+
+

शोधनान्तर घाटा झनै बढ्यो, गहिरिँदै अर्थतन्त्रको संकट

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १७:००

२९ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीले वैधानिक प्रणालीबाट पठाउने रेमिट्यान्समा आएको कमी, चुलिएको आयात तथा पर्यटक आगमनमा सुधार हुन नसकेसँगै मुलुकको शोधनान्तर स्थिति ऋणात्मक भएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को चार महिना (साउन-कात्तिक)को तथ्यांकअनुसार शोधनान्तर स्थिति १५० अर्ब ३८ करोड रुपैयाँले घाटामा रहेको छ ।

शोधनान्तर स्थिति ऋणात्मक हुनु भनेको मुलुकले वैदेशिक आम्दानीभन्दा बढी खर्च गरेको अवस्था हो । राष्ट्र बैंकका अनुसार वस्तु तथा सेवाको आयात बढ्ने, रेमिट्यान्स र वैदेशिक अनुदान घटेका कारण चाप बाहृय क्षेत्रमा परेको हो ।

तथ्यांक अनुसार गत आवको यसै अवधिको तुलना गर्दा बाहृय क्षेत्रको संकट निकै गहिरिएको देखिन्छ । किनकी गत आवको यो अवधिमा शोधनान्तर स्थिति ११० अर्ब ६५ करोड रुपैयाँ बचतमा रहेको थियो । यस अवधिमा चालु खाता २२३ अर्ब १९ करोड रुपैयाँ घाटामा रहेको देखिएको छ ।

देशभित्र आउने कुल विदेशी मुद्रा  र बाहिरिने मुद्राबीचको अन्तर नै चालु खाता हो । विदेशी मुद्रा धेरै भित्रने र कम बाहिरिने भयो भने बचतमा रहन्छ । यस विपरीत कम भित्रने र धेरै बाहिरिए घाटामा जान्छ ।

निश्चित समयावधिभित्र आवासीय र गैर-आवासीय व्यक्ति र संस्थाबीच भएका चालु प्रकृतिका आर्थिक कारोबारहरूको सारांश चालु खाता सन्तुलन हो । निर्यात, प्रत्यक्ष वैदेशिक लगानी, रेमिट्यान्स आदीका रुपमा विदेशी मुद्रा  भित्रिरहेको हुन्छ । त्यस्तै, पेट्रोलियम पदार्थ, यातायातका साधन, औद्योगिक सामग्री आदीको आयातमा विदेशी मुद्रा बाहिरिरहेको हुन्छ ।

तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको यस अवधिमा चालु खाता १९ अर्ब १ करोड बचतमा थियो । यस अवधिमा प्रत्यक्ष वैदेशिक लगानी भने ७७ प्रतिशतले बढेर ६ अर्ब ६३ पुगेको छ । अघिल्लो वर्ष यस्तो लगानी ३ अर्ब ७५ करोड रुपैयाँ मात्र थियो ।

विदेशी विनिमय सञ्चिती पनि घट्दै

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार  विदेशी विनिमय सञ्चितीमा समेत कमी आएको छ । अहिले नेपालसँग १२४४ अर्ब ८५ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिती छ । यो असार मसान्तयता ११ प्रतिशत कम हो । यो सञ्चितीले नेपालको ७.९ महिनाको वस्तु आयात र ७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?