२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिहरुले पार्टी रुपान्तरण र नेतृत्व परिर्वतनको पक्षमा मत दिएको बताएका छन् ।
सभापतिको निर्वाचन दोस्रो चरणमा पुग्नु विद्यमान नेतृत्वको निरन्तरताको विपक्षमा मत प्रकट हुनु भएको भन्दै उनले भनेका छन्, ‘तपाईंहरुले पार्टी रुपान्तरणका लागि देखाउनुभएको यो अदम्य साहस र आँटको खुलेर प्रशंसा गर्दछु ।’
मंगलबार विहान सकिएको सभापतिको मतगणनामा शेरबहादुर देउवाले धेरै मत पाएपनि बहुमत जुटाउन सकेनन् । अब दोस्रो चरणमा देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । त्यसका लागि मतदान शुरु भएको छ ।
दोस्रो चरणको मतदानअघि डा. शेखरकोइरालाको पक्षमा भोट माग्दै सार्वजनिक अपील जारी गरेका थापाले अन्तरमनको आवाज सुनेर निर्णय लिन आह्वान गरेका छन् ।
महाधिवेशनपछि तीन चरणको चुनावमा होमिनुपर्ने र त्यो चुनाव पार्टी एक्लैले जित्ने बनाउन लाखौं मतदाता आकर्षित गर्नुपर्ने भन्दै उनले भनेका छन्, ‘संविधानको कार्यान्वयनको सफल नेतृत्व गर्न, राजनीतिमा देखिएका अनेकन बेथितीको अन्त्य गर्न र पार्टीलाई विधि र थितिमा बदल्न पनि नेतृत्वमा परिर्वतन अपरिहार्य छ ।’
उनले अघि भनेका छन्, ‘अहिलेकै कार्यशैली र नेतृत्वबाट यो भूमिका सम्भव होला त ? हामीले धेरै अलमल गर्ने समय छैन । तत्काल हामीले निर्णय लिनुपर्नेछ । आफ्नो अन्तर्मनको आवाज सुनेर निर्णय गर्ने बेला आएको छ ।’
यो महाधिवेशनमा कांग्रेस पुनर्जागरण र रुपान्तरणको यात्रा तय गर्ने भन्दै थापाले भनेका छन्, ‘आजको गलत निर्णयले हामीले आगामी चार वर्ष मात्र होइन, अझै लामो समय पछुताउने पर्नेछ । त्यसैले हामीलाई त्यो गल्ती गर्ने छुट किमार्थ छैन ।’
प्रतिक्रिया 4