२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले विगतमा पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर सभापतिमा उम्मेदवारी दिएका नेताहरुले पुरानै नेतृत्वलाई समर्थन गर्नुको कारण पार्टी कार्यकर्तालाई बताउनुपर्ने बताएका छन् ।
मंगलबार मतदानस्थल राष्ट्रिय सभागृहबाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले अघिल्लो दिनसम्म नेतृत्व परिवर्तन गर्नुपर्छ भन्नेहरु भोलिपल्ट नेतृत्व परिवर्तन रोक्न लागेको टिप्पणी गरे ।
‘हिजो नेतृत्व परिवर्तन गर्न सबै कुरा गर्छु भन्नेहरु आज चाहिँ नेतृत्व परिवर्तन रोक्न सबैथोक गर्नुभयो, यो विषयमा पार्टीका कार्यकर्तालाई उहाँहरुले जवाफ दिनुपर्छ’ उनले भने ।
सभापतिमा उम्मेदवारी दिएका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेकोप्रति टिप्पणी गर्दै थापाले नेतृत्व परिवर्तनमा किन साथ नदिएको भन्ने प्रश्नले उनीहरुलाई लखेट्ने बताए ।
नेता थापाले सभापतिका तीन उम्मेदवारले साथ दिँदा पनि देउवामा चुनाव जित्छु भन्ने आत्मविश्वास नदेखिएको टिप्पणी गरे । ‘तीन जनाले समर्थन गरेपछि उहाँ एक हजार मतले अगाडि हुनुहुन्थ्यो, तैपनि उहाँमा आत्मविश्वास देखिएन, दिनभरि उभिएर मतदातालाई नमस्कार गर्नुभयो’ उनले भने ।
प्रतिक्रिया 4