२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा तीन सय भन्दा बढी शिक्षक महाधिवेशन प्रतिनिधिको रुपमा सहभागी भएका छन् ।
कांग्रेस निकट शिक्षक संघका केन्द्रीय अध्यक्ष राजेन्द्र पौडेलले देशभरबाट तीन सय भन्दा बढी शिक्षक महाधिवेशन प्रतिनिधिमा चुनिएको बताए ।
संघले जिल्ला सभापति, उपसभापति, सचिव, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यलगायतका पदमा निर्वाचित संघका सदस्यका लागि आइतबार बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम राखेको थियो ।
सो कार्यक्रममा तीन सय जना जति सहभागी भएका अध्यक्ष पौडेलले बताए । उनले भने ‘तीन सयजति भेला भएका थियौं । कतिपय छुट्नुभएको छ । तीन सय भन्दा बढी नै होला । यकिन तथ्यांक भोलि थाहा हुन्छ ।’
सो भेलामा शैक्षिक विषयमा नै छलफल भएको पौडेलले दावी गरे । ‘शिक्षामा सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्न उम्मेदवारलाई सामूहिक दबाव दिन र त्यस्तो प्रतिवद्धता व्यक्त गर्ने उम्मेदवारलाई मत दिने निर्णय गर्ने भेला हो’ उनले भने ।
पाँचथर, बैतडी र कास्कीमा निर्वाचित जिल्ला सभापति शिक्षक तथा अन्य कार्यकारी पदमा विजयी शिक्षकहरुले शिक्षक पदबाट राजीनामा दिइसकेको पौडेलले बताए ।
‘कानून अनुसार कार्यकारी पदमा निर्वाचित हुनुभएका साथीहरुले राजीनामा दिइसक्नुभएको छ । शिक्षामा सुधार गर्नुपर्छ भनेर प्रतिनिधिको रुपमा मात्रै छनौट हुनुभएका साथीहरु भने शिक्षक पेशामा नै हुनुहुन्छ’ उनले भने ।
गत मंसिर ७ गते निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै राजनीतिक दलहरुलाई सार्वजनिक पदमा वहाल रहेका शिक्षक, कर्मचारी, प्राध्यापकहरुलाई दलको सदस्य नबनाउन निर्देशन दिएको थियो ।
प्रतिक्रिया 4