२८ मंसिर, काठमाडौं । संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले सोमबार राति ११ः०६ मा ट्विट गरे, ‘विगत १–२ दिनमा देखिन थालेको कोभिडका विरामीको संख्या र स्थिति देख्दा हामी अर्को उभारको संघारमा उभिएका छौं जस्तो देखिन्छ ।’
कोभिड–१९ को पहिलो र दोस्रो लहरका बेला सरकारलाई निरन्तर खबरदारी गर्नुका साथै जनस्तरमा सचेतना फैलाउन भूमिका खेलेको डाक्टर हुन् सुवेदी । उनले मध्यरातमा ट्विट गरेर हामी अर्को उभारको संघारमा उभिएका छौं भन्दा धेरैले सतर्कतामा जोड दिए, कतिपयले चाहिँ डर नफैलाउन आग्रह गरे ।
महामारीका बेला निरन्तर उपचारमा खटिएका संक्रामक रोग विशेषज्ञ डा. सुवेदीको ट्विट डर देखाउन थिएन, समयमै सचेत गराउने प्रयास थियो । त्यसैले उनलाई सोध्यौं, अर्को उभार आउने आधार के ?
विगत १-२ दिनमा देखिन थालेका कोभिडका बिरामीको संख्या र स्थिति देख्दा हामी अर्को उभारको सँघारमा उभिएका छौं जस्तो देखिन्छ। 🧵
— Anup (@AnupSubedee) December 13, 2021
अस्पतालमा भर्ना हुने संक्रमित बढ्नु, दुवै डोज खोप लगाएका व्यक्तिहरु संक्रमित हुनु, उनीहरुमा अक्सिजनको कमी देखा पर्नु जस्ता कारणले महामारीको अर्को उभार आउन सक्ने सम्भावना देखेको उनले सुनाए ।
‘अलि अस्ति बिरामी अस्पताल आउने क्रम फ्ल्याट लाइन (निरन्तर उस्तै गतिमा) थियो । अहिले हरेक दिन बिरामीको संख्या बढिरहेको छ,’ डा. सुवेदी भन्छन्, ‘सरकारको रिपोर्टमा अस्पताल आउने बिरामीको संख्या नबढे पनि अस्पतालहरुमा बढ्न थालेको छ ।’ ह्याम्स अस्पतालमा कार्यरत उनका अनुसार हरेक दिन तीन/चार जना कोरोनाका नयाँ बिरामी अस्पताल आउन थालेका छन् ।
उनका अनुसार अघिल्ला दुई वटा लहरमा पनि केही समय बिरामीको संख्या बढेको देखिएको थिएन । एक्कासी बिरामी ह्वातै बढ्यो । ‘अब पनि फेरि संक्रमितको संख्या ह्वात्तै बढ्न सक्छ,’ उनले भने ।
पछिल्लो समय बिहेबारी, भोजभतेर, राजनीतिक दलको सभा सम्मेलन अनियन्त्रित ढंगले भइरहेका छन् । आम सार्वसाधारणले पनि सावधानी अपनाउन छाडेका छन् । ‘डेल्टा आफैं संक्रामक भाइरस भएकाले यस्ता क्रियाकलापले जोखिम बढाउँछ,’ डा. सुवेदीले भने, ‘यही बेला ओमिक्रोन भेरियन्ट नेपालमा पनि भेटिएको छ ।’
उनका अनुसार पहिला भेरोसेल खोप लगाएका मानिसहरु मात्रै बढी संक्रमित हुने गरेको भएपनि अहिले दुवै डोज कोभिशिल्ड लगाएकाहरुमा पनि संक्रमण देखिएको छ । कतिपयमा अक्सिजन कम हुने समस्या देखिएको छ । डा. सुवेदी खोपको पूर्ण मात्रा लगाएका व्यक्तिमा पनि संक्रमण देखा पर्नुका पछाडि दुई कारण हुन सक्ने तर्क गर्छन् ।
पहिलो – खोप लगाएका वा संक्रमण भइसकेका व्यक्तिमा केही महिनापछि प्रतिरोधात्मक शक्ति (इम्युनिटी) क्षीण हुँदै जाने रहेछ । भाइरस म्यूटेसन (रुप फेरेर झन् बलिया) भएर होइन कि ७/८ महिनापछि इम्यूनिटी नै अलि कमजोर भएर जाने रहेछ । यसले त कोरोनाको नयाँ उभार ल्याउने संकेत गर्छ ।
