त्रिक अभ्यास पूरा गर्नेछ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, पार्टी जीवनमा मात्रै नभएर महाधिवेशन राष्ट्रिय राजनीतिका निम्ति पनि महत्वपूर्ण बनेको बताउँछन् । उनको भनाइमा, महाधिवेशनले पार्टीभित्र उर्जा त ल्याएको छ नै, सँगै दलहरुबीचको सम्बन्ध सुधारमा पनि सहयोग पुगेको छ । ‘दलहरुबीच जस्तो विभाजित मनोविज्ञान थियो । काँग्रेसको मञ्चले सवैलाई एकैठाउँ सक्यो, शर्मा भन्छन् ।
नेतृत्व चयन प्रक्रिया शुरु हुनुअघि उद्घाटन सत्रमा अन्य दलका नेताहरुको उपस्थितिलाई काँग्रेसले आफ्नो सफलताका रुपमा लिएको छ । गएको वर्ष संसद् विघटन गर्ने तत्काली प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय पछि तिक्ततापूर्ण सम्बन्धमा रहेका नेताहरु एउटै मञ्चमा उभिएकाले उद्घाटन सत्र सफल बनेको काँग्रेस नेताहरु बताउँछन् । काँग्रेसलाई शुभकामना दिन सवैजसो राजनीतिक दलका प्रमुखहरु नै आएका थिए ।
अझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टी विभाजन गरी नेकपा एकीकृत समाजवादी बनाएका माधवकुमार नेपालले पहिलोपटक एउटै मञ्चमा सम्बोधन गरे । ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्वादलाई पनि काँग्रेसले उपलब्धि मानेको छ ।
कम्युनिष्ट नेताहरु मात्रै नभएर जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र जसपाबाट अलग हुँदै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष बनेका महन्थ ठाकुर पनि सँगै थिए । ‘एक जना आउँदा अर्को जना नआउने अवस्था हुन्थ्यो होला, तर जस्तोसुकै अवस्था रहेपनि साझा मञ्चमा उभिएर देशबारे चिन्तन गर्न सकिन्छ भन्ने सन्देश पनि दियौं’ शर्मा भन्छन् ।
भारतका प्रमुख राजनीतिक दलका नेताहरुले समेत सम्बोधन गरेको र नेपालका सवैजसो दलका प्रमुख उपस्थिति महाधिवेशनको उद्घाटन सत्रमा काँग्रेसकै नेताहरुको पनि समान अभिव्यक्ति थिएन । एकअर्का दलहरुबीच कटाक्ष त थियो नै, काँग्रेसकै नेताहरुबीच पनि मतैक्य रहेन । विशेषगरी नेतृत्व चयनका निम्ति चयन भएका प्रतिनिधि (४७४३ जना) लाई प्रभाव पार्नेमा नेताहरुको अभिव्यक्ति केन्द्रीत रह्यो ।
उद्घाटन सत्र अन्त्य गर्दै छोटो सम्बोधन गरेका सभापति शेरबहादुर देउवाले त, सिधैं भोट मागेर विदा भए । ‘काँग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार काँग्रेसको हुनेछ । काँग्रेसको सरकार रहिरह्इो भने राष्ट्रिय सरकार काँग्रेसको हुनेछ । त्यसका लागि मलाई एक पल्ट जिताइदिनुस्’, देउवाको भनाइ थियो ।
देउवा अघि बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि काँग्रेस जोगाउन आफ्नो भूमिकाको व्याख्या गरेका थिए । ओलीले संसद् विघटन गर्दा त्यस विरुद्ध लडेकै कारण देउवाले सरकारको नेतृत्व गर्ने अवसर पाएको उनको दावी थियो ।
देउवाजस्तै प्रष्ट तर्क भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राखे । पार्टीमा युवा भूमिकाबारे व्याख्या गरेका सिटौलाले भने, ‘मैले जुन युवा मेरो साथमा भेटेँ, प्रदीप पौडेललाई । तपाइँ अगाडि बढ्नुस्, मेरो साथ छ भनेको छु ।’ अर्थात् १३औं महाधिवेशनमा तेस्रो धार बनाएर सभापतिको उम्म्देवार बनेका सिटौलाले पौडेलका निम्ति मत मागे । पौडेलले महामन्त्री पदमा उम्मेद्वारीको घोषणा गरेका छन् ।
रामचन्द्र पौडेल सहित नेताहरुले प्रष्ट मत नमाग्नुमा भने संस्थापन इतरले सभापति पदको उम्मेद्वार टुंग्याउन नसक्नु थियो ।
मञ्चमा उद्घाटन सत्र चलिरहँदा मैदान परिसर भने प्रचारमय बन्यो । पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय कार्य समितका नेताहरु मञ्चमा थिए । तर त्यसभन्दा तलका नेता तथा कार्यकर्ता भने उम्मेद्वारी प्रचारका अनेक माध्यमका साथ घुमिरहे ।
‘यो महाधिवेशनमा हामीले जिल्लामा गएर महाधिवेशन प्रतिनिधि साथीहरुसँग भेट्ने र अन्तरक्रिया गर्ने समय नै पाएनौं’ महाधिवेशन परिसर घुमिरेका नेता उदय शमशेर राणा भन्छन्, ‘उद्घाटनको समयमा सबैजसो महाधिवेशन प्रतिनिधि साथीहरु भएको बेलामा मत माग्नैपर्यो ।’
चार घण्टा २० मिनेट लामो उद्घाटन सभामा १९ वक्ताले सम्बोधन गरे । केन्द्रीय पदाधिकारी देखि सदस्यहरुसम्मका उम्मेद्वारहरु र तिनका समर्थक दिनभर प्रचारमै व्यस्त देखिए ।
प्रतिक्रिया 4