दोस्रो – कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फेला परिसकेको अवस्था छ । पहिला संक्रमण भएका व्यक्तिलाई डेल्टाले भन्दा ओमिक्रोन भेरियन्टले संक्रमण गराउने सम्भावना तीन चार गुणा बढी हुने देखाएको छ ।
डा. सुवेदीका अनुसार ओमिक्रोन फैलिएका मुलुकमा हरेक दुई दिनमा संक्रमित संख्या दोब्बर बढेको देखिन्छ । डेनमार्कमा संक्रमणको अवस्था हेर्दा १.६ दिनमा संक्रमित संख्या दोब्बर हुँदै गएको देखिएको छ । अल्फा र डेल्टाभन्दा ओमिक्रोनको उभार चाँडो आउने अध्ययनहरुले देखाएको छ । यद्यपि नेपालमा पछिल्लो समय देखिएको संक्रमण डेल्टा कै कारण हो कि ओमिक्रोन भेरियन्टको कारण हो भन्न गाह्रो रहेको डा. सुवेदी बताउँछन् ।
खोप लगाएर वा संक्रमित भएर डेल्टाविरुद्ध विकास भएको रोगप्रतिरोधी क्षमता विस्तारै क्षण बन्दै गएकाले पनि अर्को उभारको खतरा बढ्ने उनले बताए । डा. सुवेदीले अघि भने, ‘कोभिड–१९ विरुद्धको खोप लगाएको ७/८ महिना भइसकेको छ । खोप लगाएकै व्यक्ति संक्रमित हुने क्रम बढेको छ । डेल्टा भेरियन्टकै कारण हो कि ओमिक्रोन भेरियन्टको कारण संक्रमण भइरहेको छ, भन्न गाह्रो छ । कुन भेरियन्टले संक्रमण गरिरहेको छ भनेर थाहा पाउन जिन सिक्वेन्सिङको नतिजा आएपछि मात्रै भन्न सकिन्छ ।’
कसरी बच्ने ?
ओमिक्रोन भेरियन्टको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अन्य भेरियन्टमा जस्तै जनस्वास्थ्यका मापदण्ड पालना गर्नु जरुरी रहेकाृ उनी बताउँछन् ।
सामाजिक दुरी कायम गर्ने, भीडभाड नगर्ने, गुणस्तरीय मास्क प्रभावकारी ढंगले प्रयोग गर्ने, सेनिटाइजर प्रयोग गर्ने, साबुन पानीले हातधुने लगायतका जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्दछ ।
स्वास्थ्यकर्मीलाई बुस्टर डोज दिन ढिलो भइसक्यो
संक्रामक रोग विशेषज्ञ डा. सुवेदी स्वास्थ्यकर्मीलाई बुस्टर डोज दिन ढिलो भइसकेको बताउँछन् । स्वास्थ्यकर्मीहरुलाई बुस्टर डोज दिन ढिलाइ गरिए अस्पतालको उपचार प्रणालीमा नै असर पुग्न सक्ने उनको भनाइ छ ।
बुस्टर डोज नदिँदा स्वास्थ्यकर्मीहरु संक्रमित भएर अस्पतालमा उपचार गर्ने स्वास्थ्यकर्मीहरुको अभाव आउन सक्छ । अघिल्लो लहरमा एउटै अस्पतालमा २५/३० जना स्वास्थ्यकर्मी संक्रमित भएका थिए ।
ओमिक्रोन बढी संक्रामक भएकाले योभन्दा बढीलाई संक्रमित बनाउन सम्भावना बढी हुन सक्छ । जसले गर्दा अस्पतालमा उपचार गराउने स्वास्थ्यकर्मीहरुको अभावमा अस्पतालहरु नै बन्द गर्नु पर्ने जोखिम हुनसक्छ’ डा. सुवेदीले भने ।
साथै एक डोज पनि खोप नपाएकाहरुलाई तत्काल खोप दिनुपर्ने डा. सुवेदीको सुझाव छ ।
प्रतिक्रिया 4